शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ब्रान्ड अफ गण्डकी : लाहुरेको रेलिमै….

ब्रान्ड अफ गण्डकी : लाहुरेको रेलिमै….

यता लाहुरे संस्कृतिले लोकगीत र लोकसंगीतको उत्थान गर्ने काम पनि गरेको छ । लोकगीत लाहुरे संस्कृतिबाट बिछट्टै प्रभावित छ ।


  • दिवस गुरुङ
  • भाद्र १३ २०७७, शनिबार

बाँचे भने अर्को साल फिरनी,
मरेँ भने राइफलको सिरानी ।
नारायण रायमाझी र शर्मिला गुरुङको स्वरमा रहेको ‘राम्दी पुल तर्नेबित्तिकै’ बोलको लोकगीतको अंश हो, यो । यस गीतले लाहुर जानेहरूको यथार्थ पीडा र दुःखलाई त उतारेको छ नै । सँगै चित्रण गरेको छ, नेपालको लाहुरे संस्कृति । ठुल्ठूला सपना बोकेर लाहुर पसेकाहरू सबै जीवित फर्कन्थेनन्, कतिले उतै अकालमै ज्यान गुमाउँथे । हुलाकी गाउँ पसेपछि कसै न कसैको घरमा रुवाबासी चल्थ्यो । उस्तै छ, अहिले पनि कथा अनि व्यथा । फरक छ त केवल खबर पु¥याउने माध्यम । पहिला रातो धागोले बाँधेको चिठी घरमा आउँथ्यो भने अहिले लाससहितको बाकस ।
इतिहासमा फर्केर हेर्दा लाहोर (हाल पाकिस्तान) मा नेपाली युवालाई भर्ती लिने भएकाले लाहुर वा लाहुरे शब्दको उत्पति भएको मानिन्छ । नालापानी किल्लाका कमान्डर थिए, वीर बलभद्र कँुवर । अंग्रेजहरूले पानीको पाइप बन्द गराइदिएपश्चात् वि.सं. १८७१ मंसिर १६ गते राति नै आफ्ना फौजसहित किल्ला छाडेर कुँवर हिँडेको इतिहासकारहरू बताउँछन् । नेपाल र अंग्रेजबीच लडाइँ जारी भइरहेकै बेला सन् १८१५ तिर अंग्रेजले ‘गोर्खा भर्ती केन्द्र’ खोल्यो । त्यसको एक वर्षपश्चात् सन् १८१६ मा नेपालले अंग्रेजसँग सुगौली सन्धि गर्न बाध्य भयो । कुँवर काठमाडौं फर्किए र केही समयपछि पन्जाबका रणजीत सिंहको फौजमा भर्ती भए । यसपश्चात् नै नेपालमा लाहुर जाने चलन सुरुवात भएको बुझिन्छ ।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का पूर्वअध्यक्ष पदमबहादुर गुरुङका अनुसार सन् १८१४–१६ मा ब्रिटिससँग भएको युद्धका क्रममा बन्दी बनाइएका तीन हजार नेपाली सैनिकलाई समेटेर सुरुमा सिरमुर बटालियन खडा गरिएको थियो । उनीहरूलाई लडाइँमै प्रयोग गरियो । त्यसपछि नासिर बटालियन र मलाउ रेजिमेन्ट खडा भयो । त्यसयता बेलायती सेनामा मात्रै करिब पाँच लाख नेपाली भर्ती भए । नेपालीले बेलायत र भारतीय सेनामा रहँदा २ दर्जनभन्दा बढी लडाइँमा सहभागिता जनाए ।
सन् १८८९ मा इजिप्ट, सन् १८९० मा रसिया र मध्य एसियामा दुईवटा विश्वयुद्ध, कोसोभो, सियरालियोन, ग्रिस, इटली, जापान, जर्मनी, ककेससमा बेलायले गोरखाली सेनाको भरपूर उपयोग ग¥यो । पहिलो र दोस्रो विश्वयुद्धमा लाखौँ नेपालीले ज्यान गुमाए । युद्धमा बहादुरी देखाएबापत १२ जनाले भिक्टोरिया क्रस पाए । मलेसियाको गुरिल्ला वार, सिंगापुर, इन्डोनेसिया र मलेसियाको सीमा विवाद, ब्रुनाई विद्रोह र अर्जेन्टिनाको फकल्यान्डमा पनि गोरखाली नै उतारियो । बेलायती राजकुमार ह्यारीले इराकमा रहेका गोरखाली रेजिमेन्टसँगै समय बिताए । यता, भारतीय सेनामा रहेका नेपालीले पनि थुप्रै युद्धमा सहभागिता जनाएका छन् ।
