काठमाण्डौ, १३ असोज–देशभर कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै २५ हजार सक्रिय संक्रमित पुगेमा लकडाउन गर्नुपर्ने सिफारिस गरिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५ सय १३ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २० हजार नाघेको बताए । उनका अनुसार मंगलबारसम्ममा देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ रहेको छ । सरकारले पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९१ पिसिआर परीक्षण गर्दा संक्रमित पनि बढेका छन् । मंगलबार ५ सय ५६ महिला र ९ सय ९७ जना पुरुषमा संक्रमण देखिएको छ । उपत्यकामा आज ९ सय ३४ जनामा संक्रमण देखिएको छ । संक्रमितको संख्या ह्वात्तै बढिरहँदा डिस्चार्ज हुने क्रम पनि घटेको छ । एक महिनाअघि एकै दिन २१ सय जना डिस्चार्ज भएका थिए । तर मंगलबार ७ सय ३१ जना मात्रै कोरोनालाई जितेर घर फर्किएका छन् । साता अघिसम्म डिस्चार्ज हुनेको संख्या दैनिक हजारभन्दा माथि थियो ।





