शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सहर पस्ने ‘स्लेट ढुंगा’

सहर पस्ने ‘स्लेट ढुंगा’

ठूला सहरका रोजाइमा ताराखोलाको ढुंगा, वार्षिक करोड बढीको ढुंगा खपत


  • रामकृष्ण बोहरा
  • भाद्र २४ २०७७, बुधबार

पाखोभरि ढुंगा त थिए, तर त्यसको उपयोगिताको विषय धेरैपछि थाहा लाग्यो । खेतका छेउछाउ र बारीका गरामा भेटिने ढुंगाले घरको छानो बन्छ भनेर ताराखोलाका स्थानीयले २०१७ मा पत्तो पाए । त्यसपछि सुरु भयो पाखो र बारीका ढुंगा काटेर घर छाउनेदेखि पैसा कमाउनेसम्मका कर्म ।
ताराखोला गाउँपालिका–५ मपेसखोलामा रहेको दहडाँडा खानीमा खड्कबहादुर रोकाले पहिलोपटक काम लाग्ने पातलो ढुंगा निकालेका थिए । आफ्नो व्यक्तिगत जमिनमा स्थानीय कालिगढसँग मिलेर ढुंगा काट्ने परम्पराको सुरुवात गर्ने श्रेय उनै खड्कबहादुर जान्छ ।
खड्कबहादुरको भौतिक शरीर नभए पनि उनले चलाएको अभियानले अहिले व्यावसायिक रूप लिएको छ । स्लेट ढुंगाले ताराखोलालाई पहिचान मात्र दिएको छैन, त्यहाँका धेरै सर्वसाधारणलाई रोजगार पनि दिएको छ । स्थानीय सरकारको आँखा गडाएको छ । व्यवसाय गर्नेहरूका लागि आकर्षणको केन्द्र बनेको छ ।
……….
ढुंगाको बजार
त्यसताका स्लेट ढुंगा उत्खनन गरी बिक्रीवितरण गर्ने खासै चलन थिएन । खरका छाना रहेका त्यस क्षेत्रका घरहरूमा स्लेट ढुंगाले छाउन त्यतिबेलाबाटै थालिएको थियो । फर्केर हेर्दा २०३७ सालतिरको कुरा हो । जतिबेला ताराखोलाको स्लेट ढुंगा पहिलोपटक बाग्लुङ बजार र काठमाडौंसम्म पुग्यो ।
त्यसपछि सुरु भयो ताराखोलाको ढुंगाको चर्चा । काठमाडौंको ठाउँ यकिन नभए पनि सदरमुकाम बाग्लुङ बजार निवासी तत्कालीन वन राज्यमन्त्री तेजेन्द्रबहादुर खड्काले ताराखोलाबाट स्लेट ढुंगा ल्याएर घर र मन्दिरमा ओछ्याएका थिए । बिस्तारै ओझेलमा रहेका ढुंगाखानी खोज्न थालियो । स्थानीयले बारी र पाखोबाट निकालेका ढुंगाले बाग्लुङका पूर्वी गाउँहरूमा खरको छाना विस्थापित नै गराइदियो ।
……….
ताराखोलको ढुंगा उद्योगतिर
झन्डै ०४५ सालदेखि बाग्लुङ बजार, सिगाना, भीमापोखरा, धम्जा, तंग्राम र गलकोट क्षेत्रमा ताराखोले स्लेट ढुंगाको बजारीकरण भएको देखिन्छ । विगतमा घर छाउनकै लागि मात्र प्रयोग हुने स्लेट ढुंगा अहिले घर सजावटदेखि मन्दिर, सडक र सत्तलमा समेत व्यापक प्रयोग हुन थालेको छ ।
खानीबाट उत्खनन गरिएका ढुंगाको बहुपयोगिता र व्यावसायिक उत्पादन भने ०६६ सालबाट सुरु गरिएको हो । ताराखोला–५ करिमेलाका धनबहादुर विक, बाग्लुङ बजारका सुभाषचन्द्र राजभण्डारी, निर्मल श्रेष्ठ र स्थानीय उद्यमीको संयुक्त लगानीमा स्लेट ढुंगाको व्यावसायिक उत्पादन सुरु गरेका हुन् ।
खानी तथा भूगर्भ विभागमा धौलागिरि एसटिएम ढुंगा उद्योग तथा इन्भेस्टमेन्ट कम्पनी दर्ता गरी सञ्चालनमा आएको यो एक मात्र वैधानिक उद्योग हो । जसले ताराखोलाको ढुंगाको पहिचान देशका ठूला सहरहरूलाई सजाइरहेको उद्यमी विक बताउँछन् ।
ताराखोला गाउँपालिकाको वडा नं. ४ र ५ मा मात्रै ४९ वटा खानी छन् । त्यस्तै हिल, अर्गल र अमरभूमिमा पनि त्यति नै मात्रामा ढुंगाखानी रहेका छन् । अन्य खानीहरू घरायसी कामका लागि प्रयोजनमा आएका छन् ।
……….
ठूला सहरका रोजाइमा ताराखोलाको ढुंगा
