सांस्कृतिक र सामाजिक महत्व बोकेको दशैं विशेष त यो खानपिनको पर्व पनि हो । मासुजन्य खानाको आपुर्तीको लागि टाढा–टाढाबाट खसी, बोका, च्याङ्ग्रा, भेँडा, राँगा, भैसी र कुखुरा आदी लामो समय लगाएर ढुवानी गर्छन् । आफन्तजन र साथीहरू सँगको दुर्लभ भेटघाटको अवसरमा खाइने मीठो–मीठो खान्कीमा मासु मुख्य मानिन्छ । ‘मासुबिनाको दशैं के दशैं’ भन्नेहरू पनि थुप्रै भेटिन्छन् । तर, मासुका साथै पर्वका बेला खाइने चिल्ला, मसालेदार खानेकुरा, मिठाई, मद्यपान र धूम्रपान नसर्ने रोगको ढोका कारक बन्छ । अस्पतालमा पनि चाडपर्वकै बेला बिरामीको संख्या बढ्छ । चाडबाडको अनियन्त्रित खानपानले खासगरी मुटु, कलेजो, मिर्गाैला, फोक्सोमा समस्या देखिनुका साथै मनोरोग पनि लाग्नसक्ने सम्भावना रहन्छ ।
अधिक बोसोयुक्त मासु, मद्यपान र धूम्रपान गर्नु अल्पकालीन तथा दीर्घकालीन मुटु रोगलाई निम्तो दिनु हो । मुटुमा असर बढ्दै जाँदा यसको असर शरीरका अन्य भागमा पनि देखिन्छ । दशैं तिहारपछि धेरैको शरीरमा ट्राइल्गिसराइड र युरिक एसिडको मात्रा ३० देखि ४० प्रतिशत बढ्ने गरेको पाइन्छ । दशैँको बेला अत्याधिक सेवन गरिने मद्यपानले मुटुको चाल अनियमित गराउँछ । चाडबाडका बेला मात्र मद्यपान गर्नेलाई अल्पकालीन र अरू बेला पनि गर्नेलाई दीर्घकालीन स्वास्थ्य समस्या देखा पर्छ । मुटुको चाल गडबडी हुँदा मुटुभित्र रगत जमेर मस्तिष्कघातसमेत हुनसक्छ ।
मद्यपानले खानेनली र पेटबीचको जङ्सन च्यातिन्छ, कलेजो, आमासय, फियो र मृगौला पनि गहिरो नकारात्मक असर पर्छ । त्यसको असर प्रत्यक्ष रूपमा मस्तिष्कमा पर्छ । मध्यपानसंगै बासी र बढी बोसोयुक्त मासु शरीरले पचाउन नसक्दा असर मिर्गौलामा पर्छ । मिर्गौला कमजोर बनाउँछ, फलस्वरुप पाचन क्षमता घट्छ । मिठाईका अप्राकृतिक रंग र फ्रूट जुसमा प्रयोग गरिने रसायनले ग्याष्ट्राईटिस, झाडापखाला, बान्ता र कलेजोमा एलर्जी हुन सक्छ । चाडपर्व केन्द्रित खानपानले कलेजो रोगी र मिर्गौलाका बिरामी बढाउँछ । रक्सी सेवनले शरीरमा सुगरको मात्रा घटेर बेहोश अवस्थामा आउनेहरू पनि नभएका होइनन् । ग्याष्ट्राईटिस हुनेहरूलाई त झनै समस्या हुन्छ । मद्यपानका कारण बिरामीमा दिसा र वान्ताबाट रगत जाने समस्या पनि देखिन सक्छ ।
मधुमेहका बिमारीले गुलियो र चिल्लो बार्नुपर्छ । दशैं–तिहारका खानेकुरामा यिनैको मात्रा बढी हुन्छ । यस्तो बेला मधुमेहका बिरामीले विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ । बोसो धेरै भएको खानाले शरीरको तौल बढाउँछ । सेलरोटी, फिनीरोटी, कुराउनी, अनरसा आदिमा चामल, मैदा, घिउ, तेल र चिनीको मात्रा बढी हुन्छ । तारेका तथा बोसोजन्य खाना हत्तपत्त नखानु नै उत्तम हुन्छ । खाइहाले सकेसम्म थोरै खानु राम्रो हुन्छ ।
