२०७७ कार्तिक २ गतेबाट संक्रमितको उपचार खर्च संक्रमित आफैले गर्नुपर्ने सरकारी निर्णयको हवाला दिंदै प्रकाशनमा आएका समाचारले अब हामीलाई सचेत गराउला र ?
आफ्नो मान्छे आफ्नै हुन्छ, मर्दा पर्दा चाहिन्छ भन्ने सुनिन्थ्यो र देखिन्थ्यो, अनि केही पर्दा आफै लागिपरिन्थ्यो पनि । त्यहाँ आफन्तहरुनै आधिकारिक मानिन्थे भने अरु सहभागि । कोरोनाले पनि छुट्याउन सकेको छैन आफन्तलाई एकअर्काबाट । सांध संधीयार, लेनदेन, घच्चा घुईंरोमा धक्का लाग्छ तर सहनु पर्छ भन्ने पुरानो कथन नयाँ पुस्ताले केवल सुविधा र स्वार्थलाई ध्यानमा राखेर हेर्ने गरिएको साँघुरो घेरालाई कोरोनाले कहिले झन् साँघुरो त कहिले फराकिलो बनाउँदै लगेको पाईन्छ । रगतको नाता, टिका लगाएको साईनो वा गुन लगाएको साईनो जेसुकै होस हामीले एकअर्कालाई हेर्ने आफ्नोपनको नजर आफ्नै भोगाईमा आधारित छन् । एउटै परिवार, कुल वा गोत्रका दाजुभाई, जो जे भए पनि आखिर आफन्तलाई पर्दा साथ लाग्नै पर्यो, नत्र आफुलाई पर्दा पिठ्यु फर्काइ देलान, जोरीपारीले के भन्लान ? एउटै परिवारका कुनै सदस्य कोरोना संक्रमित भइरहँदा कोरोना संक्रमण नभएका सदस्यको मृत्युका बखत दाह संस्कारका लागि आफन्त मलामी नगएका घटनाले कोरोना संक्रमण भएरै होम आईसोलेसनमा रहँदा उपचार तथा मृत्यु भएमा आफन्तले शव व्यवस्थापनमा सहयोग गर्लान् ? हेरौं त्यो त समयले बताउँला ।
कोभिड–१९ अर्थात् कोरोना भाईरस संक्रमणको अवस्था, संक्रमण हुन सक्ने संभावना र बँच्ने उपायका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्था, मिडिया, समाजसेवी व्यक्तित्वदेखि लिएर सर्वसाधारण अधिकांशले व्यक्त गरेकै छन् । उनीहरुले सावधानी सुचक सामग्री, राहत तथा सहयोग व्यवस्थापन, कोरोना संक्रमण, निको भएका, उपचारमा रहेका र मृत्यु भएका तथ्याङ्क तीव्रताका साथ मिडिया तथा सामाजिक संजालमा छ्यापछ्याप्ती प्रकाशन भैरहेका छन् । कुन अवस्थामा आफुलाई कोरोना संक्रमण भयो र कसरी बँच्न सकिन्छ भनेर कोरोना जितेका पुर्व संक्रमितका लेख अन्तरवार्ता तथा अनुभव बारम्बार थाहा पाउँदा पनि हामीले चेतेका छैनौ वा हामीलाई कोरोना संक्रमण हुँदैन भनेर ढुक्क छौं । केही अपरिचितबाहेक चिनेजानेका र आफन्त कोरोना फ्री भएजस्तै लागिरहेको छ हेर्दा त । लकडाउन हटेपछि त सबैतिर स्वतन्त्रता वा निकट रहनुको बाध्यता के हुन सक्ला पाठकहरुले नै अनुमान गर्न सक्नुहुन्छ । उपचारको क्रममा, यात्राको क्रममा गाडीमा, भीडभाडमा मास्क नलगाएको कारण र खाना खाने बेलामा संक्रमण भएको हुन सक्ने हुँदा यस्तो अवस्थामा साबधानी अपनाउन सुझाबहरु नआएका पनि होईनन् । साबधान गराउन र कम्तीमा २ मिटरको दुरीमा रहन बस्न लगाउने वा बस्ने बानीको विकास भएकै छैन वा बाध्यता हो ? कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी आफै संक्रमित हुनुमा सर्वसाधारण वा सरोकारवालाको पनि केही कमजोरी अवश्य होला । नचाहँदा नचाहदै पनि दुर्घटनाको सामना गर्नु हाम्रो बाध्यता भएको छ । चाहेर पनि पाहुनाका अगाडि कम्तिमा २ मीटरको दुरी, मास्क र सेनिटाइजरको प्रयोग गर्न गराउन नसकिरहेको अवस्था देख्न सकिन्छ ।