मपेस खोलाको दहडाँडा खानीबाट उत्खनन गरिएका ढुंगाको कटपिस अहिले देशका प्रमुख सहरमा निर्यात हुने गरेको विकले बताए । ताराखोलाको स्लेट ढुंगाको रङ परिवर्तन नहुने, प्राकृतिक, अझ भनौँ अर्गानिक लाग्ने । हेर्दा आकर्षक देखिने भएकाले घर निर्माणमा प्रयोग हुने विदेशबाट आयातीत मार्बल तथा टायलको विकल्प बन्दै गएको छ ।
विगतमा ढुंगा–माटोले बनेका घरमा छानो छाइने ढुंगा अहिले सहरमा निर्माण हुने आधुनिक घरमा सजावटका लागि टाँस्ने, बिछ्याउने कामदेखि मठमन्दिर, सत्तल र पदमार्गमा पनि अत्यधिक प्रयोग हुन थालेको विक बताउँछन् ।
उद्योगबाट उत्पादन भएको स्लेट ढुंगा सबैभन्दा बढी पोखरामा खपत हुने गरेको छ । पछिल्लो समय गुल्मी, पोखरा, काठमाडौं, चितवन, बुटवल, दाङ, विराटनगर, नेपालगन्जलगायत देशका अधिकांश सहरबाट स्लेट ढुंगाको अत्यधिक माग आउने गरेको छ । ताराखोलाको ढुंगा पोखरामा सप्लायर्सहरूमार्फत उपभोक्ताको घर–घरमा पुगेको छ ।
……….
वार्षिक करोड बढीको ढुंगा खपत
झन्डै २५ लाखको लगानीमा सञ्चालन गरिएको उद्योगले वार्षिक रूपमा ७६ लाखसम्मको ढुंगा बिक्री गरेको रेकर्ड छ । ‘सधैँ एकनासको व्यापार हुँदैन, यद्यपि खानी सञ्चालनबाट सन्तोषजनक आम्दानी हुँदै आएको छ,’ विकले भने, ‘मजदुर खर्च कटाएर वार्षिक ७ देखि १० लाखसम्म मुनाफा हुने गरेको छ ।’
दर्ता भएको खानीले उत्पादन गर्ने परिणामकै ढुंगा ताराखोलाका स्थानीयले आफ्नो पाखोबारीमा उत्पादन गर्दै आएका छन् । तर, झन्झटिलो प्रक्रिया र बाध्यकारी उत्पादनका कारण यहाँका सामान्य नागरिकले उत्पादन गरेको ढुंगा भने व्यावसायिक रूपमा बजारमा नपुगेको स्थानीय बताउँछन् । तर, उनीहरूले खुद्रा बिक्री भने गरिरहेका छन् ।
खानी सञ्चालनका लागि केन्द्रीय विद्युत् प्रसारण लाइन आवश्यक भए पनि स्थानीय लघुजलविद्युत् र जेनेरेटरको भरमा उद्योग सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विश्वकर्माको गुनासो छ ।
खुसीको कुरा त के भने ढुंगाखानी सञ्चालनमा आएपछि गाउँघरमै रोजगारीका अवसर सिर्जना भएका छन् । अहिले कामका लागि बिदेसिने युवाहरू खानीमा व्यस्त हुन थालेका छन् । आफ्नो खानीबाट स्थानीय ३५ जना युवाले रोजगार पाएको विकले बताए । त्योबाहेक व्यक्तिगत उत्पादन गरेर आफन्त र छिमेकीलाई सघाउने कैयौँले ढुंगाबाटै परिवारको रोजीरोटी चलाएका छन् ।
पछिल्लो समय पुराना बस्ती संरक्षण, लक्जरियस होटेलदेखि रिसोर्टको इन्टेरियर डिजाइनका लागि पनि ताराखोले स्लेट ढुंगा बढी रोजाइमा पर्न थालेको छ । हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र मनकामना मन्दिर, मकवानपुरको टिस्टुङ पालुङको पुरानो बस्ती पुनर्निर्माण, गुल्मीको सिद्वबाबा मन्दिर पुग्ने बाटो, पोखरा छोरेपाटनको गुप्लेश्वर गुफा, भलामको हरिहर गुफादेखि काठमाडौं स्वयम्भूस्थित गीता मन्दिरमा समेत ताराखोले स्लेट ढुंगाको प्रयोग गरिएको छ ।
यी त केवल प्रतिनिधि उदाहरण मात्रै हुन् । ताराखोलाको स्लेट ढुंगाले २ हजार मेट्रिकटन भार बहन गर्न सक्ने, लेउ नलाग्ने, नचिप्लने र मौसमअनुकूल सुहाउँदो भएकै कारण धेरैको रोजाइमा पर्न थालेको आँधीबेरी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिका सञ्चालक प्रकाश विक बताउँछन् ।
पछिल्लो समय उपभोक्ता समितिले निर्माण गर्ने पैदलमार्ग, सामुदायिक भवन पनि ताराखोलाको ढुंगा प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ । स्लेट ढुंगाको माग अत्यधिक भए पनि यसको बजारीकरणमा त्यति सहज छैन ।
