तनहुँ, २६ असोज– स्याउलामाथि खिया लागेको जस्ताले छाएको छाप्रो । निहुरिएर पनि भित्र पस्नलाई बढो मुस्किल । छाप्रोभित्र बन्दीपुर गाउँपालिका–२ आरथुम्का (भुजेल गाउँ) की ५१ वर्षिय विमाया भुजेल लडिरहेकी हुन्छिन् ।
भदौ तेस्रो सातादेखी वामे सार्न सकेकी छैनन् उनले । पाँच वर्षअघि देब्रो खुट्टाको घुँडामाथि भाँचिएपछि उनले घस्रिएर पाईला चालेकी थिईन् । त्यहीं खुट्टाको घुँडामुनी फेरी अर्को ठाउँमा भाँचिएपछि उनी थला परिन् । उपचार गर्नुको सट्टा भाँचिएको खुट्टामा कपडाले कसिन् । जडिबुटीको लेदो धसेर बसिन् । उपचार गर्नलाई अस्पताल जान उनीसंग न पैसा थियो, न स्वास्थ्य सचेतना ।
दिउँसो उखरमउलो गर्मीमा पनि छाप्रोभित्र बसिरहेकी थिईन् उनी । लायन्स क्लब अफ पोखरा पिपल चौतारीका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठ, सचिव डा. विवेक पोखरेलको टोली घरमै पुगेर भाँचिएको खुट्टा प्लास्टर गरिदिए । दुखाई कम हुने औषधी दिए । महिना दिनपछि फेरी जाँच्न आउने वाचा गर्दै उनीहरु फर्किए ।
दोस्रो पटक खुट्टा भाँचिएको महिना दिनपिी घरमै उपचार पाउँदा उनको मन उखरमाउलो गर्मीमा पनि शितलो भयो । पिडा सहेर मुसुक्क मुस्कुराईन्, र भनिन्, ‘तपाईहरुलाई धेरै धन्यवाद ! मलाई खुशी लायो । तपाईहरु घरमै आएर मेरो उपचार गर्दिनुभयो ।’
पाँच वर्षअघि विमायाको खुट्टा पहिलोपटक भाँचिएको थियो । पोखराको मणिपाल अस्पतालसम्म पु¥याएर उपचार गराएको उनका श्रीमान सोमबहादुर बताउँछन् । महिनौसम्म लाखौँ रुपैयाँ खर्चदा पनि निको नभएको उनी सुनाउँछन् । ‘ठिक नभएपछि अपरेसन गरी खुट्टामा स्टिल राखी ल्याएको हो । हिँड्दा हिँड्डै स्टिल निस्कियो । आँपपिपल लगेर निकालेर ल्याको’, उनले बेलिविस्तार लाए । त्यपछि विमायाको खुट्टाले टेक्न भर पाएन । घस्रिएरै जिन्दगीको पाईला निरन्तर चलिरह्यो ।
तर, भदौ १९ गते फेरी अर्को ठाउँमा भाँचियो । उपचार गर्ने पैसा नभएर घरमै राखेको सोमबहादुर बताउँछन् । उनी भन्छन्, ‘आर्थिक अवस्था कमजोर छ । पहिल्यै त्यत्रो खर्च भईगयो । आम्दानी छैन् । छोरा पनि बेपत्ता छ । त्यै भएर अस्पताल लगिन् ।’
लायन्स क्लब अफ पोखरा पिपल चौतारीले आरथुम्कामा बृहत स्वास्थ्य शिविर चलाएर विमायासंगै घरमा थला परेका अन्य दुई जनाको पनि घरमै पुगेर परिक्षण गरिदिएको छ । पोखराबाट पुगेका तीन जना डाक्टर र दुई जना स्टाफ नर्सले स्वास्थ्य सेवा दिएका हुन् । उक्त शिविरमा ९६ जना लाभन्वित भए । ५० हजार बराबरको निशुल्क औषधी वितरण गरेको क्लबले जनाएको छ ।