सन् १९४८ मा हैदरावाद अपरेसन, सन् १९६२ मा चीनसँग १९७५ मा पाकिस्तानसँग र बंगलादेश स्वतन्त्रताका वेला सन् १९७१ मा गोरखाली सेना नै मैदानमा उतारियो । सन् १९९९ को कारगिल युद्धदेखि श्रीलंकामा भएको लिट्टे अपरेसन तथा पछिल्लो समय भारत–पाकिस्तान सीमा क्षेत्रमा पनि गोरखाली सेना रहँदै आएका छन् ।
सन् १९४७ मा भारत स्वतन्त्र हुँदा ब्रिटिस गोरखा सैनिकका दशवटा रेजिमेन्ट थिए । तीमध्ये बेलायतले भारत छाड्दा चारवटा लिएर गएको थियो भने बाँकी भारतलाई नै जिम्मा लगाएको थियो ।
गोरखा भर्तीबारे नेपाल, भारत र बेलायतबीच सन् १९४७ नोभेम्बर ९ मा सम्झौता भएको थियो । सम्झौतामा बेलायतका तर्फबाट एसिबी साइमन, भारतका तर्फबाट लेफ्टिनेन्ट कर्णेल कनवार दयासिंह बेदी र नेपालका तर्फबाट प्रधानमन्त्री पद्मशमशेर राणाले हस्ताक्षर गरेका थिए । राजा एडवार्ड सातौँको निजी गोर्खा राइफल (सिर्मुर राइफल) छैटौँ, सातौँ र १०औँ गोर्खा राइफल्स बेलायतले लग्यो भने बाँकी राजा जर्ज पाँचौँको निजी गोर्खा राइफल (मलाउँ रेजिमेन्ट) रानी अलेक्जेन्ड्याको निजी गोर्खा राइफल, राजकुमार वेल्सको निजी गोर्खा राइफल, शाही गोर्खा राइफल (फ्रन्टियर फोर्स), ८औँ गोर्खा राइफल र ९औँ गोर्खा राइफल भारतमै रहे । अहिले भारतीय फौजमा ४० हजार नेपाली सेना रहेको अनुमान गरिन्छ । करिब ८० हजार पेन्सनरले अहिले पनि भारतीय सेनाबाट पेन्सन खाइरहेका छन् । बेलायती सेनामा करिब ३ हजार नेपाली कार्यरत छन् । मनोज घर्तीमगरको भर्तीको फन्दा नामक पुस्तकमा उल्लेख भएअनुसार सन् १९१४ – १९१८) देखिको पहिलो र सन् १९३९ – १९४५) दोस्रो विश्वयुद्ध लडेकाहरूमध्ये धेरै बाँकी छैनन् ।
समयसँगै कुँवर, खत्री, पन्त, थापा, खवास, ठाकुरजस्ता क्षेत्रीहरू लाहोरमा भर्ती हुन थाले । बिस्तारै लाहोर गएर सैनिकमा भर्ती हुनेलाई ‘लाहुरे’ भन्न थालियो । पछि गएर साहसी र बहादुरी मानिने जातिहरू जस्तै गुरुङ, मगर, राई भर्ती हुने क्रेज ह्वात्तै बढ्दै गयो । समय बित्दै जाँदा ब्रिटिस, सिंगापुर, हङकङ, अस्टे«लिया र नेपाली सैनिकमा भर्ती भएकाहरूलाई पनि लाहुरेको उपनाम दिइन थालियो । अहिले आएर त तेस्रो मुलुकहरूमा रोजगारको सिलसिलामा पुगेकाहरूलाई लाहुरेको ट्याग भिराइदिन्छन् । छाती नपाएर लाहुरे हुने संस्कृतिदेखि पासपोर्ट बोकेर खाडीतिर दुगुर्ने प्रवृत्तिसम्मको द्रष्टा हो, नेपाल र सिंगो गण्डकी ।
