
पोखरा, ३० असोज-कुनैबेला साँझ पर्नासाथ पोखराका दोहोरी साँझहरुमा चहकिलो बत्ती बल्थे । सुर र ताल मिलाउँदै गर्दाको हार्मोनियमको सारेगम… र मादलको गिन्ताङसँगै साहुजीहरु धूपधुँवारतिर लाग्थे । कलाकारहरु झम्के साँझमै ‘मंगल चरण’ वा राष्ट्रिय गीत गाउँथे । सजिसजाउ वेटरहरु ग्राहकको पर्खाइमा हुन्थे । तर, कुदिन लागेपछि कसको के लाग्छ ? पोखरामा यस्तो दृष्य नदेखिएको महिनौं भइसक्यो । कोरोना कहरसँगै चैत ११ गते लकडाउन लागेयता दोहोरी खुलेका छैनन् । अहिले दोहोरीका सोफाहरुमा ढुसी लागेको छ । घरभाडा तिर्न नसकेर संचालकहरु हायलकायल भएका छन् । कलाकार र त्यहाँ आश्रित अन्य कामदार ? उनीहरुबारे भने कमैले चासो राखेका छन् ।
दोहोरी साँझहरु कलकारको बाँच्ने आधार थियो । उनीहरु साँझमा ग्राहकका फर्माइसका गीत गाउँथे । ग्राहकसँगै नाचिदिन्थे । गीतमा झुमेका ग्राहकले गीतसँगै खाइपिइको बिल तिर्थे । त्यसैबाट साहुजीहरु कलाकार र कामदारलाई तलब दिन्थे । तलब खासै धेरै नभए पनि नियमित आम्दानी, ग्राहकबाट पाइने ‘बक्सिस’ले उनीहरुको जीवन चलेकै थियो । कास्कीमा संचालनमा रहेका २४ वटा दोहोरी रेष्टुरेण्टमा कलाकार र अन्य कामदारसहित करिब १ हजार ५० जना दोहोरी साँझमा काम गर्थे । बालबच्चा र आश्रित परिवार पाल्ने आधार धेरैजसोको दोहोरी नै थियो ।
एकाएक आएको कोरोना आँधीले सब चौपट बनाइदियो । दोहोरी साँझ एकाएक बन्द भए । संचालकहरु तालाचाबी ठोकेर आफ्नो सुरक्षामा लागे । कलाकार र कामदारमध्ये केहीले फागुनको तलब भेटे, साहुजी सम्पर्कमा नआएपछि केहीले त्यही पनि पाएनन् । आफूसँग भएको पैसाले केही दिन त चल्यो । पैसा सकिएपछि सरसापट मागेर पनि चलाए । घरभाडा, खानाको समस्या पर्न सुरु भएपछि केही कलाकार र त्यहाँका कामदार गाउँतिर लागे । केही चाहिँ दोहोरी खुल्ला कि भन्ने आशाले पोखरामै बसिरहे । लकडाउनको सुरुमा सरकारी निकायहरुले राहतको प्याकेज बाँडे । कलाकारलाई राहत लिन पनि गाह्रो ।
‘कोठमा खानेकुरा थिएन तर सबैले मानेको कलाकार भएकोले कसरी राहतको लाइनमा बसौं भन्ने भयो’, एक दोहोरी गायकले भने,‘ हामीले त जसोतसो चलायौं, विचरा वेटरहरुको चाहिँ बेहालै भयो ।’ पछि सांगीतिक कलाकार संघ, लोकदोहोरी व्यवसायी संघ कास्कीले कलाकार र आश्रित कामदारको लागि राहतको प्याकेज बाँडेपछि केही सहज भयो । तर, सधैंको राहत कहाँबाट पाउनु ? कलाकार र कामदार निराधार बने । आर्थिक समस्याकै कारण लकडाउनकै बीचमा पोखरामै दोहोरीमा काम गर्ने २ जना कामदारले आत्महत्या गरे । उनीहरुले आत्महत्या गर्नुको कारण अरु केही नभएर भोक नै रहेको दोहारी साँझ व्यवसायीले नै स्वीकारेका छन् । व्यवसायीहरुका अनुसार कास्कीको एक दोहोरीमा काम गर्ने सुनिता नेपालीले गएको असारमा आत्माहत्या गरिन् । उनको मृत्युको कारण दैनिक आयस्रोत नहुँदा खानसमेत मुस्किल परेकाले उनले आत्महत्या गरेको सहकर्मीहरु दावी गर्छन् । अर्की कामदार सुशीला परियारको आत्महत्या पनि आर्थिक अभाव रहेको उनीहरुकै जिकिर छ । दोहोरी व्यवसायीहरु यो सत्यलाई अस्वीकार गर्दैनन् ।
