
कालीगण्डकीको किनारमा पाइने ढुंगा । औसतका ढुंगाभन्दा वजन बढी अर्थात् गह्रौँ । भित्रि भागमा सुनलगायतको धातु रहेको र भगवान् विष्णुको हतियार सुदर्शन चक्रको आकार बनेको ढुंगा शालिग्राम हो । चार रंगमा पाइने शालिग्राम कालोको महत्व छ । जसलाई हिन्दू धर्मावलम्बीहरूले पुज्छन् ।
शालिग्राम भगवान्को अवतार हो भन्ने जनविश्वास छ । शालिग्रामले कालीगण्डकी नदीको छोरा बन्न पाउँ भनेर आशीर्वाद पाएको किंवदन्ती छ । त्यस्तै श्रीस्वस्थानी व्रतकथामा पतिव्रता बृन्दाले श्राप दिएकाले भगवान् विष्णु कालन्तरमा शालिग्राम बन्नुपरेको उल्लेख छ । त्यसैले शालिग्राम भगवान्को अवतार हो भन्ने हिन्दू धर्ममा आस्था राख्नेहरूको विश्वास रहेको पाइन्छ ।
चारवटै वेदमा शालिग्राम भगवान्को अंश भएको उल्लेख हुनुले करोडौँ वर्षदेखि नै शालिग्रामको उत्पत्ति, महत्व र प्रचार भएकोसमेत देखिन्छ । दामोदरकुण्डबाट उत्पत्ति भएकी गण्डकी र मुक्तिनाथबाट निस्किएकी कालीको संगम कागबेनीदेखि तल्लो तटीय क्षेत्रमा पाइने भएकाले शालिग्राममा अदृश्य शक्ति रहेको स्पष्ट हुने धार्मिक अगुवाहरूको कथन छ ।
करोडौँ हिन्दू रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्रीकै हैसियतमा मुक्तिनाथ दर्शन गरेका थिए । उनले शालिग्रामलाई जिउँदो भगवान्का रूपमा पुजिने धारणा राखेका थिए । भारतमा जस्तै अहिले संसारभर शालिग्रामको महत्व बढिरहेको छ । २०१८ सालमा भारतका तत्कालीन प्रधानमन्त्रीका दाबेदार प्रभुदत्त ब्रम्हाचार्यले मुक्तिनाथको भ्रमण गरेर लामो समय बिताएको इतिहास छ ।
उनले शालिग्राम र मुक्तिक्षेत्र रहेको नेपाल संसारकै धार्मिक गन्तव्यमध्येको अगुवा भएको उल्लेख गरेको जानकारहरू बताउँछन् । शालिग्रामप्रति हिन्दू मात्र नभई संसारका बौद्ध धर्मावलम्बीले पनि पूजा गर्छन् ।
मुक्तिनाथमा अहिले पनि भोटे जातिका माइली छोरी पूजारी बस्ने चलन छ । मुक्तिनाथ विष्णुका अवतार हुन् । शालिग्राममा विष्णुको अंश हुन्छ । तिनै शालिग्राम र मुक्तिनाथको पूजारी भएर बस्ने भोटे जातिहरू बौद्धमार्गी पनि हुन् । ‘उनीहरूले निरन्तर मुक्तिनाथ र शालिग्रामको पूजा गरेको इतिहासबाट बौद्धमार्गीको पनि आरध्यदेव र आस्थाको केन्द्र शालिग्राम भएको पुष्टि हुन्छ,’ नेपाली भाषा र संस्कृतिका शोधार्थी मुक्तिनाथ घिमिरेले भने– ‘मुस्ताङका भोटे जातिले मुक्तिनाथ र शालिग्रामका लागि आफ्नी छोरीसमेत अर्पेकाले उनीहरूको भावनात्मक र ऐतिहासिक सम्बन्ध छ ।’ क्रिस्चियन र मुस्लिम समुदाय भने शालिग्रामबारे मौन देखिएको उनले बताए ।
…….
