ठूला नदीमा डुंगा र साना खोलाहरूमा फड्केनीको विकल्प खोज्दा बाग्लुङेले तेस्र्याएका बाँसका घाराबाट सुरु भएको हो ‘बाग्लुङ झोलुंगे पुलको जिल्ला’ भनेर । लामा बाँसका घारा खोलाको वारपार तेस्र्याएर बीचको भाग तल झुन्डिएपछि त्यसलाई झोलुंगो भनियो । दूरी लामो हुँदा हल्लिने बाँस अड्याउनका लागि बाइसे–चौबिसे राजाका पालामा गलकोटे राजा भरत बम मल्लले बाबियोको डोरी बनाएर वारपार टाँग्न लगाए । त्यही डोरीले बाँस धान्यो र स्थानीयलाई आवतजावतमा सहज भयो । त्यही प्रविधि कालान्तरमा झोलुंगे पुलमा रूपान्तरित भयो ।
काठका फड्केनी छोटो दूरीलाई मात्रै काम लाग्ने, अलि लामो दूरीमा बाँस हालेर बाबियोको डोरीले अड्याएको झोलुंगोबाट बाग्लुङमा झोलुंगे पुलको इतिहास सुरु भएको हो । भरतबम अघिका राजाले खोलामा पुल बनाएको कहीँकतै भेटिँदैन् । दरमखोलामा बाबियोको डोरी र बाँसका घाराबाट सुरु भएको झोलुंगे पुल बनाउने अभियान अहिले पनि जारी छ ।
नेपालमा झोलुंगे पुलको जिल्ला भनेर सामान्य ज्ञानकै आधारमा बाग्लुङलाई धेरैले चिन्छन् । बाग्लुङका पुराना नेता तथा झोलुंगे पुललाई बाग्लुङको ब्रान्ड बनाउने ओमकारप्रसाद गौचन हुन् । उनैले भरतबम मल्लदेखि अहिलेसम्मका पुलको इतिहासका विषयमा बताउँछन् ।
……….
कथा झोलुंगे पुलको
विसं. १९०० को दशकमा कोलकाताबाट फलामको सिक्री (चेन) ल्याएर दरमखोलामा पुल बनाइयो, तर त्यो सानो भएकाले त्यति काम दिन सकेन । पछि त्यही देखेर म्याग्दी (तत्कालीन बाग्लुङको उत्तरभाग)मा कालिगढहरूले आफँैले खानीबाट फलाम निकालेर ठूलो चेन बनाए । अनि पुल बनाउने क्रम चल्यो ।
बाग्लुङमै स्थानीय प्रविधिको प्रयोग गरेर खोलामा बनाइएको पुलको प्रभावकारिता देखेका गौचनले यसको प्रचार गरे । पहिले जिल्ला, मुलुक हुँदै विदेशसम्म बाग्लुङे प्रविधिको झोलुंगे पुलको प्रचार भयो । अफ्रिकाबाट बाग्लुङे प्रविधिको पुल बनाउन प¥यो भन्दै खबर आएका इतिहास पनि छन् । अहिले बाग्लुङबाट विकास भएको झोलुंगे पुल प्रविधि संसारका ठूला विश्वविद्यालयमा अध्ययनको विषय बनेको पुलका ज्ञाता गौचन बताउँछन् ।
करिब एक सय वर्षपहिले बाग्लुङको निरयघाट र पर्वतको खनियाघाट जोड्ने गरी पुल बन्यो । जुन पुल व्यक्तिगत लगानीमा नन्दकुमार श्रेष्ठको स्मृतिमा बनेको थियो । बाग्लुङको कुश्मीसेरामा पर्ने जैमिनीघाट र पर्वतको देवीस्थान जोड्ने गरी १९९० सालभन्दा पहिला खानीगाउँका भवानीप्रसाद शर्मा र मोतीप्रसाद शर्माले झोलुंगे पुल निर्माण गरे ।
पश्चिमको बडीगाड गाँजाको भारी बोकेका नौजवानहरू तर्दै गर्दा स्थानीय प्रविधिको पुल चुँडिएको र जैमिनीघाटमा माघे संक्रान्ति मेलाका समयमा अत्यधिक मानिसहरूको ओहोर–दोहोरका कारण पुल चुँडिएर मानिसहरू कालीगण्डकीमा बेपत्ता भएको कहालीलाग्दो इतिहास पनि छ । तिथिमितिसहितको अभिलेख भने कसैले राखेका छैनन् । कालीगण्डकीमा छिनेको पुलको ठूलो फलामको साङ्लो तत्कालीन बलेवाका डिठ्ठा विचारीले कालिगढहरूलाई बनाउन लगाएका थिए । बडिघाटको पुल भने षड्यन्त्रपूर्वक नै लुठो चुँडाइएको थियो । गाँजा अवैधानिक भएका कारण राजनीतिक आधारमा त्यसलाई गुपचुप राखिएको थियो ।
समयको विकासक्रममा मानिसहरूका इच्छा र आवश्यकता बढे । पछिल्लो समय बाग्लुङका सयौँ खोलानाला, नदीमा झोलुंगे पुल बनेका छन् । झोलुंगे पुलको जिल्लाको पहिचानलाई थप मजबुद बनाउन नयाँ बनेका पुलले सहयोग गरिरहेका छन् ।
पुल बनेपछि खोलानाला तर्नका लागि मात्रै होइन, पर्यटनका हिसाबले समेत यहाँका पुलहरू चर्चित बन्दै गएको छ– बाग्लुङ । बाग्लुङ र पर्वतका विभिन्न ठाउँहरू जोड्ने गरी अग्ला र लामा पुलहरू बनाउने क्रम बढ्दै गएको छ । कालीगण्डकीले बनाएको खोँचमा निर्माण भएका पुलहरूले सर्वसाधारणलाई सहजता प्रदान गरिरहेका छन् ।
……….