हरियो सलादजन्य खानेकुरा नपखाली खाँदा झाडापखालाका साथै मस्तिष्कमा संक्रमण हुनसक्छ । अरू बेला थोरै खाए पनि हुने तर चाडबाडमा मन लागे जति खानुपर्छ भन्ने गलत मानसिकताका कारण पेटका बिरामी बढ्ने गरेको देखिन्छ । खानामा सन्तुलन नमिलाउँदा फूड पोइजनिङको समस्या पनि हुन्छ ।
चाडबाडको खानपानमा नियन्त्रण राख्न नसक्दा मनोरोगको सम्भावना हुन्छ । रमाइलो गर्ने नाममा अत्यधिक मद्यपान र मासुले मनोसामाजिक समस्या निम्त्याउने मानसिक रोग विशेषज्ञहरूको ठम्म्याइ छ । बढी मासु खाँदा मानिसमा उत्तेजना, रिस र झर्को मान्नेजस्ता समस्या देखिन्छन् । मानसिक रोगको प्रमुख कारण शारीरिक रोग हो तर धेरैले यसप्रति कसैले पनि विचार नपु¥याएको देखिन्छ । अत्याधिक मदिरा सेवनले एकैपटक दुई प्रकारकै समस्या निम्त्याउँछ ।
सन्तुलित खानपान संयमता नै समस्याबाट बँच्ने एकमात्र उपाय हो । हामी सन्तुलित भोजनलाई नै यसको सूत्र मान्छौँ । माछा, मासु, मदिरार ड्राइफूड सकेसम्म थोरै खानुपर्छ । चिल्लो मसालेदार खाना र मदिरा खाइहाले कम्तीमा तीन लीटरसम्म पानी पिउनुपर्छ ।
खाद्यविदको अनुसार, चाडबाडका बेला रातो मासु र मदिरा कम गर्नु नै रोगको प्रवेश रोक्नु हो । जिब्रोलाई स्वादिलो लाग्ने रातो मासुमा चिल्लो र बोसोको मात्रा बढी हुन्छ । रातो मासु खानै परे स्वस्थ व्यक्तिले एक पटकमा तासको पत्ता जति र बिरामीले बोसो तथा छाला निकालेर मात्र खान राम्रो हुन्छ । स्वस्थ व्यक्तिले एक हप्तामा तीनदेखि चार पटकसम्म मदिरा पिउन सक्छन् । एक पटकमा पुरुषले ६० र महिलाले ३० एमएलसम्म पिए हानि गर्दैन । दशैं–तिहार भन्दै दिनहुँ पार्टी नगर्ने र घरभित्रकै पोषिलो खानेकुरामा जोड दिनुपर्दछ ।
यसरी पाचनतन्त्रलाई सुधार्नुस्
हामीले जे जति खानेकुरा खान्छौं, पाचनयन्त्रले त्यसबाट शरीरलाई आवश्यक पोषण तत्व ग्रहण गर्छ । त्यही पोषण तत्वले हामीलाई निरोगी एवं तन्दुरुस्त राख्छ । तर, हामीले खाएको सबै खानेकुरा पच्छ भन्ने छैन । जब खाना पच्दैन, त्यो विकार दिसा–पिसाबको माध्यामबाट बाहिर निस्कन्छ ।