‘हो दोहोरी संचालनमा नआउँदा धेरै कलाकार र कामदारलाई समस्या परेको छ’, दोहोरी व्यवसायी संघ कास्कीका अध्यक्ष जीवन गुरुङले भने,‘हामीले लकडाउनको बेला सक्दो सहयोग ग¥यौं, व्यवसायी नै मारमा परेको यो बेला कलाकारलाई मानशिक प्रताडना भएन र त्यही कारणले ज्यान फालेका हैनन् भन्न सकिन्नँ ।’ सरकारले लकडाउनका कारण सैलुन , ब्यायामशाला , फुटसल लगायतका स्थानहरु बन्द गर्न आग्रह गरेता पनि सो स्थानहरु पुर्ण रुपमा बन्द भएनन् । तर, दोहोरी तथा रात्रीकालीन व्यवसायलाई कडाई गरियो । रात्रीकालीन व्यवसाय बन्द हुँदा संचालक,कलाकार र कामदारलाई ठूलो मर्का परेको गुनासो दोहोरी व्यवसायीले स्थानीय प्रशासनसम्म पनि पु¥यायो । संघका अध्यक्ष जीवनका अनुसार उनीहरुले जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनप बुझाउँदै दोहोरी व्यवसाय संचालनमा ल्याउन सहयोग गरिदिन आग्रह पनि गरे । ‘जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडललाई ज्ञापनपत्र बुझाउँदै हामीले व्यवसाय बन्द भए हामी पनि विस्थापित हुने तथा सो स्थानमा काम गर्ने हजारौको रोजीरोटी गुम्ने कुरा भनेका हौं’, ज्ञापनपत्र बुझाउँदाको क्षण सम्झिँदै अध्यक्ष गुरुङले भने, ‘अहिले पनि सरकार दोहोरी साँझबारे बोलेको छैन, हामी भने दोहोरी खुलाउने पक्षमा छौं तर कसरी खुलाउने भन्नेबारे छलफल भइरहेको छ ।’ काठमाडौंमा दोहोरी साँझ खुलेका छन् । काठमाडौं खुलेपछि पोखरा पनि खुल्नुपर्ने उनको तर्क छ । काठमाडौंमा दोहोरी प्रशासनले खोल्ने अनुमति दिएको पनि छैन तर खुलेका दोहोरीलाई बन्द गरेको पनि छैन । त्यही नजिरलाई आधार मानेर पोखरामा दोहोरी खुलाउने कि भन्नेबारे सोचिए पनि दशैं नजिकिँदा तयारी नपुग्ने ठानेर निर्णय भने गरिएको छैन ।
उनले दोहोरी क्षेत्रमा करोडौंको लगानी र यही क्षेत्रमा हजारौं आश्रित भएको बताउँदै अन्य रेष्टुरेण्ट खुल्ला हुँदा स्वास्थ्य सुरक्षासहित दोहोरी खुलाउँदा केही नबिग्रने तर्क गरे । अध्यक्ष गुरुङले यसो भने पनि व्यवसायीहरु भने दशैंअघि दोहोरी साँझ खोल्ने पक्षमा छैनन् । यो कुरा अध्यक्ष जीवन पनि स्वीकार्छन् । ‘एक त कलाकार र कामदार कता छन्, सबै संचालकलाई थाहा छैन, दोस्रो घरभाडा नबुझाएको कति भयो, खोल्नासाथ त्यो पनि तिनुपर्ने होला, अर्को कामदारलाई दशैं खालीहात पठाउने कुरा पनि भएन’, उनले कुरा नचपाई भने,‘ रेण्टुरेण्ट मर्मत, सामान थप्नुपर्नेलगायतका समस्या पनि छँदैछन्, अर्कोतर्फ अहिले पनि कोरोना संक्रमण उस्तै रहेकाले यत्रो महिना त बन्द गरियो, दर्शैं मनाएर खोलौं भन्ने कुरा भएको छ । ’
राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले पनि दोहोरी बन्द हुँदा आर्थिक अवस्था डाँवाडोल भएको बताए । ‘नाम चलेका कलाकारलाई कति गाह्रो भने, राहत लिन पनि नमिल्ने, धेरैजसो घर जानुभएको छ’, कामदार त बरु अरु काम गरेर खालान् तर कलाकारको अर्को सीप हुँदैन, माग्न पनि नमिल्ने हुँदाको अवस्था कस्तो हुन्छ ?’, उनले उल्छै प्रश्न गरे अनि भने,‘हामीले सक्दो सहयोग ग¥यौं तर प्रतिष्ठान पनि पैसा भएको संस्था परेन ।’ उनले दोहोरी खुले कलाकारको अवस्था सामान्यतर्फ आउने आशा भने व्यक्त गरे ।





