
पछिल्लो सात महिनादेखी बन्द भएकोे वैदेशिक रोजगारको लागि प्रदान गरिने श्रम स्वीकृतीको कार्यालय खुलेको थियो । श्रम स्वीकृती बनाई उडिहाल्ने, नेपाल धेरै बस्नु नपर्ने भन्ने खबरले म निकै खुसी थिए । नहुनु पनि कसरी ! श्रम बनाएर दुईचार दिनमा उडिहाल्ने भन्ने दिन श्रम कार्यालय बन्द भएकोे ७ महिना बितिसकेको थियो । नेपाली हरेक घरपरिवारको कथा, रहर नभएर बाध्यता हो वैदेशिक रोजगारीमा लाग्नु । उस्तै कथा अनि बाध्यता थिए मेरा पनि आफ्नै । खबर पाउनासाथ पोखराबाट बस चढेर म काठमाण्डुतर्फ लागे । सावधानी अनुसार प्रत्येक सिटमा एक÷एक यात्रु राखिएको थियो । तनहुँको गगनगौंडा पुगिसक्दासम्म पनि मेरो आँसु थामिएका थिएनन् । सावधानीको लागि हरेक यात्रुले हातमा सर्जिकल पञ्जा, नाक र मुख राम्ररी छोपिने गरी मास्कको प्रयोग गरेका थिए । नत ति हातका पञ्जाले सजिलै आँसु पुछ्न सक्थे, न मास्कले सजिल्यै स्वासप्रस्वास गर्न मिल्ने, निकालेर फाल्न पनि सकिदैन्थ्यो । कोभिड–१९ को महामारीले देशमात्र नभएर सारा विश्व नै त्रसित छ । आँशु बगेर तल चेपुमा जम्मा भएर मास्क भित्रबाट चिसो हुन्थ्यो ।
‘आफ्नो हातले आफ्नै आँसु पुछ्न पनि मुस्किल, खुलेर सास फेर्न पनि डर ! हरे कस्तो विडम्बना’ म दिक्क हुन्थे ।
६÷७ घण्टाको यात्रापश्चात म काठमाण्डौं पुगे । त्यहाँ कहिकतै सुनसान थिएन, मानिसहरू आफ्नो दैनिकीमा फर्किसकेका थिए । घाम, धुलो केही नभनी मानिसहरू बाटोमै चुरोट, सुर्ती, पानी, मास्क किनबेच गरिरहेका थिए । ‘दिनभरी घाम, धुलोमा दैनिकी गुजारा चलाउन स–साना सामान बेचिरहेका उनीहरू कत्तिको सुरक्षित होलान् ? रोगको भन्दा पनि भोकको पिर कठै हामी नेपाली’ मनमा कुरा खेलिरह्यो ।
जे जति सुरक्षा अपनाए पनि संक्रमण हुनेको संख्या दिनानुदिन बढ्दो थियो । संक्रमणको संख्यासँगै बलात्कार, निर्मम हत्या, आत्महत्या, हस्पिटलतिर कोरोना संक्रमितको मृत्यु जस्तो खबर बढिरहेको थियो । यस्ता अपराधविरुद्ध कति आवाज उठाउँदै कति सडकमै उत्रे । एउटा घटनाविरुद्व आवाज उठाउन नपाउँदै अर्को घटना घटिसकेको हुन्थ्यो । घटना घटिरहने आवाज उठिरहने क्रम अझै जारी नै छ ।
श्रम स्वीकृति तँ पाए, टिकट भने हप्ता दश दिनपछिको । त्यो पनि टिकट महँगो भएर हजारौं रुपैयाँ आफै व्यहोर्ने शर्तमा । दश दिनसम्म के गर्ने ? घर फर्किउ यताउता यात्रा गर्दा संक्रमण भैलिएला भन्ने डर, अर्को लकडाउनले चारैतिर महंगी ! अन्ततः म पोखरा फर्किए । फर्किने क्रममा बसमा विभिन्न देशबाट फर्किनुभएको दाजुभाइहरु हुनुहुन्थ्यो । महामारीले आफुले भोग्नु परेको दुःख, कति जना पैसा नभएर घर फर्कन नपाएको, कति भोकै भएको, आफूहरूप्रति सरकारले केही पहल नगरेको भन्दै दुखेसो र रिस प्रकट गर्दै हुनुहुन्थ्यो । त्यो सुनेर मेरो मन खिन्न भो !
