बागलुङ, १५ भदौ– गण्डकी प्रदेशमा सोमबार बिहान ४ जिल्लाका ७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि प्रदेशमा सङ्क्रमितहरूको कुल सङ्ख्या २ हजार १ सय ४४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको स्वाब परीक्षणमा उनीहरूमा सङ्क्रमणको पुष्टि भएको हो । थपिएका सङ्क्रमितहरूमा कास्कीको पोखरा महानगरपालिका ६ का ३७ वर्षीय पुरुष, वडा नं ८ का ५५ वर्षीय पुरुष र वडा नं १५ का ५६ वर्षीय पुरुष रहेका छन् । यस्तै लमजुङको बेशीसहर नगरपालिका १० की ७१ वर्षीया महिला, तनहुँको भानु नगरपालिका ५ का ४४ वर्षीय पुरुष, गोरखाको गोरखा नगरपालिका १३ का ३६ र ३२ वर्षीया महिलामा पनि सङ्क्रमणको पुष्टि भएको छ । लमजुङकी ७१ वर्षीया महिलाको पोखराको फेवासिटी अस्पतालमा उपचार भइरहेको छ । उनको नमुना सङ्कलन पनि पोखराबाटै गरिएको थियो । अन्य सबै सङ्क्रमितहरू भने कनट्र्याक्ट ट्रेसिङको माध्यमबाट फेला परेकाहरू हुन् ।





