बागलुङ, २ असोज– गण्डकी प्रदेशमा शुक्रवार बिहान थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितहरुको कुल संख्या तीन हजार २९१ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार वीपी कोइराला स्मृति क्यान्सर अस्पताल चितवन र चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा तीन जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको हो । थपिएकाहरूमा स्थानीय तह नखुलेका स्याङ्जाका ५४ वर्षीय पुरुष, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का चार र २५ वर्ष उमेरका दुईजना पुरुष तथा ४५ वर्षीया महिला रहेकी छिन् । यस्तै, गैँडाकोट नगरपालिका–२ का ३० वर्षीय पुरुष, वडा नम्बर १ का ६५ वर्षीय पुरुष र वडा नम्बर ६ की २७ वर्षीया महिलामा पनि संक्रमण रहेको पाइएको छ । कावासोती नगरपालिका–८ का २१ वर्षीय पुरुष, देवचुली नगरपालिका–१२ की २१ वर्षीया महिला तथा तनहुँको देवघाट गाउँपालिका–५ का २७ र ५८ वर्ष उमेरका दुईजना पुरुषमा पनि संक्रमणको पुष्टि भएको छ ।