पोखरा आएको केही दिनपछि मलाई सामान्य ज्वरो र नाक बन्द हुने समस्या भयो । सामान्य भएकाले मेडिकल गए, चेकजाँच नगरी लक्षणको भरमा दुई थरिको औषधि दिए । औषधीले ज्वरो निको भएपनि नाक बन्द हुन भने छाडेन । उताबाट फ्लाइट फिक्स भएकोे र ७२ घण्टा अगावै कोरोना संक्रमण भए–नभएको परीक्षण गर्नुपर्ने भन्ने खवर पाएपछि म फेरी काठमाण्डौ हानिए । परिक्षणको लागि हामीलाई ह्याम्स हस्पिटल पठाइयो । त्यहाँ म जस्तै वैदेशिक यात्रामा जानेहरु कोरोना परिक्षण गर्न आएका थिए । तीमध्ये कोही संक्रमण भए एकअर्कालाई नसर्ला भन्न सकिन्नथ्यो, भीडभाड निकै थियो । स्वाब संकलन गरिएको ३० घण्टापश्चात मोबाइलमा म्यासेज प्राप्त भएमात्र रिपोर्ट लिन आउनु भन्ने सन्देश पाएपछि हामी आ–आफ्नो होटेल फर्कियौ । रिपोर्ट के आउँछ भन्ने कौतुहलता थियो मनमा । कैयौं जना म जस्तै बिरामी रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने रहेको, मौसम पनि परिवर्तन हुन लागेर हो नाअत्तिनु भनेपछि मन अलि ढुक्क भो । भोलिपल्ट ४ बजेसम्म पनि मेरो मोबाइलमा कुनै म्यासेज आएन । म्यानपावरबाट फोन गरेर बोलाए म उतै गए । टिकट, बाँकी डकुमेन्ट सबै लिएर थप्नु पर्ने पैसा दिएर हामी फर्कियौ । हामी ९ जनामध्ये ७ जनाको मोवाइलमा म्यासेज आएको र म लगायत २ जनाको भने म्यासेज नै आएन । सबै जना हस्पिटल गयौ । एकैछिनमा सबैको रिपोर्ट आउने भनेपछि हामी कुरेर बस्यौ । केही समयपश्चात हामी तीन जनामध्ये एक जनाको नाम आयो ।
‘मेरो पोजेटिभ आयो’ मलिन स्वरमा उ निराश भयो ।
त्यसपछि मनमा ढ्याङग्रो बज्न थाल्यो जोडजोडले, मनमा कता–कता चिसो पस्न थाल्यो । केही समयपछि मेरो नाम आयो । सकेसम्म याद भएजति भगवानलाई पूकारे, त्यत्ति धेरै आत्तिएर भगवानलाई सायदै पहिलोपल्ट पुकारे हुम्ला । आत्तिदै डराउदै गए ।
‘अलि पर बस, तिम्रो पोजेटिभ आएको छ, अर्को रिपोर्ट लिन भोली अरुलाई पठाउनु तिमी नआउनु’ यत्ति भनेर सेतो पेपर मेरो हातमा परबाट थमाईयो ।
आफैलाई चिमोटे चसक्क दुख्यो अनि म स्तब्ध भए ।
‘जाउ यहाँ नबस’ गार्डको बोलीले म झसङ भए !
एकैचोटी शरीर तातेर एकाएक हनहनी ज्वरो आएजस्तो भो । पुरै शरीर लगलग कापिरहेको थियो ।
‘के आयो तिम्रो ?’ सबै जना मलाई हेर्दै थिए ।
‘पो…पो…पोजेटिभ’ बल्लतल्ल वाक्यसँगै आँसु पनि झरे ।
अघिसम्म सँगै बसेका साथीहरू म भएको ठाउँबाट सवै जना पर सरेपछि म एक्ली भए ।
मानिसको त्यो भीडमा म एक्लो भए, चारैतिर सन्नाटा छायो ! एकछिनमा त्यहाँ एम्बुलेन्स आयो, म झन् आत्तिए ।
‘पक्कै मलाई लिन आएको हुनुपर्छ, लौ मलाई कता लाने हुन् ? मेरो पनि उस्तै शंकास्पद मृत्यु हुनेछ ? उफ… मनमा अनौठा प्रश्नहरुको आँधीबेरी चल्न थाल्यो !
मेरो भ्रम एकैछिनमा तोडियो, एम्बुलेन्समा एकजना वृद्ध आमालाई अक्सिजन लगाएको, घर तीनचार जना पिपिई लगाएका डाक्टरहरुले भित्र लग्दै थिए । हेर्दाहेर्दै उक्त वृद्ध आमाको ठाउँमा आफैलाई देखेँ, श्वास अटसमटस भो, म झन् अत्तिए !
घरमा फोन लगाए– ‘मलाई कोरोना लाग्यो’ सम्हल्दा सम्हाल्दै रुन पुगेछु !
‘केही छैन सन्चो हुन्छ, आत्तिनु हुँदैन है, बहादुर छोरी मान्छे पो तिमी, रुने आत्तिने हैन, केही नसोच आफ्नो ख्याल राख’ भन्दै मलाई हौशला दिदै थिए । म भाव्हिल भए । त्यतिखेरै घर जाउ जस्तो लाग्यो अफसोच कहाँ जान सकिन्थ्यो र !