नेपालमा कोरोनाविरुद्व लकडाउन सुरु हुँदाका बखत, कुनै नयाँ मानिस वा चिनेजानेकै मानिस भएपनि विदेशबाट आएका भए क्वारेन्टिनमा लैजान ¥याख¥याख्ती पार्ने यो समाज आज समयक्रममा होम क्वारेन्टिन तथा होम आईसोलेसन पचाउने भैसकेको छ । संक्रमित वा संक्रमितको सम्पर्कमा रहेकालाई होम आईसोलेसनमा रहनु सहज त होला तर शौचालय, स्नान गृह तथा भान्सालगायतका सुबिधा सधै पर्याप्त नहुन पनि सक्लान् । यस्तो अवस्थामा बालबालिका, बृद्ध तथा बिरामीजस्ता जोखिममा रहेका संबेदनशील वर्गलाई पर्न जाने प्रभावको हामीले नजरअन्दाज गरिरहेका त छैनौ ? जिम्मेवारी निर्वाह वा कर्तव्य पालनाको जिम्मेवारीका कारण हामी आफ्नै स्वास्थको ख्याल राख्न नसकी रहेको अवस्थामा ती संबेदनशील वर्गलाई जोखिममा पर्न नदिन सबैको पहुँच र प्रयोगमा मास्क, सेनिटाईजर र पञ्जालगायतका सुरक्षा साधनको व्यवस्थापन र प्रयोग गर्ने गराउने गरेका छैनौ भने अर्को बज्रपात सहनु पर्ने हुन सक्छ । चिन, अष्ट्रेलिया, दक्षिण कोरिया, जापानलगायतका मुलुकमा केही संबेदनशिल क्षेत्रबाहेक अधिकांश क्षेत्रमा यात्राबाट आउने र शंकास्पद कर्मचारीको कामदारको क्वारेन्टिन, उपचार तथा कार्यक्षेत्रमै विशेष सुरक्षा मापदण्ड कायम राखेर विविध कार्य संचालन भैरहेको जानकारी नयाँ होईन ।
हामी नेपालीहरुमा रहेको मानबीय संबेदनशीलता र सहयोगी भावनाको उच्च कदर गर्नै पर्दछ । जसले पैदल यात्रुलाई खाना खुवाए, गरिब तथा न्युन आय भएकालाई राहत वितरण गरे, मास्क, सेनिटाइजर तथा पिपिइको वितरण तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा सहयोग हस्तान्तरण तथा व्यवस्थापन मात्र होईन संक्रमितलाई होम आईसोलेसनमै गएर सहयोग गर्नेको कमी छैन । यतिका सहयोग हुँदा पनि हामी कोरोना संक्रमणको जोखिमबारे बेखबर जस्तै स्वतन्त्र रुपमा घुमफिर तथा भेटघाट गरिरहेका छौं । २०७७ कार्तिक २ गतेबाट संक्रमितको उपचार खर्च संक्रमित आफैले गर्नुपर्ने सरकारी निर्णयको हवाला दिंदै प्रकाशनमा आएका समाचारले अब हामीलाई सचेत गराउला र ? उपचार खर्च आफै व्यहोर्नु पर्ने बाध्यात्मक मनस्थितिले लार्पवाही नगरेर सुरक्षित रहे त धेरै राम्रो कुरा, तर यो संभव छ वा छैन त ? होम आईसोलेसनमा मृत्यु हुनेको हकमा आफन्तले नै सबको व्यवस्थापन गर्नुपर्ने अवस्थाले त केही समय अगाडी १ नं. प्रदेशमा कोरोना संक्रमितको परिवारमा मृत्यु भएका तर कोरोना संक्रमण नभएका व्यक्तिको लास व्यवस्थापनमा आफन्त सहभागी नभएको समाचार थप चिन्ताको विषय बनेको छ ।
के अब हामी कोरोनासंग जुध्न असफल भएकै हौं त ? यातायात, यात्रा तथा पेशा व्यवसाय खुल्ला हुनासाथ बढिरहेको कोरोना संक्रमणलाई ध्यानमा राखेर सोचौं ‘जबसम्म प्रत्येक व्यक्ति कोरोनाबाट सुरक्षित हँुदैनौं, तबसम्म हामी कोही पनि सुरक्षित छैनौं’ भन्ने सोचेर नागरिक आफै जिम्मेवार हुनुपर्ने अवस्था हो यो । साथै, हिन्दु धर्मावलीहरुको महान पर्व बडादशै, दिपावली तथा छठको पुर्व सन्ध्यामा संक्रमण हुन सक्ने सम्भावित अबस्थालाई ध्यानमा राखी हामी जहाँ छौ, त्यही आफ्नै घरमा नित्य पुजा आराधना गरेर दुर्गा माताप्रति श्रद्धा भक्तिभाव राखौ, मेला पर्व नाचगानको सट्टा एकान्तमा ध्यान गरौं, हामी आफु बचौ र अरुलाई पनि बचाऔं । सबैलाई हार्दिक शुभकामना ।




