स्याङ्जा, १४ असोज– वालिङ नगरपालिका वडा नं. ४ सुन्तलाबारी सामुदायीक होमस्टेको आईसोलेसनमा उपचाररत ४३ वर्षीय एक पुरुषको मृत्यु भएको छ । दुवै मृगौलाको बिरामी रहेका ती पुरुषको शवलाई मंगलबार परिवारको चाहना अनुसार व्यवस्थापन गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।
स्वास्थ्य उपचारको लागि भारत गएका उनी असोज ५ गते सुनौली नाकाहुँदै एम्बुलेन्समार्फत वालिङ आइपुगेका थिए । ५ गते नै स्वाब संकलन गरेर सुन्तलाबारीस्थित सामुदायीक होमस्टेको क्वारेन्टिनमा राखिएकोमा ७ गते कोरोना पुष्टि भएको थियो ।
वालिङ नगर स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेका अनुसार कोरोना संक्रमण देखिएका ति पुरुषको अवस्था निकै कमजोर देखेपछि क्वारेन्टिनलाई नै आईसोलेसन बनाएर उपचार गरिएको थियो । १२ गते फेरी दोस्रो पटक परिक्षणको लागि स्वाबको नमुना संकलन गरेपनि परिक्षणको नतिजा नआउदै सोही दिन राती मृत्यु भएको प्रमुख पाण्डेले बताए ।
मृतक पुरुषको मंगलबार नेगेटिभ रिपोर्ट आएपनि सुरक्षाका सबै मापदण्ड अपनाएर स्थानीय बासिन्दा प्रशासनलगायतको उपस्थितीमा आफ्नै जग्गामा शवको व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।