खाना नपच्नु भनेको शरीरमा आवश्यक पोषण तत्वको अभाव हुनु पनि हो । त्यसो भयो भने, हामी रोगी हुनेछौ । अपच खानेकुरा विकारको रुपमा शरीरभित्रै जम्छ । यसले शरीरलाई विषाक्त बनाउँछ । त्यसैले स्वस्थ एवं निरोगी जीवनका लागि खानेकुरा राम्ररी पचाउने क्षमता हुनैपर्छ । तर, हामीले खाएको सबै खानेकुरा पच्छ भन्ने छैन । किन ? किनभने, हामीले पचाउन गाह्रो हुने खानेकुरा सेवन गर्छौं । जस्तो कि, तारेको, भुटेको, मसलेदार, जंक फूड, प्याकेटबन्द खानेकुरा आदि ।
अर्कोकुरा, हाम्रो पाचनयन्त्र नै कमजोर भइदिन्छ । जब पाचन यन्त्र कमजोर हुन्छ, सामान्य खानेकुरा पनि पचाउन गाह्रो हुन्छ । आवश्यकताभन्दा बढी मात्रामा खाना खानु, मसलायुक्त खानेुकराको सेवन तथा गलत खानपानका कारण पाचनतन्त्रले खानालाई सही तरिकाले पचाउन सक्दैन । त्यसबाहेक, कलेजोमा रहेका इन्जाइमले सही तरिकाले काम गर्न नसकेको अवस्थामा अपचको समस्या निम्तने गर्छ । जुन निकै पिडादायक हुन्छ ।
यी अवस्थाले देखाउँछ अपच
अपच भएमा पेट पोल्ने, ग्यास्ट्रिक हुने, पेट फुल्ने, रिंगटा लाग्ने, दिशामा गडबढ हुने लगायतको समस्या देखिन्छ गर्छ । अपच आफैमा आम समस्या नभएकोले यसबारे सजग हुन आवश्यक छ । अन्यथा, अपचकै कारण स्वास्थ्य सम्बन्धी विभिन्न समस्या निम्तने गर्छ ।
अपचका कारण हुनसक्ने समस्या
– एलर्जी
– आर्थराइटिस
– अटोइम्युन डिजिज
– छालाको इन्फेक्सन तथा पिम्पल्स
– थकान तथा मुड अर्डर
पेटको समस्याका कारण
पेटको पाचनतन्त्रले नै यो कुरा निर्धारण गर्छ कि आखिर भोजनले शरीरलाई कुन–कुन किसिमका पोषण तत्व प्रदान गर्छ । र, कुन कुन विषादीलाई शरीरबाट बाहिर निकाल्छ । यसको अर्थ के हो भने हाम्रो पाचन प्रणालीले नै हाम्रो शरीरलाई कुनै न कुनै तरिकाबाट नियन्त्रित गरिरहेको हुन्छ । उदाहरणको लागि हाम्रो कलेजोले शरीरमा जम्मा भएका कयौ विषादीलाई पित्तमा छोडेर शरीरबाट बाहिर निकाल्न सहायता प्रदान गर्छ । र, यसले उल्टो काम गरेमा शरीरमा कब्जियत हुने र कब्जियतको कारण शरीरमा विषादी बढ्ने गर्छ ।
अपच हुने अन्य कारणहरू
– भोजनमा फाइबरको मात्रा कम भएमा तथा चिनीको मात्रा धेरै भएमा पनि पाचन सम्बन्धि समस्या हुने गर्छ ।
– पोषण तत्वको कमी तथा उच्च क्यालोरीयुक्त आहारका कारण शरीरमा खराब व्याक्टेरियाको स्तर बढेर आन्द्रा सम्बन्धि समस्या निम्तन सक्छ ।
– सामान्य पाचन प्रणालीलाई प्रभावित पार्ने विभिन्न औषधीको सेवनले पाचन सम्बन्धि समस्या निम्तन सक्छ । विशेषगरी एस्प्रिन तथा प्रिलोसेकजस्ता औषधीको सेवनले पनि पाचनतन्त्रलाई प्रभावित पार्ने गर्छ ।
– तनावका कारण पनि नर्भस सिस्टम बिग्रिएर पाचन सम्बन्धि समस्या निम्तन सक्छ । साथै, आन्द्रामा व्याक्टेरियाको सन्तुलन बिग्रन सक्छ ।
