पोखरा, १९ कात्तिक– इन्डियन प्रिमियर लिग (आइपिएल) टि–२० क्रिकेट प्रतियोगिताको प्ले अफ समिकरण पूरा भएको छ । मंगलबार राती समपन्न लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई १० विकेटले हराएसँगै प्ले अफ समिकरण पुरा भएको हो ।
जितसंगै हैदराबादले प्ले अफमा स्थान बनाउँदा कोलकाता नाइट राइडर्स भने लिग चरणबाटै बाहिरिएको छ । जितका लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १७.१ ओभरमा कुनैपनि विकेट नगमाई लक्ष्य पुरा ग¥यो । हैदराबादको सानदार जितमा ओपनर एवम् कप्तान डेभिड वार्नरले ८५ रनको उत्कृष्ट विजयी पारी खेले । उनले ५८ बलमा १० चौका र छक्का १ प्रहार गर्दै नटआउट रहे । अर्का ओपनर ऋद्धिमान शाह ५८ रनको पारी खेले । उनले ४५ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै नटआउट रहे । टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बई २० ओभरमा ८ विकेटको गुमाउदै १ सय ४९ रनमा समेटियो । मुम्बईलाई मध्यम योगफल सम्म पुर्याउन तल्लोक्रमका ब्याट्सम्यान काइरन पोलार्ड २५ बलमा २ चौका र ४ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए । कप्तान तथा ओपनर रोहित शर्मा ४ रनमा क्याच आउट हुदैँ पेभिलियन फर्किए । अर्का ओपनर क्विन्टन डी कक २५ रनमा बोल्ड आउट भए । डी ककले १३ बलमा २ चौका र २ छक्का प्रहार गरे ।
तेस्रो विकेटका लागि इशान किशन र सूर्यकुमार यादवले ४२ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरे । तर १२ औं ओभरको पहिलो बलमा शहबाज नदीमले विकेटकिपर ऋद्धिमान शाहबाट यादवलाई ३६ रनमा क्याच गराउँदै खेलमा फर्काएका थिए । यादवले २९ बलमा ५ चौका प्रहार गरे । नदीमले दुई बलपछि क्रुनाल पान्ड्यालाई केन विलियम्सनबाट शून्यमा क्याच आउट हुनपुगे ।
सौरभ तिवारी एक रनमा क्याच आउट भए । किशन ३३ रनमा बोल्ड आउट भए । किशनले ३० बलमा १ चौका र २ छक्का प्रहार गरे । नाथन कुल्टर नाइल एक रनमा आउट भए । जेम्स प्याटिनसन ४ रनमा अविजित रहे ।
हैदराबादका सन्दीप शर्माले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । शहबाज नदीम र जेसन होल्डरले समान २–२ तथा राशिद खानले १ विकेट लिए ।
प्ले अफमा भने मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलोरले स्थान बनाएका छन् । कोलकाता नाइट राइडर्स, किंग्स इलेभेन पन्जाब, चेन्नई सुपर कंग्स र राजस्थान रोयल्स लिग चरणबाट बाहिरि सकेका छन ।
आइपिएलको शीर्ष स्थानमा मुम्बई १४ खेलमा १८ अंकका साथ रह्यो । दिल्ली १४ खेलमा १६ अंकका साथ दोस्रो स्थानमा रह्यो । फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा बिहिबार मुम्बई र दिल्लीबीच प्रतिस्पर्धा हुने छ । दिल्ली र मुम्बईबीचको पहिलो क्वालिफायर बिहिबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा हुने छ । विजेता टोली सोझै फाइनलमा पुग्ने छ । पराजित हुने टोलीले पुन फाइनल प्रवेश गर्न प्रतिस्पर्धा गर्न अवसर रहने छ ।
एलिमिनेटर खेलमा तेस्रो स्थानको हैदराबाद र चौथो स्थानको बेंगलोरबीच शुक्रबार शेख जायद स्टेडियम आबूधाबीमा प्रतिस्पर्धा हुने छ । जसको विजेताले पहिलो क्वालिफायरको पराजित हुने टोली मुम्बई वा दिल्ली मध्य एक सँग फाइनल प्रवेशको लागि आबूधाबीमा आइतबार दोस्रो क्वालिफायर खेल्ने छ । फाइनल मंगलबार दुबईमा हुने छ ।





