बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विमायाको भाँचिएको खुट्टाको घरमै उपचार…

विमायाको भाँचिएको खुट्टाको घरमै उपचार…

महिनौँ अघि लडेर ढाड दुख्न थालेको बताउने उनले निशुल्क जाँच गराएर औषधी पाएपछि निको हुने आशा पलाएको सुनाए ।


  • बिनोद ढुंगाना
  • असोज २६ २०७७, सोमबार

तनहुँ, २६ असोज– स्याउलामाथि खिया लागेको जस्ताले छाएको छाप्रो । निहुरिएर पनि भित्र पस्नलाई बढो मुस्किल । छाप्रोभित्र बन्दीपुर गाउँपालिका–२ आरथुम्का (भुजेल गाउँ) की ५१ वर्षिय विमाया भुजेल लडिरहेकी हुन्छिन् ।
भदौ तेस्रो सातादेखी वामे सार्न सकेकी छैनन् उनले । पाँच वर्षअघि देब्रो खुट्टाको घुँडामाथि भाँचिएपछि उनले घस्रिएर पाईला चालेकी थिईन् । त्यहीं खुट्टाको घुँडामुनी फेरी अर्को ठाउँमा भाँचिएपछि उनी थला परिन् । उपचार गर्नुको सट्टा भाँचिएको खुट्टामा कपडाले कसिन् । जडिबुटीको लेदो धसेर बसिन् । उपचार गर्नलाई अस्पताल जान उनीसंग न पैसा थियो, न स्वास्थ्य सचेतना ।
दिउँसो उखरमउलो गर्मीमा पनि छाप्रोभित्र बसिरहेकी थिईन् उनी । लायन्स क्लब अफ पोखरा पिपल चौतारीका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठ, सचिव डा. विवेक पोखरेलको टोली घरमै पुगेर भाँचिएको खुट्टा प्लास्टर गरिदिए । दुखाई कम हुने औषधी दिए । महिना दिनपछि फेरी जाँच्न आउने वाचा गर्दै उनीहरु फर्किए ।
दोस्रो पटक खुट्टा भाँचिएको महिना दिनपिी घरमै उपचार पाउँदा उनको मन उखरमाउलो गर्मीमा पनि शितलो भयो । पिडा सहेर मुसुक्क मुस्कुराईन्, र भनिन्, ‘तपाईहरुलाई धेरै धन्यवाद ! मलाई खुशी लायो । तपाईहरु घरमै आएर मेरो उपचार गर्दिनुभयो ।’
पाँच वर्षअघि विमायाको खुट्टा पहिलोपटक भाँचिएको थियो । पोखराको मणिपाल अस्पतालसम्म पु¥याएर उपचार गराएको उनका श्रीमान सोमबहादुर बताउँछन् । महिनौसम्म लाखौँ रुपैयाँ खर्चदा पनि निको नभएको उनी सुनाउँछन् । ‘ठिक नभएपछि अपरेसन गरी खुट्टामा स्टिल राखी ल्याएको हो । हिँड्दा हिँड्डै स्टिल निस्कियो । आँपपिपल लगेर निकालेर ल्याको’, उनले बेलिविस्तार लाए । त्यपछि विमायाको खुट्टाले टेक्न भर पाएन । घस्रिएरै जिन्दगीको पाईला निरन्तर चलिरह्यो ।
तर, भदौ १९ गते फेरी अर्को ठाउँमा भाँचियो । उपचार गर्ने पैसा नभएर घरमै राखेको सोमबहादुर बताउँछन् । उनी भन्छन्, ‘आर्थिक अवस्था कमजोर छ । पहिल्यै त्यत्रो खर्च भईगयो । आम्दानी छैन् । छोरा पनि बेपत्ता छ । त्यै भएर अस्पताल लगिन् ।’
लायन्स क्लब अफ पोखरा पिपल चौतारीले आरथुम्कामा बृहत स्वास्थ्य शिविर चलाएर विमायासंगै घरमा थला परेका अन्य दुई जनाको पनि घरमै पुगेर परिक्षण गरिदिएको छ । पोखराबाट पुगेका तीन जना डाक्टर र दुई जना स्टाफ नर्सले स्वास्थ्य सेवा दिएका हुन् । उक्त शिविरमा ९६ जना लाभन्वित भए । ५० हजार बराबरको निशुल्क औषधी वितरण गरेको क्लबले जनाएको छ ।