शालिग्राम संग्रहालय
बागलुङ नगरपालिका–४ कुडुलेफेदीका श्रीधराचार्यले २०२१ सालमा भारतको अयोध्यामा संस्कृत पढ्न जाँदा कालीगण्डकी नदी, मुक्तिनाथ र शालिग्रामको महत्व तथा महिमा बुझ्न पाए ।
फर्केपछि शालिग्राम संरक्षणका लागि पहल थाले । २०४२ सालमा गलेश्वरमा विद्याश्रम र अन्नदान क्षेत्र स्थापना गरे । नेपाली, हिन्दी, अंग्रेजी र संस्कृतमा मुक्तिक्षेत्र महात्म्य पुस्तक लेखे । जहाँ शालिग्रामको महत्व उल्लेख छ । शालङकायन ऋषिले सालको रूखमुनि बसेर तपस्या गर्दा विष्णु भगवान्को दर्शन पाएको वेदमा उल्लेख छ । सोहीअनुसार खोजी गर्दा दामोदरकुण्डतर्फ म्याग्दीको रत्नेचौर र बागलुङको कुडुलेमा मात्रै सालको रूख भेटिएपछि यही क्षेत्रमा शालिग्राम संग्रहालय बनाउन उपयुक्त हुन्छ भन्ने उनले योजना बनाए । उनको २०५६ सालमा निधन भयो ।
उत्तराधिकारीका रूपमा ऋषि प्रपन्नाचार्यले १४ वर्षदेखि शालिग्राम संकलन र संग्रहालयको कामै थाले । कहिले पैदल डुले, कहिले सवारीसाधनमा घुमे । कालीगण्डकी फेरो परिक्रमा गरे । सपनामा देखेका दुई शालिग्राम प्रत्यक्ष भेटेर ल्याएपछि थालिएको संकलन अभियान अझै जारी छ । श्रीधराचार्यले १ हजार शालिग्राम संकलनको लक्ष्य राखेका थिए । अहिले एक लाख बढी जम्मा भइसकेका छन् । आफ्नै परिकल्पना र मिहिनेतबाट कुडुलेमा नेपालकै एक मात्र शालिग्राम संग्रहालय बनेको छ । यहाँ अनुमानित सवा लाख शालिग्राम संग्रह गरिएको छ ।
पृथ्वी र नदी उत्पत्ति भएपछि नै शालिग्राम निर्माण भए पनि मानव सभ्यतापछि यसको महत्व बढेको उनी बताउँछन् । ‘शालिग्राम नदीको निरन्तर कटानपछि बन्ने शालिग्राम ढुंगा मात्र होइन,’ उनी भन्छन्– ‘धातुको चक्रसहित विभिन्न रंगका हुन्छन् ।’
गृहस्थ पूजाका लागि मुठीमा अट्ने कालो रंगको शालिग्राम उपयुक्त हुन्छ । डरलाग्दो चित्र भएका र ठूलो आकारका शालिग्राम भने मठमन्दिर र संग्रहालयमा मात्र राखिन्छ । संग्रहालय बन्नुअघि यहाँको मुक्तिनाथ वेद विद्याश्रममा ५ क्विन्टलको शालिग्राम संगृहित थियो ।
विश्वमै कालीगण्डकी नदीमा मात्र शालिग्राम पाइने दाबी छ । कालो, सेतो, निलो र पहँेलो रंगको भए पनि कालो शालिग्राम विश्वभरका मानिसले पूजा गर्छन् । हिन्दू संस्कृतिमा पाञ्चायन पूजादेखि हरेक क्षेत्रमा शालिग्रामको प्रयोग हुन्छ ।
…..
