बागलुङ, १९ असोज– बाढी पहिरोले बस्ती बगाउने, सडक र खेतीपाती ध्वस्त हुने क्रम बढेपछि काठेखोला गाउँपालिका वडा नं. १ मा माटो परीक्षण थालिएको छ ।
वडा अध्यक्ष खड्ग थापाले व्यक्तिगत पहलमा त्रिभूवन विश्वविद्यालय विज्ञान तथा इन्जिनियरिङ संकायका विज्ञमार्फत भौगर्भिक तथा बाढी पहिरो र भूकम्पीय जोखिमबारे अध्ययन थालेका हुन् ।
विज्ञ सोमेन्द्र भण्डारीसहितको टोलीले पालाका सबै बस्ती, बस्ती बसाल्न सकिने ठाउँ, सडक खनिएको जमिन, आगामी दिनमा सडकलगायतका संरचना बनाउने स्थान, विद्यालय, सार्वजनिक भवन निर्माण गर्नेलगायतका स्थानको अध्ययन गर्नेछ । ‘ढोरपाटन, जैमिनीलगायतका स्थानमा बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको, सयौं घरहरु भत्केको घटनाबाट सिकेर माटो परीक्षण गरेर मात्र घर बस्ती बसाल्ने व्यवस्थापन गर्न लागेको थापाले जानकारी दिए ।
अध्ययनका लागि ठूलो खर्च आवस्यक नपर्ने भएकोले व्यक्तिगत चिनजानका आधारमा विज्ञ झिकाएर माटो परीक्षण थालिएको उनले बताए । ‘उहाँहरु मैले चिनेको भएकोले सहजै स्विकारेर आउनुभयो, परीक्षणपछि आउने सुझाव र प्रतिवेदनको आधारमा बस्ती विकाससहितका काम गर्ने योजना छ’ उनले भने, ‘व्यवस्थित बस्ती विकास र पूर्वाधार निर्माणमा यो अध्ययन फलदायी हुनेछ ।’ हाल खनिएका सडकको कारण पनि कतिपय स्थानमा पहिरो खस्ने जोखिम बढेपछि अध्ययनको निष्कर्षसहित काम अगाडि बढाउने उनले बताए ।
टोलीले वडाका जनप्रतिनिधि, उपभोक्ता समिति र सरोकारवालाबीच अन्तरक्रिया पनि गरेको थियो । बुधवार अन्तरक्रिया गरेपछि टोलीले अध्ययनको काम थालेको हो । भूकम्प, बाढी पहिरो, आँधीबेहरी, आगलागी, हिमपात र अत्याधिक वर्षात्को कारण हुने क्षतिबारे भण्डारीले प्रस्तुतीकरण पनि गरेका थिए ।
खानेपानीका ट्याङ्की कस्तो स्थानमा बनाउने, घर कुन क्षेत्रमा, विद्यालय र अन्य पूर्वाधार कसरी बनाउनेबारे उनीहरुले सुझाव दिनेछन् । ‘हामीले मध्यपहाडी लोकमार्गको अक्षेतेदेखि खहरेसम्मको विकल्प पनि दिने भनेका छौं, त्यसैले अध्ययनले उपयुक्त ठहर गरेपछि मात्रै काम गर्न सजिलो होला’ थापाले भने, ‘हाम्रा सडकले बस्ती र मानवीय क्षति नगरोस् ।’
काठेखोला गाउँपालिकाले कृषितर्फ मकैको पकेट, आलु र सुन्तलाको जोन बनाउने योजना अघि सारेको छ । उक्त योजना अनुसार विभिन्न स्थानमा भण्डारन केन्द्र बनिसकेका छन् । त्यसका लागि धेरै किसानले प्रारम्भिक काम थालिसकेका छन् । माटो परीक्षणले दिने सुझावको आधारमा कुन खेती कुन स्थानमा लगाउन सकिन्छ भन्ने पनि यकिन हुने शान्ति कृषि सहकारी संस्थाकी सचिव सीता थापा मगरले बताइन् ।
माटोको राम्रो अध्ययन नभएकोले सिंचाइका कुला र खानेपानीका ट्याङ्की बनाएर पनि चुहिने भएको स्थानीय शिक्षक गोरे बिकले बताए । ‘राम्रो अध्ययन नभएकोले कतिपय ट्यांकी भत्केका छन्, कतिपय चुहिएका छन्’ बिकले भने, ‘जथाभावी सडक पनि खन्न हुँदैन भनेर सुझाव दिनुपर्ने भएको छ ।’
अध्ययनका लागि आएको टोलीलाई स्थानीयले तरकारी खेती, धान मकैजस्ता अन्नबाली र नगदेबालीको पकेट बनाउन सकिने क्षेत्र पहिचान गरिदिन पनि आग्रह गरेको बताए । यो अध्ययनले सिंगो गाउँपालिका र जिल्लाभर सकारात्मक सन्देश जाने अध्यक्ष थापा जिकिर गर्छन् ।





