बागलुङ, १९ असोज–गण्डकी प्रदेशमा सोमबार बिहान थप २७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितहरुको सङ्ख्या चार हजार २०२ पुगेको छ । स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परीक्षणमा २ जिल्लाका ती व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको जानकारी दिइएको छ । थपिएकाहरूमा कास्कीको पोखरा महानगरपालिका–१४ का तीन जना, वडा नं १७ का एक जना, वडा नं. १२ का एक जना, वडा नं. ३० का एक जना, वडा नं ३ का १० जना, वडा नं १३ का एक जना, वडा नं १९ का एक जना, वडा नं १० का दुई जना, वडा नं ७ का दुई जना, वडा नं ११ का दुई जना, वडा नं २२ का एक जना र वडा नं नखुलेकी एक महिला रहेकी छिन् । नवलपरासी बर्दघाट सुस्ता पूर्वका एक पुरुषमा पनि सङ्क्रमणको पुष्टि भएको छ । सङ्क्रमितमध्ये कास्कीको पोखरा महानगरपालिका–१४ का ५१ वर्षीय पुरुष फेवा सिटी अस्पतालमा उपचाररत छन् । सोही वडाका २२ वर्षीय पुरुष दुबईबाट र वडा नं १३ की ३६ वर्षीया महिला, वडा नं १९ का ५५ वर्षीय पुरुष र वडा नं १० का ६४ वर्षीय पुरुष भारतबाट आएका व्यक्तिहरू हुन् । वडा नं १२ का ३६ वर्षीय पुरुष पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पोखरामा कार्यरत चिकित्सक हुन् । अन्य सबै जना भने कन्ट्र्याक्ट ट्रेसिङको क्रममा फेला परेकाहरु रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।