ढुंगा ढुवानीका क्रममा वन कार्यालय र प्रहरीले स–साना त्रुटि देखाउँदै दुःख दिने गरेको पोखराको पस्र्याङस्थित आचार्य ब्लक तथा ढुंगा उद्योगका सञ्चालक वसन्तराज आचार्य बताउँछन् । आफ्नै प्रदेशका खानीजन्य पदार्थको बजारीकरणमा सरकारी निकायबाट विनाकारण गरिने अवरोध हटाई सहज वातावरण सिर्जना गर्नुपर्ने व्यवसायीको माग छ ।
……….
गुणस्तरमा अब्बल ढुंगा
गुल्मी रेसुंगा पोखरीदेखि यज्ञशाला हुँदै सिद्धबाबा मन्दिर जाने ७ सय ६० मिटर पैदलमार्गमा ताराखोलाको ढुंगा बिछ्याइएको छ । गुणस्तरीय, प्राकृतिक, टिकाउ, स्थानीय उत्पादन र पुरातात्विक हिसाबले ताराखोलाको ढुंगालाई प्राथमिकता दिइएको रेसुंगा पर्यटन पूर्वाधार विकास उपभोक्ता समितिका सचिव वीरेन्द्र भुसालले बताए ।
बदलिँदो जीवनशैलीसँगै आधुनिकतालाई पछ्याउने भिड जति बढ्दै छ, पुराना स्रोत र साधनको प्रयोग गर्ने प्रचलन पनि उत्तिकै छ । बाग्लुङको बलेवामा बन्जीजम्पसहित आधुनिक रिसोर्ट सञ्चालनमा ल्याएको ‘द क्लिफ’ प्रालिले परम्परागत शैली अपनाउँदै ताराखोलाको स्लेट ढुंगालाई उत्तिकै प्राथमिकता दिएको छ ।
स्थानीय स्रोतसाधनको उच्चतम प्रयोग गर्दा पैसा विदेश नजाने र स्थानीयले रोजगार पाउने भएकाले स्थानीय उत्पादनलाई प्रयोग गरिएको प्रालिका निर्देशक नेत्र पराजुली बताउँछन् । साजसज्जा आकर्षक देखिने, लगाउन सजिलो हुने भएकाले ताराखोलाको स्लेट ढुंगा प्रयोग गरिएको पोखरास्थित छोरेपाटन गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका कार्यालय प्रमुख नारायण पौडेलले बताए ।
स्थानीय स्लेट ढुंगाखानी सञ्चालनका लागि प्रोत्साहन गर्न गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ का लागि नीति तथा कार्यक्रम लिएको छ । स–साना ढुंगा उद्योग धेरै भए पनि प्रदेश सरकारको कार्यविधि नबन्दा दर्ता प्रक्रियामा लैजान नसकेको ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ती बताउँछन् ।
गाउँपालिकाभित्र प्रशस्त घरेलु तथा साना उद्योग भएको हुँदा गाउँपालिकाले धेरै कर संकलन गर्न सक्ने सम्भावना रहेको भए पनि खानी सञ्चालनमा आउन नसक्दा त्यो लाभ लिन नसकिएको घर्तीले बताए ।
खानी उत्खनन र बजारीकरणका लागि स्थानीय सरकारले विधि बनाउन पाउँदैनन् । प्रदेश र केन्द्रले बनाएको विधिमा रहेर स्थानीय सरकारले प्रोत्साहनका कार्यक्रम ल्याउने योजना भने गाउँपालिकासँग छ । प्रदेश सरकारले खानी उत्खननसम्बन्धी कानुन र कार्यविधि सहज बनाएर ताराखोलामा जस्तै खानी भएका स्थानीय तहलाई मजबुद बनाउनुपर्ने तर्क घर्तीको छ ।
……….
बजारीकरणमा राज्यको नीति झन्झटिलो
सबैको रोजाइमा परेको भए पनि ताराखोलाको ढुंगा उत्खनन र व्यावसायिक हिसाबले बिक्रीवितरणमा उत्पादकहरूले सास्ती खेप्दै आएका छन् । राज्यको नीति र विधि झन्झटिलो हुँदा सम्भावना लुकेको स्थानीय बताउँछन् ।
यहाँको ढुंगालाई राज्यले नै बजारको व्यवस्थापन गर्ने र दर्ता तथा उत्खननको प्रक्रिया सरल बनाउने हो भने ब्रान्ड बनिसकेको ताराखोले स्लेट ढुंगाले जिल्ला र देशको अर्थतन्त्रमा राम्रो प्रभाव पार्ने सम्भावना छ । भारतमा मानव निर्मित स्लेटहरूको विस्थापन गर्ने ताराखोलाको प्राकृतिक ढुंगा गण्डकी प्रदेशको गतिलो ब्रान्ड हो । यसमा ध्यान पुग्नुपर्ने पालिका अध्यक्ष घर्ती बताउँछन् ।

तस्बिर : महेन्द्र घर्ती संगम/ढोरपाटन

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->