६६ वर्षीय श्रीलाल भुजेलले शिविरमा गएर स्वास्थ्य परिक्षण गरे । महिनौँ अघि लडेर ढाड दुख्न थालेको बताउने उनले निशुल्क जाँच गराएर औषधी पाएपछि निको हुने आशा पलाएको सुनाए । ढाड दुख्न थालेपछि पनि किन अस्पताल नगएको भनी प्रश्न गर्दा उनको जवाफ थियो, ‘पैसा नि छैन । अस्पताल गएपछि मैसा माग्छन । त्यसैले गईन ।’
भुजेल समुदायमा अस्पतालको सेवा मंहगो हुने भान छ । गाउँपालिकाको मुकामबाट नजिकै रहेपनि भुजेल सुमदायमा अशिक्षित हुँदा स्वास्थ्य सेवाको पहुँचबाट टाढै छन् । स्थानीय स्वास्थ्यप्रति सचेत नहुँदा रोग पालेरै बस्ने गरेको क्लबका अध्यक्ष ढाकाकुमार श्रेष्ठले बताउँछन् । ‘वृद्धवृद्धा, महिला र केटाकेटी रोग पालेर बसेका छन्’, उनले भने । श्रेष्ठका अनुसार क्लबले आरथुम्कामा ‘हेल्थ क्लिनिक’ सञ्चालनमा ल्याउने तयारी छ ।
यसअघि असोज २ गते पिपल चौतारीको टोली पुगेर आरथुम्कामा खाद्यन्नका सामग्री वितरण गरेको थियो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले विमाया भुजेलको दयनिय अवस्थाको फोटो सामाजिक सञ्जालमा पोस्ट्याएपछि क्लबले त्यहाँ पुगेर सघाउन चासो देखाएको हो । गाउँमा पुगेपछि स्थानीयको अवस्था झनै दयनिय देख्दा क्लबले गाउँको मुहार फेर्ने अठोट गरेको थियो । ‘एकीकृत बस्ती बसाल्नेदेखी उत्पादनसंग जोड्ने योजनामा छौँ’, डा. श्रेष्ठ भन्छन्, ‘गरिबी र अशिक्षाले पिल्सिएको बस्तीमा क्रमिक परिर्वतन ल्याउनुछ ।’
यो बस्तीमा ३५ घर छन् । भुजेल समुदाय सिपले भने धनी छ । बाँसबाट बन्ने नाङलो, डोको, डालोजस्ता सामग्री बनाएर बजारमा बिक्री गर्छन् । तर, चेतनाको स्तर कम हुँदा आम्दानी मदिरापन र खानपानमै खर्चन्छन् । बचत गर्न सिकाउन लायन्सले सहकारीको अवधारणा पनि ल्याएको छ ।
गाँउभन्दा एक घण्टाको दुरीमा कुकुर्दीमा आधारभुत स्वास्थ्यचौकी छ । तर, भुजेल समुदायमा उपचार गराउन जाने प्रवृत्ति नरहेको वडाध्यक्ष कृष्णप्रसाद लामिछाने बताउँछन् । ‘स्वास्थ्यको ख्याल राख्दैनन् । सरसफाई र खानपानमा ध्यान दिनुस् भनेर सचेत गराउँछौ । व्यवहारमा लागु हुँदैन’, उनले भने । खानपानकै कारण बढी रोग देखिएको वडाध्यक्ष लामिछानेको भनाई छ ।
स्वास्थ्य सेवा सबैको पुहँचमा पु¥याउन गाउँपालिका प्रतिबद्ध रहेको अध्यक्ष पुर्णसिं थापा बताउँछन् । ‘सरकारलाई थाहा हुनुपर्छ को नागरिक बिरामी भएको छ । खुट्टा भाँचिएर थला परेको पालिकालाई थाहा भएको भए हामीले उपचार गरिदिन्थ्यौँ’, उनले भने । आरथुम्कामा जनचेतनाकै कमी भएको उनी सुनाउँछन् । जनचेतना जगाउने कार्यक्रमको नेतृत्व गर्नसक्ने गाउँमा सक्ने सक्षम नहुँदा गाउँपालिकाको प्रयासले सार्थकता नपाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->