स्याङ्जा, २ कार्तिक– स्याङ्जाको बिरुवा गाउँपालिका स्याबजामा मुख्य प्रशासकीय भवनको शिलान्यास भएको छ । गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले शनिबार भवनको शिलान्यास गरे । बिरुवा गाउँपालिकामा हालसम्म अस्थायी प्रशासकीय भवनबाट सेवा सञ्चालन भइरहेको थियो । जिल्लाको उत्तरपूर्वमा रहेको यस गाउँपालिकामा आधुनिक प्रशासकीय भवनको निर्माणसँगै सेवा प्रवाहमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ ।
गाउँपालिकाको प्रशासकीय भवन निर्माणको ठेक्का गत आर्थिक वर्षमा सम्पन्न भएको हो । सम्झौताअनुसार श्री गीता एंड क्रियटिभ जेभीले उक्त भवन निर्माण गर्नेछ । २०७७ असारमा भएको सम्झौताअनुसार १४ महिनाभित्र उक्त भवनको निर्माण कार्य सम्पन्न हुनेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीका अनुसार ७ करोड ५९लाख ७६ हजार रुपैयाँको कुल लागतमा प्रशासकीय भवन बन्न लागेको हो ।
भवन निर्माणकोलागि गत आर्थिक वर्षमा संघीय सरकारबाट रु. २० लाख र प्रदेश सरकारबाट रू. ५० लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो । यसैगरि यस आर्थिक वर्षमा गाउँपालिकाले दुई करोड रुपैयाँ समेत विनियोजन गरेको छ । प्रशासकीय अधिकृत सुवेदीले गाउँपालिकाको आफ्नै सुविधा सम्पन्न भवन निर्माणसँगै सेवा प्रवाह थप चुस्त तथा दुरुस्त हुने आशा गरिएको बताए । गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले साविकको कृषि विकास कार्यालयद्वारा गाउँपालिकामा हस्तान्तरण भएको १४ रोपनी जग्गामा गुरुयोजना बनाई प्रशासकीय भवन निर्माणको सुरुवात भएको जानकारी दिए ।
भवन निर्माण भएसँगै आउने कार्यकालका जनप्रतिनिधिलाई विकास निर्माण कार्यमा मात्र केन्द्रीकृत भई काम गर्न सहज हुने गाउँपालिकामा प्रवक्ता एवं वडा नम्बर ८ का वडाध्यक्ष प्रकाश थापाले बताए । कार्यक्रममा नेपाली कांग्रेसका गाउँ सभापति युवराज केसीले तोकिएको समयभित्रै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिए। यसैगरी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नारायण थापाले नयाँ भवनको निर्माणसँगै सेवा प्रवाहमा प्रभावकारिता आउने अपेक्षा गरे । सम्झौता अनुसार काम भएमा २०७८ असोज मसान्तभित्रमा निर्माण सम्पन्न हुनेछ ।