तर, फरक छ विगत र वर्तमानको लाहुरे संस्कृति । पहिलापहिला गल्लावालहरू तन्नेरी युवाहरूको छाती नाप्न गाउँगाउँ आइपुग्थे । हट्टाकट्टा र खाइलाग्दा तन्नेरीहरू छान्थे र टोली बनाएर सुनौली नाका हुँदै लान्थे । नौतुनाको रेल चढेर पल्टनसम्म पुग्नुपर्ने त्यतिबेलाको बाध्यतालाई लोकगीतमार्फत पनि प्रस्तुत गरिएको पाइन्छ । तर, भिन्न छ अहिलेको अवस्था । अहिले त सहरबजारमा च्याउसरि उम्रेका छन् ब्रिटिस अनि सिंगापुर युथ ट्रेनिङ सेन्टरहरू । हरेक वर्ष कैयौँ युवा लाहुरे बन्ने अभिलाषासहित सहर पस्छन्, कडा मिहिनेत र परिश्रमका साथ ट्रेनिङमा आबद्ध हुन्छन् । कति सपना साकार पार्न सफल हुन्छन् त कति असफल ।
लाहुरे दाइको रेलिमै फेसनै राम्रो,
रातो रुमाल रेलिमै खुकुरी भिरेको ।
लाहुरे परम्परा सुरुवात भएसँगै बदलिएको थियो, उनीहरूको जनजीवन र लवाइखवाइ, बोलीचाली अनि रहनसहन । भूतपूर्व सेनासमेत रहेका मास्टर मित्रसेनको माथिको गीतको अंशले यसको यथार्थ चित्रण गर्दछ । भारतीय सेनाको छुट्टीमा आउने लाहुरेहरू काँधमा बडेमानको टेपरेकर्डर र फिलिप रेडियो, हातमा घडी अनि झोलामा विदेशी अत्तर अनि मसलाहरू ल्याउँथे । यता ब्रिटिस अनि मलाया लाहुरेहरू पनि फरक गेटअपमा स्वदेश फर्कन्थे । अनि उनीहरूसँगै भित्रिन्थ्यो धेरै पश्चिमी संस्कृतिहरू । उदाहरणकै लागि भनौँ नेपालमा चिया पिउने संस्कृति लाहुरेसँगै नेपाल भित्रिएको मानिन्छ ।
गण्डकी प्रदेश, गुरुङ जातिको बाहुल्यता भएको क्षेत्र । त्यसैले समग्रमै लाहुरे संस्कृतिको उर्वर भूमि मानिन्छ यस प्रदेशलाई । लाहुरेले नै बसालेको सहर पनि भन्छन् पोखरा, धरान अनि बुटवललाई । अझ विशेष त पोखरालाई । पोखरा अनि लाहुरे संस्कृति पर्यायवाचीजस्तै हुन् । त्यसैले पोखराको समृद्धिको सारथी लाहुरे संस्कृतिलाई मानिन्छ ।
लाहुरेको महत्व समाजले उच्च स्थानमा दिँदै आएको यथार्थ अझै कायमै छ । दसैँमा किशोरलाई लप्टन, कप्तान बनेस् भनेर दिइने आशीर्वाद होस् वा किशोरीलाई लाहुरे लोग्ने परोस् भनेर दिइने आशिष । यसको अर्थ लाहुरे भए प्रशस्त धन सम्पत्ति कमाएर सुखसयलमा जीवन व्यतीत गर्न सकिन्छ र लाहुरे लोग्ने पाए गाउँघरका ढाक्रेसँग बिहे गरेर गाउँमा दुःख गर्नुपर्दैन भन्ने बुझिन्छ । सम्पन्नताको सपना बोकेर अघि बढ्नुपर्छ भन्ने पाठ लाहुरे संस्कृतिले सिकाएको हो । समयसँगै नेपालीहरू युरोप, अमेरिका र खाडी मुलुकमा रोजगारीकै सिलसिलामा जाने क्रेज ह्वात्तै बढ्यो ।
