पोखरा, १६ कात्तिक– इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको ५२ औं खेलमा सनराइजर्स हैदराबादले अंक तालिकाको दोस्रो स्थानको रोयल च्यालेन्जर्स बंैगलोरलाई ५ हराएको छ ।
शनिबार राती सम्पन्न खेलमा हैदराबादले जित हातपार्दै प्ले अफको सम्भावना कायमै राखेको छ । १ सय २१ रनको विजयी लक्ष्य हैदराबादले १४.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर ऋद्धिमान शाहले ३९ रनको पारी खेले । उनले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गरे । डेभिड वार्नर ८, मनिष पान्डे २६, केन विलियम्सन ८ र अभिषेक शर्मा ८ रनमा आउट भए । जेसन होल्डर २६ रनमा नटआउट रहे । बैंगलोरका युजभेन्द्र चहलले २ तथा वासिन्टन सुन्दर, नवदीप सैनी र इसुरु उडानले समान एक एक विकेट लिए ।
त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २० रनको योगफल तयार गरेको थियो । सन्दीप शर्माले तेस्रो ओभरको पाँचौ बलमा ओपनर देवदत्त पाडिक्कललाई ५ रनमा बोल्ड आउट गरे । शर्माकै पाँचौ ओभरको चौथो बलमा कप्तान विराट कोहली केन विलियम्सनबाट उत्कृष्ट क्याच आउट हुन पुगे । कोहलीले मात्र ७ रन जोडे । एबी डी भिलियर्स २४ रनमा क्याच आउट भए । उनले २४ बलमा १ चौका र १ छक्का प्रहार गरे । जोश फिलिपे ३२ रनमा क्याच आउट भए । उनले ३१ बलमा ४ चौका प्रहार गरे । वासिन्टन सुन्दर २१ रनमा आउट भए । सुन्दरले १८ बलमा २ चौका प्रहार गरे । क्रिस मोरिस ३ र इसुरु उडाना शून्यमा आउट भए । गुरक्रित मानसिंह १५ रनमा नटआउट रहे ।
सन्दीप शर्मा र जेसन होल्डरले २–२ तथा टि नटराजन, राशिद खान र शहबाज नदीमले समान एक एक विकेट लिए ।





