स्याङ्जा, २९ भदौ– जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. ७ का ६९ वर्षिय भीम बहादुर ठकुरी र सोही ठाउँका ६० वर्षिय ओम बहादुर हमाललाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ नागरिकद्वयलाई अवैध हातहतियार राखेको आरोपमा पक्राउ गरिएको हो ।
ठकुरी र हमालको घरमा खानतलासी गर्ने क्रममा ४ वटा भरुवा बन्दुकसहित बन्दुकमा प्रयोग हुने सामग्रीसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
एकनाले भरुवा बन्दुक ३ वटा र एकनाले १२ बोर बन्दुक १ संगै त्यसमा प्रयोग हुने बारुद, टोटा, केप, ग्रिस डिब्बा, फलामको पाता, फलामको छर्रालगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई आइतबार हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट २५ दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।
प्रहरीले भीम बहादुर ठकुरीको घरबाट इजाजत पत्र नलिइकिन राखेको एकनाले भरुवा बन्दुक १ थान र एकनाले १२ बोरको बन्दुक गरी २ थान र ओम बहादुर हमालको घरबाट एकनाले भरुवा बन्दुक २ थान बरामद गरेको हो ।





