
पोखरा, ७ कात्तिक– इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बुधबार राती भएको खेलमा बैंगलोरले निकै घातक बलिङ गरेको छ । कोलकता नाइट राइडर्स र रोयल्स च्यालेन्जर्स बैंगलोरबीच भएको खेलमा बैंगलोरका बलरले घातक बलिङ गर्दा कोलकोताको इतिहासकै खराब दिन रहन पुग्यो ।
बैंगलोरको बलमा कोलकताले गतिलो रन जोड्न सकेन । निर्धारित २० ओभरको खेलमा कोलकताले ८ विकेटको क्षतिमा ८४ रन बनाउन सफल भयो । जितसंगै बैंगलोर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । जितका लागि ८५ रनको अति सामान्य लक्ष्य पछ्याएको बेंगलोरले १३.३ ओभरमा २ विकेट गुमाउँदै सहजै पूरा गर्यो ।
बेंगलोरको जितमा कप्तान विराट कोहली १८ र गुरक्रित सिंहमान २१ रनमा नटआउट रहे । गुरक्रितले २६ बलमा ४ चौका र कोहलीले १७ बलमा २ चौका प्रहार गरे । ओपनर देवदत्त पाडिक्कल र आरोन फिन्चले ६.२ ओभरमा ४६ रनको साझेदारी गरेका थिए । लोकी फर्गुसनले विकेटकिपर दिनेश कार्तिकबाट फिन्चलाई १६ रनमा क्याच आउट गराए । फिन्चले २१ बलमा २ चौका प्रहार गरे । दुई बलपछि पाडिक्कल २५ रनमा रन आउट हुन पुगे । पाडिक्कले १७ बलमा ३ चौका प्रहार गरे । कोलकाता लोकी फर्गुसनले एक विकेट लिए ।
शेख जायद क्रिकेट रंगशाला आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताको लागि कप्तान ओइन मोर्गनले ३० रन बाहेक अन्य ब्याट्सम्यानले गतिलो पारी खेल्न सकेनन् । उनले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
कोलकाताले सुरुवातदेखिनै खराब प्रर्दशन गरेको थियो । तीव्र गतिका बलर मोहम्मद शिराजले दोस्रो ओभरको तेस्रो बलमा विकेटकिपर एबी डि भिलियर्सबाट ओपनर राहुल त्रिपाठीलाई एक रनमा क्याच आउट गराउँदै पेभिलियन फर्काए । लगत्तै अर्को बलमा नितेश राणा शून्यमा बोल्ड आउट हुन पुगे ।
नवदीप सैनीको तेस्रो ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा सुभमन गिल टप एज लागेर मिडविकेटमा एक रनमा क्रिस मोरिसबाट क्याच आउट भए । कोलकताले ३ रनमै ३ विकेट गुमाउन पुगेको थियो । सस्तैमा तीन विकेट गुमाएको कोलकाता मध्यक्रमका ब्याट्सम्यान पनि धेरै समय मैदानमा बिताउन सकेनन् । शिराजको नै चौथो ओभरको तेस्रो बलमा टम ब्यान्टन एज लाग्दै डि भिलियर्सबाट १० रनमा क्याच आउट भए । ब्यान्टनले ८ बलमा १ चौका र १ छक्का प्रहार गरे । शिराजले दुबै ओभर विकेट मेडन राखेका थिए । जुन आइपिएल इतिहासमा एकै खेलमा दुई मेडन राख्ने शिराज पहिलो बलर बनेका छन् ।
नवौं ओभरको चौथो बलमा युजभेन्द्र चहलले दिनेश कार्तिकलाई चार रनमा एलबीडब्लू आउट गरे । सुरुवातमा चहलको आग्रहलाई एम्पायरले नमाने पनि कप्तान विराट कोहलीले रिभ्यु लिदै कार्तिकलाई पेभेलियन फर्काए । कार्तिकले १४ बलको सामना गरेका थिए । १३ औं ओभरको तेस्रो बलमा चहलले प्याट कमिन्सलाई ४ रनमा देबदत्त पडिक्कलबाट क्याच आउट गराए । कमिन्सले १७ बल खेलेका थिए । स्पिनर वासिन्टन सुन्दरको १६ औं ओभरको चौथो बलमा ठूलो सट खेल्ने धुनमा मोर्गन गुरक्रित मानसिंहबाट क्याच आउट भए । लोकी फर्गुसन १६ बलमा १ चौकासहित १९ रनमा नटआउट रहे । कुलदीप यादव १२ रनमा रन आउट भएका थिए ।
बंैगलोरका मोहम्मद शिराजले ४ ओभरमा २ मेडनसहित ८ रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । वासिन्टन सुन्दरले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर १ विकेट लिए । नवदीप सैनीले एक विकेट लिए ।