पर्यटनका लागि शालिग्राम
भारतको गुवाहटीबाट नेपाल घुम्न आएका विकास शर्माले कालीका मन्दिरको दर्शन गरेपछि शालिग्राम संग्रहालय घुमे । उनले केही समयअघि संग्रहालय बनेको सुनेका थिए । ‘एउटा शालिग्राम राखेर पूजा गर्दा महत्व रहने हिन्दू संस्कारमा लाखभन्दा बढीको दर्शन गर्न पाइयो,’ उनले भने– ‘यो सबै हिन्दूहरू पुग्नुपर्ने गन्तव्य रहेछ ।’
लकडाउनअघि उनीजस्ता सयौँ मानिस भारत र नेपालको पूर्वदेखि पश्चिमसम्म पर्यटक बनेर संग्रहालय आउने क्रम थियो । वैशाखमा रोकिएको धार्मिक सभाले २ सय धर्मगुरुमार्फत भारतसहित संसारभर प्रचार गराउने लक्ष्य थियो । कोरोना संकटले ती योजना स्थगित छन् ।
गण्डकीको किनारमा जन्मेका लाखौँ मानिसले शालिग्राम नदेखेको, देखेर पनि महत्व नबुझेर मरेकाले संग्रहालयमार्फत जनचेतना फैलाउन खोजिएको उनी बताउँछन् । शालिग्राम दुई प्रकारका हुन्छन् । चिल्ला र खस्रा । पानीमा भएका चिल्ला र जमिनमा भेटिने खस्रा हुन्छन् । बन्न करोड वर्ष लाग्छ । शालिग्रामको चोरीतस्करी, बेचबिखन बढिरहेको छ ।
फोडेर धातु मात्र जम्मा पारेर औँठी, मालाजस्ता वस्तु बनाएर लाखौँमा बेच्छन् । सिंगो शालिग्रामकै रूपमा पूजा गर्न खरिद गर्ने पनि छन् । भारतका अधिकांश स्थानमा महँगो शुःल्क तिरेर शालिग्राम किनबेच हुन्छ ।
राणाकालमा वर्षात्का चार महिना कालीगण्डकी नदीमा शालिग्राम खोज्न रोक लगाएको इतिहास छ । मुक्तिनाथमा शिलापत्रमा उक्त सूचना भेटिएको प्रपन्नाचार्यले बताए । चतुर्मासमा हेरालो राखेर चोरी, उत्खनन हुन नदिने गरेको इतिहासले अहिले पनि वर्षात्मा शालिग्राम संरक्षणका लागि ढुंगा गिटी बालुवा उत्खननमा रोक लगाउने कानुन बनेको देखिन्छ ।
शालिग्राम संरक्षणका लागि कालीगण्डकी नदीमा क्रसर उद्योग सञ्चालनमा रोक, फोहोर नफाल्ने र बाँध बाँध्ने काम रोक लगाउनुपर्छ भन्छन् प्रपन्नाचार्य । सिन्धुलीका एक सन्तले दुई महिना लगाएर कालीगण्डकी यात्रा गरेका थिए । राज्यले ‘कालीगण्डकी यात्रा’को रुट बनाएर आग्रह ग¥यो भने तीर्थाटनबाटै करोडौँ कमाइ हुन्छ भन्ने निष्कर्ष उनले निकालेका छन् ।
……
शालिग्राम संरक्षण
कालीगण्डकीको ढुंगा, गिटी र बालुवा दोहन रोकेर मात्र नदी संरक्षण भने हुँदैन । यहाँ मिसिने सबै खोला पनि संरक्षण हुनुपर्छ । सिंगो जलाधारक्षेत्रको संरक्षण नभएसम्म नदी संरक्षण हँुदैन । मुस्ताङको कागबेनीमा ढल मिसाएकाले प्रदूषित भएको आवाज उठाउँदा उनलाई धम्की दिइयो । ‘पवित्रस्थल भनेर हजारौँ हिन्दूहरू श्राद्ध गर्न आउने स्थानमा बजारको ढल मिसाइएको छ,’ उनले भने– ‘संरक्षणको आवाज उठाउँदा मार्नेसम्मको धम्की पाएँ ।’