अग्ला झोलुंगे पुल
०४५ सालदेखि कुश्मा र ज्ञादी जोड्ने झोलुंगे पुलको कल्पना गरिए पनि ०६७ सालमा आएर उक्त पुल निर्माण भएपछि बाग्लुङ र पर्वत जोड्ने अग्ला पुल निर्माणको लहर चलेको हो । बाग्लुङ र पर्वत जोड्ने गरी कुश्मा–कैया झोलुंगे पुल ०७० फागुनदेखि सञ्चालनमा आयोे । कालीगण्डकी नदीमाथि बनेको ३४७ मिटर लामो र १५६ मिटर उचाइमा रहेको सो पुल एक करोड ५६ लाखको लागतमा निर्माण गरिएको हो । यसअघि बनेको केबुलकार मोडेलको कुश्मा–बलेवा यान्त्रिक पुल हो । बाग्लुङको पर्यटनसँग यो पुलको पनि साइनो गाँसिएको छ । यो पुल ०६९ सालदेखि सञ्चालनमा आएको छ । पर्वत उद्योग वाणिज्य संघको पहलमा निजी क्षेत्रको लगानीमा निर्माण भएको पुलमा शुल्क तिरेर मात्रै आवतजावत गर्न सकिन्छ ।
बाग्लुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी निर्माण भएको ‘सस्पेन्डेट डी टाइपको’ सिंगल स्पानको पुललाई संसारकै लामो दाबी गरिएको छ । त्यही प्रविधिको स्विजरल्यान्डमा रहेको पुल ४९४ मिटर लामो छ । यो झोलुंगे पुल ५६७ मिटर लामो र १३८ मिटर उचाइ निर्माण भएको छ । यो पुल बनेपछि बाग्लुङको मुकाममा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आशा गरिएको छ ।
बाग्लुङकै जैमिनी र पर्वतको फलेवास नगरपालिका जोड्ने गरी जैमिनी–५ बिनामारे र फलेवासको देवीस्थानमा पनि अर्को अग्लो पुल बनेको छ । बाग्लुङको नारायणस्थान र पर्वतको फलेवास जोड्ने अग्लो पुल अर्को बाग्लुङको पहिचान हो । जिल्लाको कुल जमिनको २.७९ क्षेत्रफल नदीनालाले ओगटेको छ ।
५ हजार ९७ हेक्टर जमिनमा फैलिएका नदीनालाको भूभागमा ५ सय २९ वटा एक सय १० मिटरभन्दा छोटा झोलुंगे पुल छन् । त्यसबाहेक बनेका ७ वटा लामा र अग्ला पुलहरूले अन्तरजिल्ला जोडेका छन् । केबलकार प्रविधिको पुल र बन्जीजम्पका लागि बनाइएका दुई पुलका आ–आफ्नै विशेषता छन् ।
बाग्लुङमा बनेका पुलहरू तत्कालीन राजादेखि अहिलेका स्थानीय सरकारसम्मले बनाएको इतिहास छन् । खोलानाला धेरै भएकाले बाग्लुङमा झोलुंगे पुल धेरै बने । त्यसैले झोलुंगे पुलको जिल्ला भनेर पहिचान बनाएको छ । हेल्भेटास नेपालले भीमापोखरा युवा क्लबसँग मिलेर गरेको सर्वेक्षण अनुसार, जिल्लामा अहिले पनि ३३ वटा पुरानो प्रविधिका पुल छन् । जसको मर्मत नगरीनहुने अवस्था छ । ९ वटा संरक्षित पुल, २ सय ७ वटा मर्मत गर्नुपर्ने पुल र १ सय २९ वटा सुरक्षित पुल छन् । पछिल्लोपटक बनेका मोटरेबल पुलले २८ वटा पुल विस्थापन भएका छन् ।
…….
