स्याङ्जा, २१ भदौ– गल्याङ नगरपालिकाले खरको छाना र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारको घर निर्माण गरिदिने भएको छ । नगरपालिकाले पकवादीस्थित बराल गाउँबाट घर निर्माण कार्यको शुभारम्भ गरेको हो ।
नगरपालिकाले स्थानीय युवा क्लबको सक्रियता र वडा कार्यालयको समन्वयमा घर निर्माण कार्यको सुरु गरेको हो । घर निर्माण कार्यको शुभारम्भ गर्दै नगरप्रमुख भुपराज अधिकारीले अनुगमनको क्रममा घरको अवस्था दयनिय देखेपछि आर्थिक अवस्था कमजोर र खरको छाना भएका परिवारको घर नगरपालिकाले घर निर्माण गर्ने अभियान थालिएको बताए ।
‘घर भत्किएर विस्थापित भएका र आर्थिक अवस्था कमजोर भएर घर निर्माण गर्न समस्यामा परेका नगरबासीहरुको घर नगरपालिकाले निर्माण गरेर नगरबासी सबैलाई ओतमा राख्छ’ नगरप्रमुख अधिकारीले भने । पकवादीको बराल गाउँबाट सुरु भएको अभियान नगरका सबै वडामा आवश्यकताका आधारमा विस्तार गरिने उनले प्रतिवद्वता जाहेर गरेका छन् ।
साउन ११ गते परेको अविरल वर्षाका कारण घर भत्किएर छिमेकीको घरमा बस्दै आएकी भविकुमारी बरालले नगरपालिका र स्थानीय युवा क्लबले घर निर्माण गरिदिने भएपछि खुसीको सिमा नरहेको बताइन् । ‘घर भत्किएपछि छिमेकीको घरमा बस्दै आएका छौ, छोराछोरीलाई कहाँ राखौ भन्ने पिरलाले सताइरहेको थियो, घर बन्ने भएपछि निकै खुसी लागेको छ’ उनले भनिन् ।
घरमा बस्नै नसक्ने अवस्था भएपछि विस्थापित भएकी बराल गाउँकै रुमीसरा मस्राङ्दी मगरले घर बन्ने भएपछि खुसी लागेको बताइन् । ‘आफ्नो घर छाडेर बाहिर बस्नुपर्दा धेरै समस्या भोग्नुपरेको थियो, घर बन्ने भएपनिसबै दुःखहरु बिर्सिएर खुसीको अनुभुती भएको मस्राङ्दीको भनाई छ ।
सो अवसरमा बोल्दै पुर्वाधार कार्यालय स्याङ्जाका प्रमुख लक्ष्मी भण्डारीले आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारको लागि घर निर्माण भएपछि ठुलो सहयोग पुग्ने बताए। सबै पक्षको सहयोगले निर्माण कार्य छिट्टै सम्पन्न हुनेमा आफु विश्वस्त रहेको भण्डारीको भनाई छ ।
स्थानीय ६ वटा युवा क्लबसंग मिलेर अति बिपन्न र आर्थिक अवस्था कमजोर भएका चार घरपरिवारको लागि घर निर्माण कार्यको सुरुवात गरिएको वडा अध्यक्ष ध्रुव्र प्रशाद शर्मा पंगेनीले जानकारी दिए । नगरपालिकाका प्रशासकीय प्रमुख ईश्वरी प्रसाद पाण्डेले दुई महिनाभित्र निर्माण कार्य सक्ने गरि कार्य सुरु गरिएको बताए ।
घर निर्माणको लागि आवश्यक निर्माण सामाग्री नगरपालिकाले उपलब्ध गराउने र युवा क्लब र स्थानीय बासिन्दाले श्रमदान गर्नेगरी काम सुरु गरिएको प्रशासकीय प्रमुख पाण्डेले जानकारी दिए ।