पाचन क्रियामा व्याक्टेरिया
मानव शरीरमा पाँच सय प्रजातिको व्याक्टेरिया रहेको हुन्छ, जसले भोजन पचाउनमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ । यसको साथै, यी व्याक्टेरियाले हर्मोनको सन्तुलन कायम राख्ने, विषादीहरु बाहिर निकाल्ने तथा भिटामिनलगायतका अन्य हिलिङ तत्वको निर्माणमा सहायता प्रदान गर्छ । जसले गर्दा शरीरको पाचन प्रक्रिया स्वस्थ रहने गर्छ । शरीर स्वस्थ रहनका लागि पाचनतन्त्र स्वस्थ रहन जरुरी छ । शरीरमा प्यारासाइट वा यीस्ट जस्ता खराब व्याक्टेरियाको स्तर बढेमा वा ल्याक्टोवासिलस वा बिफिडोव्याक्टेरियाजस्ता राम्रो व्याक्टेरिया कम भएमा स्वास्थ्य सम्बन्धि समस्या निम्तन सक्छ । त्यसैले, शरीरलाई स्वस्थ राख्न तथा पाचन प्रक्रियालाई चुस्त राख्न व्याक्टेरियाको सन्तुलन हुन निकै जरुरी छ ।
पाचन प्रणाली स्वस्थ राख्न के गर्ने त ?
१. स्वस्थ र एकाग्र भएर खाने
आजकालको जीवनशैलीमाा हरेक मानिस एकपटकमा विभिन्न काम गर्नेबारे सोच्छन् र समस्याहरु यहीँबाट सुरु हुन्छ । आयुर्वेदले सधै एकाग्र भएर खाने सुझाव दिन्छ । किनभने यस्तो गर्नाले मस्तिस्कलाई हाम्रो खानाबारे सहि जानकारी मिल्छ । हल्का सादा, सुपाच्य खाना एवम् सात्विक खाना खाएमा तपाईंको अग्नी उर्जावान रहन्छ ।
२. दशैंमा अग्नी खराब बनाउने पदार्थबाट टाढै रहनुहोस्
खराब तरल पदार्थहरुले तपाईंको अग्नीलाई बिगार्न सक्छ । धेरै मात्रामा तरल पदार्थ जस्तैः कोल्ड ड्रिंक्स, अल्कोहल आदीको सेवनले पनि तपाईंको पाचन प्रणालीलाई असन्तुलित गर्छ । यस्तै धेरै सुत्ने, धेरै खाना खाने गर्नाले पनि अग्नीको अस्तित्व संकटमा पर्छ ।
३. आफ्नो अग्नीलाई सुधार्ने
स्वस्थ भोजन गरेर हामी आफ्नो अग्नीलाई पहिलेदेखि नै सुधार्न सक्छौं, जसले राम्रो परिणाम दिन सक्छ । खानभन्दा पहिले हल्का हिँडडुल गर्नु पनि तपाईंको अग्नीलाई सुधार्ने एक सरल र फाइदाजनक सुझाव हो । बिहान उठ्ना साथै २ गिलास पानी पिउनाले पनि पाचन प्रणालीलाई चुस्त दुरुस्त राख्छ ।
४. षौष्टिक गुण धेरै भएका खाद्यपदार्थको सेवन गर्नुहोस्
दिनचर्यामा अधिक पौष्टिक गुणवान खाद्य पदार्थहरुको सेवन गर्नाले तपाईंको पाचन प्रणालीको अग्नीलाई सुधार्छ । तपाईंको आहारमा पर्याप्त मात्रामा सागसब्जी एवम् फलफूल हुन आवश्यक छ । यसखालको आहारले तपाईंलाई पाचनमा हुने रोगहरुबाट बँचाउछ ।
५. दैनिक एकै समयमा खाना खानुहोस्