पुलसँग जोडिएको बन्जीजम्प र पर्यटन
०७० फागुनदेखि सञ्चालनमा आएको कुश्मा–कैया झोलुंगे पुलले नजिकै अर्को झोलुंगे पुल बनाउने वातावरण सिर्जना ग¥यो । बाग्लुङमा बनेका अधिकांश पुलहरू सरकारी लगानीका हुन् । पर्वतसँग जोडिएका दुई फरक प्रकृतिका पुलहरूमा भने निजी क्षेत्रको लगानी छ । एउटा हो कुश्मा–बलेवा यान्त्रिक पुल । त्यही पुलको नजिकै अर्को झोलुंगे पुल बनेको छ । एसियामा नै नयाँ मोडल प्रयोग हो यो पुल । जसमा स्पाइरल स्ट्रेनको प्रयोग भएको छ । ज्ञादी–कुश्मामा बनेको पुलमा बन्जीको सम्भावना देखेका व्यवसायीले कैया–कुश्माको पुलमा बन्जीजम्पको कल्पना गरे । तर, त्यो सम्भव नभएपछि संसारकै दोस्रो र एसियाकै नमुना पुल बनाएर बन्जीजम्पको सुरुवात हुने चरणमा छ ।
बाग्लुङको बलेवा, नेपाने र पर्वतको कुश्मा बजार जोड्ने ५ सय २० मिटर लामो र २ सय २८ मिटर अग्लो पुल बनेको छ । जहाँ स्विङ र स्काई साइकिलिङ र बन्जीजम्पका संरचना एउटै निजी कम्पनीले तयार गरेको छ । पर्वतका ८ जना र गण्डकी प्रदेशबाहिरका २ जना व्यवसायी मिलेर बनाएको दी क्लिफ प्रालिले नेपानेमा बन्जीजम्प, स्विङ र स्काई साइकिलिङका लागि आउने पर्यटकको सुविधाका लागि रिसोर्टसमेत सञ्चालनमा छ । यसको परिकल्पनाकार राजु कार्की र फोलोरेन्स कार्की हुन् ।
रिसोर्टसहित २० करोड लगानी रहेको यो पुलले बाग्लुङको पर्यटनमा धेरै परिवर्तन ल्याउनेछ । एसियाकै अग्लो स्थानबाट बन्जीजम्प, प्राकृतिक सुन्दरता र कालीगण्डकी खोँचको सुन्दर दृश्य यो पुल र पुलसँग जोडिएका संरचना प्रयोग गर्दा लाग्ने खर्चको उपयोगिता पुष्टि गर्ने माध्याम हुन् । यहाँ सञ्चालनमा रहेको रिसोर्टले पोखरा काठमाडौंका सुविधासम्पन्न स्टार होटेल र युरोपका सहरहरूको रिसोर्ट बसाइको झल्को मेटाउनेखालको छ । निजी क्षेत्रको लगानीमा बनेको यो पुलसँगैका संरचनाको प्रयोगमा निश्चित शुःल्क लाग्छ ।
अन्नपूर्ण पदमार्गमा आउने पर्यटकदेखि आन्तरिक पर्यटकको केन्द्र बन्जीजम्प बन्न सक्छ । साहसिक पर्यटनका लागि यहाँ बनेका संरचना नेपालमै अद्भुत छन् । सामान्य लठ्ठेपिङ खेलाउनका लागि समेत प्रयोग भएको प्रविधिले सबैलाई लोभ्याउँछ । २२८ मिटरको उचाइ, कालीगण्डकीले चिरेको पहाडका परिदृश्यमा स्काई साइकिलिङ अर्को पर्यटक लोभ्याउने माध्याम हो ।
बन्जीजम्प गर्दा हिमालको दृश्य देखिने संसारकै एक मात्र स्थल यो बन्न सक्छ । नेपालमै पनि प्राकृतिक नदीमाथि बनाइएका बन्जीहरूबाट नदीको बहाव र हिमाल मुस्कुराएको दृश्य देख्ने अन्यत्र कुनै ठाउँ छैन । बलेवा विमानस्थल, कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग यसका आधार क्षेत्र हुन् । सहज यातायातको व्यवस्था हुँदा पर्यटकहरूलाई प्याकेजमा समावेश गरी यहाँ लिन सकिन्छ । बन्जीजम्पले यहाँका अन्य व्यवसायको क्षेत्रलाई समेत सघाउनेछ भने राज्यको राजस्वमा ठूलै योगदान गर्नेछ ।