यो समस्या जोमसोम, बेनी र बागलुङ बजारमा पनि छ । सदरमुकाममा उत्पादित अधिकांश फोहोर कालीगण्डकीमा मिसाइएको छ । नदी किनारका कुश्मासहित धेरै बजारक्षेत्रको फोहोर नदीमै मिसावट हुन्छ । कुनै न कुनै रूपमा नदीमै मिसिएको फोहोर ढलले नदीजन्य जीवहरू मर्ने क्रम बढेको छ ।
‘कालीगण्डकी ए जलविद्युत् आयोजनाको ड्याममा सयौँ माछा मरेको भेटिन्छ,’ परियोजनामा कार्यरत एक सुरक्षाकर्मी भन्छन्– ‘सफाइ गर्दा काठ–दाउरा मात्र नभई मरेका माछा, अन्य जीवसमेत भेटेर बिसर्जन गरिन्छ ।’ नदीमा ढल मिसाउनुअघि पोखरी बनाएर जलकुम्भी लगाएमा पानी शुद्ध हुने तथ्य उनले पत्ता लगाएका छन् ।
कालीगण्डकी सभ्यता नदीको पानीमा मात्र सीमित छैन । नदी नुहाएर पवित्र बन्ने हिन्दू परम्पराअनुसार संक्रान्ति, आंँसी, पूर्णिमा र अन्य विशेष पर्वमा यहाँ भिड लाग्छ । नदीकिनारमा दर्जनौँ घाट छन् । शव जलाएपछि सबै फोहोर नदीमा बगाउने चलन छ । त्यसले नदी प्रदूषित भइरहेको छ ।
नदी संरक्षणले जलचर पनि सुरक्षित हुन्छन् । प्रदूषणले सबै जलचर मर्ने भएकाले सुरक्षित बनाउनेतर्फ सबैको चासो बढ्नुपर्ने अनुसन्धानका शोधार्थी प्रकाश थापाको सुझाब छ । ‘वातावरण संरक्षण गर्न सकिएन भने पछि पछुताउनुबाहेक केही गर्न सकिँदैन,’ थापाले भने, ‘कालीगण्डकी नदी बेसिनलाई मात्र संरक्षण गर्दा गण्डकी प्रदेश समृद्ध बन्न सक्छ ।’ उनले यहाँका धार्मिक क्षेत्र, सांस्कृतिक परम्परा र शालिग्रामको दर्शनका लागि मात्र हजारौँ विदेशी पर्यटक भित्र्याएर आम्दानी गर्ने अवस्था रहेको बताए । नदीकिनारका बस्ती, खेतपाखो र वनसमेत संरक्षण गर्नुपर्ने उनको सुझाब छ ।
नदी प्रदूषण र दोहनसँगै कला र संस्कृतिमा पश्चिममा प्रभाव रोक्न संरक्षणको महाअभियान थालिएको छ । यो अभियानमा नदीआसपासका सबै जातजाति, धर्म र संस्कृतिको संरक्षणमा जोड दिइएको छ । राज्य तहको अगुवाइ नभएसम्म जनस्तरबाट गरिने कामले मात्र पूर्णता पाउँदैन ।
‘सरकारलाई अधिकारसम्पन्न कालीगण्डकी सभ्यता संरक्षण प्राधिकरण गठन गर्न माग गरेका छौँ,’ अभियन्ता खिमानन्द कँडेल भन्छन्– ‘राज्यले अपनत्व लिएन भने दशकपछि नदी सभ्यता लोप हुनेछ ।’ कालीगण्डकी नदी धार्मिक पर्यटनका लागि नेपालकै उत्कृष्ट गन्तव्य भएको उनले बताए ।
‘त्रिवेणीधामदेखि दामोदरकुण्डसम्म रहेका सयौँ धार्मिक मठमन्दिर, ढुंगा, माटो र आकृतिले समेत पर्यटक लोभ्याउँछन्,’ जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले भने– ‘स्थानीय तहले पहल गरे पनि सानो बजेट र एकल अभ्यासले अभियान सफल बन्दैन ।’
मुहानदेखि संरक्षणको अभियान सुरु गरियो भने मात्र सभ्यता बच्ने उनले बताए । कालीगण्डकी नदीको बालुवा बेचेरभन्दा संरक्षण गरेर पर्यटक भित्र्याउँदा दश गुणा आम्दानी हुने उनको तर्क छ ।