६६ वर्षीय श्रीलाल भुजेलले शिविरमा गएर स्वास्थ्य परिक्षण गरे । महिनौँ अघि लडेर ढाड दुख्न थालेको बताउने उनले निशुल्क जाँच गराएर औषधी पाएपछि निको हुने आशा पलाएको सुनाए । ढाड दुख्न थालेपछि पनि किन अस्पताल नगएको भनी प्रश्न गर्दा उनको जवाफ थियो, ‘पैसा नि छैन । अस्पताल गएपछि मैसा माग्छन । त्यसैले गईन ।’
भुजेल समुदायमा अस्पतालको सेवा मंहगो हुने भान छ । गाउँपालिकाको मुकामबाट नजिकै रहेपनि भुजेल सुमदायमा अशिक्षित हुँदा स्वास्थ्य सेवाको पहुँचबाट टाढै छन् । स्थानीय स्वास्थ्यप्रति सचेत नहुँदा रोग पालेरै बस्ने गरेको क्लबका अध्यक्ष ढाकाकुमार श्रेष्ठले बताउँछन् । ‘वृद्धवृद्धा, महिला र केटाकेटी रोग पालेर बसेका छन्’, उनले भने । श्रेष्ठका अनुसार क्लबले आरथुम्कामा ‘हेल्थ क्लिनिक’ सञ्चालनमा ल्याउने तयारी छ ।
यसअघि असोज २ गते पिपल चौतारीको टोली पुगेर आरथुम्कामा खाद्यन्नका सामग्री वितरण गरेको थियो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले विमाया भुजेलको दयनिय अवस्थाको फोटो सामाजिक सञ्जालमा पोस्ट्याएपछि क्लबले त्यहाँ पुगेर सघाउन चासो देखाएको हो । गाउँमा पुगेपछि स्थानीयको अवस्था झनै दयनिय देख्दा क्लबले गाउँको मुहार फेर्ने अठोट गरेको थियो । ‘एकीकृत बस्ती बसाल्नेदेखी उत्पादनसंग जोड्ने योजनामा छौँ’, डा. श्रेष्ठ भन्छन्, ‘गरिबी र अशिक्षाले पिल्सिएको बस्तीमा क्रमिक परिर्वतन ल्याउनुछ ।’
यो बस्तीमा ३५ घर छन् । भुजेल समुदाय सिपले भने धनी छ । बाँसबाट बन्ने नाङलो, डोको, डालोजस्ता सामग्री बनाएर बजारमा बिक्री गर्छन् । तर, चेतनाको स्तर कम हुँदा आम्दानी मदिरापन र खानपानमै खर्चन्छन् । बचत गर्न सिकाउन लायन्सले सहकारीको अवधारणा पनि ल्याएको छ ।
गाँउभन्दा एक घण्टाको दुरीमा कुकुर्दीमा आधारभुत स्वास्थ्यचौकी छ । तर, भुजेल समुदायमा उपचार गराउन जाने प्रवृत्ति नरहेको वडाध्यक्ष कृष्णप्रसाद लामिछाने बताउँछन् । ‘स्वास्थ्यको ख्याल राख्दैनन् । सरसफाई र खानपानमा ध्यान दिनुस् भनेर सचेत गराउँछौ । व्यवहारमा लागु हुँदैन’, उनले भने । खानपानकै कारण बढी रोग देखिएको वडाध्यक्ष लामिछानेको भनाई छ ।
स्वास्थ्य सेवा सबैको पुहँचमा पु¥याउन गाउँपालिका प्रतिबद्ध रहेको अध्यक्ष पुर्णसिं थापा बताउँछन् । ‘सरकारलाई थाहा हुनुपर्छ को नागरिक बिरामी भएको छ । खुट्टा भाँचिएर थला परेको पालिकालाई थाहा भएको भए हामीले उपचार गरिदिन्थ्यौँ’, उनले भने । आरथुम्कामा जनचेतनाकै कमी भएको उनी सुनाउँछन् । जनचेतना जगाउने कार्यक्रमको नेतृत्व गर्नसक्ने गाउँमा सक्ने सक्षम नहुँदा गाउँपालिकाको प्रयासले सार्थकता नपाएको उनको भनाई छ ।