यो बानी अपनाउन थोरै मुस्किल हुन सक्छ तर यो बानीको फाइदा भरपुर छ । दैनिक एकै समयमा खाना खानाले तपाईंको पाचन प्रणालीलाई सुधारेर त्यसको उत्पादकत्व बढाउँछ ।
६. व्यायाम महत्वपूर्ण छ
धेरै समयसम्म एकै स्थानमा बसेर काम गर्ने वा पढ्ने गर्नाले तपाईंको शरीरको पाचन क्रिया ढिलो हुन्छ । त्यसैले आयुर्वेदले सँधै सहि प्रकारको व्यायाम गर्ने सल्लाह दिन्छ । जसले तपाईंको पाचनतन्त्र एवम् शरीर दुवै उच्चतम बनिरहन्छ ।
७. ताजा हावा र केही आसन
जसरी अग्नी बल्नको लागि अक्सिजनको आवश्यकता हुन्छ त्यसरी नै तपाईंको पाचनतन्त्रको अग्नीलाई पनि स्वस्थ राख्न पनि ताजा हावाको आवश्यकता हुन्छ । बिहानै घुम्न जाने वा फेरि प्रकृतिमा लामो पैदल यात्रा गर्नु तपाईंको ताजा हावाको सेवन अनुभव गराउन सक्छ ।
८. काममा ध्यान लगाउने
आफ्नो पिर, चिन्ता र तनावलाई टाढै राख्नको लागि आफ्नो काममा धेरै ध्यान लगाउनुभन्दा राम्रो तरिका सायद अरु छैन होला हरेक दिन केवल ५ मिनेट एकाग्रतासँग ध्यान लगाउनाले तपाईंलाई असंख्य लाभ दिन सक्छ ।
९. सहि मात्रामा पानी पिउने
दैनिक सहि मात्रामा पानी पिउनु मानिसको पाचन प्रणालीको लागि सबैभन्दा धेरै लाभदायक हुन सक्छ । पानीले केवल पाचन प्रणालीमा रहेका ब्याक्टेरियामा सन्तुलन राख्दैन बरु पुरै शरीरमा खानाबाट मिलेका पोषक तत्वलाई पुर्याउन सहयोग गर्छ ।
१०. शुद्दीकरण प्रक्रिया (डिटक्सीफिकेसन)
आयुर्वेदका ज्ञाताहरुले पाचन प्रणालीलाई विषहरण क्रियाद्धारा सफा राख्ने सल्लाह पनि दिन्छन् । विषहरण क्रिया हरेक मानिसको लागिअलग हुन सक्छ । विषहरण क्रियाले तपाईं आफ्नो अग्नीलाई शक्तिशाली तरिकाले फेरि सुरु गर्न सक्नुहुन्छ । विषहरण क्रियाले भित्री प्रणालीको मर्मत गरेर त्यसलाई उच्चतम उत्पादकत्व दिन सघाउँछ । विषहरण क्रिया फलफूलको सेवनदेखि लिएर पन्चकर्म थेरापीसम्म विस्तारित छ ।
पाचन प्रणालीभित्रको अग्नीले हरेक मानिसलाई सक्रिय उर्जावान राख्छ । पाचन प्रणालीमा सन्तुलन राख्न सकेमा स्वस्थ र दिर्घजीवन प्राप्त गर्न सकिन्छ । यसैकारण हामीले आफ्नो पाचन प्रणालीको अखण्डतालाई स्वस्थ राख्न आवश्यक छ ।
अन्तमा सम्पुर्णमा के भन्न चाहान्छु भने आफु स्वस्थ रहनको लागि खानपानमा विशेष ध्यान दिनुहोस् । तपाईँ एक्कैपटक धेरै खाएर बलियो हुने होइन थोरै तर नियित खाएर स्वस्थ र बलियो हुने हो । नमरी बाँचे अर्को दशैं खुब रमाइलोसंग मनाउला तर यो महामारीको अवस्थामा भने आफु र आफ्नो परिवारको रक्षा गर्दै यथास्थानबाट जे जस्तो उपलब्ध हुन्छ त्यसैमा दशैं मानौं ।