गाउँगाउँबाट लाहुर जाँदा होस् वा लाहुरबाट गाउँ फर्कदा पोखरा लाहुरेहरूको ट्रान्जिट प्वाइन्ट बन्थ्यो । करिब ५–६ दशक पहिले काँसघारी र घासेमैदान मात्र रहेको पोखरा बिस्तारै लाहुरेहरू बसोबास गर्न थाले । गोरखपुरबाट उतैका डिजाइनका झ्यालढोका मात्र भित्रिएनन् यहाँ, सँगै भित्रियो उतैका रहनसहन अनि चालचलन । समयसँगै पोखरामा अवकाशप्राप्त लाहुरेहरूले घरहरू बनाउन थाले । अरूभन्दा भिन्न बस्ती नै बसाल्न थाले । चिटिक्क परेको ढुंगाको घर, घरअगाडि बगैँचा, व्यवस्थित सडक अनि ढल बनाउनेको जमात बढ्यो । यसैको सिको गर्दै सबैले उस्तै घर अनि बाटो बनाउन थाले । अनि बिस्तारै सुरुवात भयो पोखराको आधुनिकीकरणको बाटो ।
पोखराको सन्दर्भमा शिक्षा, स्वास्थ्य होस् या यातायात जुनसुकै क्षेत्रको जग लाहुरे संस्कृतिले नै बसालेको मानिन्छ । स्व. मेजर वीरसिंह गुरुङ एक यस्ता हस्ती हुन्, जसले पोखरा र सिंगो गण्डकी प्रदेशकै शिक्षा र स्वास्थ्यकै क्षेत्रमा अतुलनीय योगदान दिएका थिए । पहिलो र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका सैनिकहरूको परिवारको सहयोगका लागि स्थापना भएको थियो, राहत तथा उद्धार कोष । त्यसैबाट वि.सं. २०१३ मा भूतपूर्व सैनिकहरूको सन्तानको शिक्षाका लागि भनेर सोल्जर्स बोड भोकेसनल ट्रेनिङ हाइस्कुल स्थापना भयो, पछि गएर अमरसिंह उच्च माविमा परिणत भयो । त्यही साल सोल्जर्स बोर्ड अस्पताल पनि सुरुवातमा आएको थियो, अहिले त्यही पश्चिमाश्चल क्षेत्रीय अस्पतालको नामले चिनिन्छ । बिस्तारै यही लर्को सबै ठाउँमा सलबलाउँदै गयो ।
यता ग्रामीण पर्यटन अर्थात् होमस्टेका सुरुवातकर्ता थिए, सिरुबारीका स्व. क्याप्टेन रुद्रमान गुरुङ । भारतीय सेनामा रहँदा २०२५ सालमै गाउँ पर्यटनको सपना बुनेका गुरुङले वि.स. २०५४ मा आफ्नै गाउँ सिरुबारीलाई पहिलो ग्रामीण पर्यटकीय गन्तव्य अर्थात् होमस्टे घोषणा गरेका थिए । बिस्तारै यो अवधारणा नेपालभर विस्तार भयो र अहिले गण्डकी प्रदेशमै सयको हाराहारीमा होमस्टेहरू सञ्चालनमा आएका छन् । गण्डकी प्रदेशकै पर्यटनमा ठूलो आयाम र टेवा पु¥याउन होमस्टेले ठूलो भूमिका खेलेको छ । यस्तै सिद्धार्थ र पृथ्वी राजमार्गले पोखरा जोडिएसँगै निजी यातायातको चलन सुरुवातमा ल्याउने तिनै लाहुरेहरू थिए । यता पोखरा दीपमा ब्रिटिस भर्ती केन्द्र र रामबजारमा भारतीय पेन्सन क्याम्प बनेसँगै पोखरामा उद्योगधन्दा र व्यवसायले उचाइ लिन थाल्यो । अनि पोखरा नेपालकै उद्योग र व्यवसायको हब बन्न थाल्यो । बिस्तारै यसको प्रभाव छिमेकी जिल्लाहरूमा देखिन थाल्यो । यसरी लाहुरे संस्कृतिले पोखरालाई मात्र नभई सिंगो गण्डकी प्रदेशको चौतर्फी विकासका लागि ठूलो टेवा पु¥यायो ।
