मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

परिवारसँग रमाउँदै, दुध वेचेर कमाउँदै

परिवारसँग रमाउँदै, दुध वेचेर कमाउँदै

‘विदेशमा महिनाभर रगत चुहिने गरेर मार्केटिङको काम गर्दा ४० हजार पाइन्थ्यो, त्यही पनि के के न पाइयो भन्दै खुसी लाग्थ्यो ।’


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०७७, आइतबार

बागलुङ, ११ असोज–स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै विदेश जाने नेपाली यूवाहरुको लर्को छ । कोरोना महामारीको कारण स्वदेश आएका र गाउँमै रहेकाहरु पनि अवस्था सहज बनेपछि रोजगारीको शिलशिलामा विदेशै जाने सोच पालेर बसिरहेका छन् ।
कोरोनालाई छल्न गाउँ भित्रिएका तथा विदेशमा रोजगारी गुमाउनु पर्दा फर्किएकाहरु पनि गाउँमा यसै बसीरहेको धेरै उदाहरणहरु छन् । जागिर अवसर नपाएका कारण आफूलाई विदेश जानुको बिकल्प नरहेको बताउने युवाका लागि बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित कैयाका प्रदीप साहनी उदाहरणका पात्र बनेका छन् ।
अमेरिका जाने चक्करमा लागेर एक हप्तासम्म काठमाडौँ बसेर फर्किएका २९ वर्षीय सहानीले अब पैसा कमाउनैका लागि विदेशिनु पर्छ भन्ने मानसिकता हटाइसकेका छन् । धेरै आम्दानीपछि पारिवारीक सुखको शोखमा कुनै बेला अमेरिका जान भनी काठमाण्डौसम्म हानिएका उनको दैनिकी अहिले गाईभैँसीको स्याहार र दूध बिक्रीमा अडिएको छ ।
‘यस्तै रहेछ अमेरिका भन्ने पनि, मलेसिया र दुबईमा त बसेर आएको हुँ । अमेरिका जान पाए धेरै नै कमाई हुने सोचले जान भनी काठमाण्डौँमा एक हप्ता बसेँ, काम भएन अहिले गाउँमा छु’ उनी भन्छन्, ‘त्यो बेलामा अमेरिका जाने सपना देख्थेँ । अहिले गाई भैँसी पालेको, दूध बेचेको, घरमै बसेर छोराछोरीसँग खेलेको सपना देख्छु ।’
सात महिना अगाडिबाट मात्रै गाईभैँसी पालनमा लागेका साहनी छोटो समयमै आफूलाई आर्थिक रूपमा बलियो पार्न सफल भएका छन्, सबैभन्दा खुसी गाउँमै बसेर केही गर्न सकेकोमा लागेको छ उनलाई । प्रदीपको गोठमा अहिले दूध दिने र ब्याउने बेलाका गरेर ३ ओटा गाई र ६ ओटा भैँसी छन् । व्यावसायिक रूपमा दूध उत्पादन गरेर बिक्री गर्ने सोच बनाएका उनले लगानीमा डराएनन्, एउटै भैँसीलाई डेढ लाख रुपैयाँ खन्याए । गाइ र भैँसी खरिद तथा घाँस र परालको व्यवस्थापनमा उनको अहिलेसम्म २० लाख रुपैयाँ खर्च भएको छ ।
केही महिनाअघि एक दिनमा ४० लिटरसम्म दूध बेचेका उनले गोठमा बाँधिएका सबै गाई र भैँसीले दूध दिन थालेपछि एक दिनमा ७० लिटरसम्म बिक्री गर्ने लक्ष्य राखेको बताउँछन् । यति बेला शाहानीले दैनिक ३० लिटरभन्दा बढी दूध पर्वत सदरमुकाम कुस्मा बजार र फाटफुट घरबाटै बेचिरहेका छन् । ७ महिनाको अवधिमा सबैभन्दा बढी एक महिनामा एक लाख बीस हजारको दूधको कारोबार गरेको र ६० हजार खर्च कटाउँदा ६० हजार रुपैयाँ नै बचत गर्न सकेको उनले सुनाए ।
‘विदेशमा महिनाभर रगत चुहिने गरेर मार्केटिङको काम गर्दा ४० हजार पाइन्थ्यो, त्यही पनि के के न पाइयो भन्दै खुसी लाग्थ्यो ।’ साहनी भन्छन्, ‘अहिले परिवारको साथमा बस्दा स्वर्गमा बसेजस्तो लाग्छ ।’ आफूले कमाएको केही पैसामा ऋण थपेरै भए पनि आँटले व्यवसाय सुरु गरेको उनको भनाई छ ।
कोरोना संक्रमणको जोखिमका कारण गरिएको लकडाउनको बेलामा धेरै युवाहरू स्वदेश फर्किँदा कृषिमा लाग्छु भन्ने गरेको र स्थानीय तहहरूले पनि उनीहरूलाई कृषिमा लाग्न प्रेरणा दिने बताएको भएपनि दुवै पक्ष कृषिमा लागेको नदेख्दा सहानीको मन केही दुखेको छ । विदेशमा दुःख भोगेर आएका युवाहरूमा काम गर्ने जोस, जाँगर र सीप बढी हुने भएकोले स्थानीय सरकारहरूले उनीहरूलाई कृषिमा लाग्न प्रेरणा र सहयोग गरिदिनुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->