काठमाण्डौ, २३ असोज– बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म संक्रमितको कुल संख्या एक लाख ६७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । शुक्रबार देशभर १३ हजार ८७९ जनाको पिसिआर परीक्षण गरिएको छ ।
सैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ६८० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७३ हजार २३ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।