नेपालको अर्थतन्त्रदेखि लोकवाङ्मयसम्म लाहुरे संस्कृतिले ठूलो आयाम थपेको छ । सरकारको मुख्य आम्दानीको स्रोतका रूपमा लिइने रेमिट्यान्सको ठूलो अंश लाहुरेले ओगटेको त छ नै । यता लाहुरे संस्कृतिले लोकगीत र लोकसंगीतको उत्थान गर्ने काम पनि गरेको छ । लोकगीत लाहुरे संस्कृतिबाट बिछट्टै प्रभावित छ । गण्डकी प्रदेशका कुनाकुन्दरामा नयाँनयाँ सर्जक र लोकसंगीतका पारखी लाहुरे संस्कृतिले जन्माएनन् मात्र, सँगै लोकसंगीतको उर्वर भूमि बनायो यस ठाउँलाई । लाहुरको दुःख र पीडाका कथा, बिदेसिँदा घरपरिवारसँगको विछोडको कथा होस् वा देशको कमजोर आर्थिक–राजनीतिक प्रणालीले बिदेसिन बाध्य बनाएको सरकारमाथिको आक्रोश र व्यङ्ग्य, सबै पोख्ने माध्यम लोकगीत बन्यो । समग्रमा लोकगीतको रचनागर्भमा लाहुरे संस्कृतिले पु¥याएको अतुलनीय योगदानका बारेमा गहिरो अध्ययन, खोज र विश्लेषण गर्न जरुरत देखिन्छ ।
दुई सय वर्षभन्दा पुरानो इतिहास बोकेको लाहुरे संस्कृति जसरी सुरु भए पनि यसले विगतदेखि वर्तमानसम्म आइपुग्दा नेपाली जनजीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गहिरो प्रभाव पारेको देखिन्छ । कति सकारात्मक त कति नकारात्मक । देशबाट ऊर्जाशील युवाहरू बाहिरिएको नैराश्यता एक ठाउँमा छ, तर यससँगै भित्रिएका छन् कैयौँ विकासका लहरहरू । लाहुरे संस्कृति आफैँमा सामाजिक र आर्थिक अवस्था उकास्ने माध्यमका रूपमा लिइन्छ । विदेशी सभ्य लवाइखवाइ, आनीबानी र भाषा संस्कृति नेपाल भित्रिएसँगै मौलिक भाषा, संस्कृति अनि परम्परा लोप हुँदै गएको तितो यथार्थ पनि छ ।
लाहुरे संस्कृति फस्टाउँदै गएसँगै देशमा बसाइँसराइ तीव्र गतिमा बढ्न थाल्यो । गाउँ रित्तिन थाले, काठमाडौं, पोखराजस्ता ठुल्ठूला सहर भरिन थाले । स्वदेशी भूमिमा पसिना बगाएर देशको विकास नगरी अरूको गुलामी गर्न बिदेसिएका लाहुरेहरूले सामन्तवादी संस्कृति र परावलम्बन संस्कृतिलाई फस्टाएको आरोप खेप्नुपरेको छ । अवकाशपश्चात् पेन्सनबाट स्वदेशमै विभिन्न व्यवसायमा लगानी गरेर कैयौँलाई रोजगार पनि दिएका छन् । तर, यथार्थ यो पनि हो कि, कति लाहुरे भएपछि देशको नागरिकता लत्याएर उतै भासिनेहरूको ठूलो जमात पनि यहीँ रहेको छ । श्रीमान्–श्रीमती उतै बसेपछि छोराछोरी कुलतमा फसेका र बाआमाको बिजोग अवस्थामा रहेका घटनाहरू सामाजिक सञ्जालमा पढ्न, सुन्न सकिन्छ । त्यसैले कति लाहुरे परम्परा रोकिनुपर्छ भन्ने पक्षमा छन् ।
यति भनिरहँदा पनि लाहुरे संस्कृति र गण्डकी प्रदेशबीच अन्योन्याश्रित सम्बन्ध कायमै छ । समग्रमै गण्डकी प्रदेशको विकास र उन्नतिका लागि लाहुरे संस्कृतिको ब्रान्डिङ गर्न जरुरत छ । सम्भवतः लाहुरे संस्कृतिलाई लत्याएर पोखराको इतिहासको बयान, वर्तमानको वर्णन र भविष्यको परिकल्पना गर्नु न्यायोचित हुँदैन । वीर लाहुरेहरूको रगत र पसिनाले सिँचेको पोखराले सदैव लाहुरे संस्कृतिप्रति गर्व गरिरहनेछ । तर, यससँगै भित्रिएका नराम्रा संस्कृति र कुरीतिलाई हटाउँदै लाहुरे संस्कृतिलाई ब्रान्डिङ गर्न सकिए, सुनौलौ गण्डकी प्रदेशको भविष्य कोर्न सकिन्छ ।

तस्विरः सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->