पोखरा, २० कात्तिक– बंगलादेश विरुद्ध मैत्रीपुर्ण खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीका थप दुई खेलाडीमा कोरोना संक्रमण देखिएको छ । मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण गरिरहेको टोलीमा यसअघि ५ खेलाडीलाई संक्रमण देखिएको थियो ।
दशरथ रंगशालामा पछिल्लो एक सातायता अभ्यास गरिरहेका टोलीमा कुल ७ खेलाडीमा संक्रमण देखिएसँगै खेल हुने नहुनेमा पनि आशंका बढेको छ । ३४ खेलाडी सम्मिलित प्रारम्भिक टोलीमा ७ खेलाडी कोरोना संक्रमण पुष्टिभएपछि अन्य खेलाडीमा पनि संक्रमण हुने जोखिम देखिएको छ ।
पहिलो दिनको प्रशिक्षणअघि नै ४ खेलाडी आइसोलेसनमा बसेका थिए । पहिलो दिन प्रशिक्षणपछि थप एक खेलाडीमा संक्रमण पुष्टि भएको थियो । त्यस्तै मंगलबार दिउँसो गरिएको परीक्षणमा थप दुई खेलाडीमा संक्रमण देखिएको हो । टोली केहि दिनमा नै बंगलादेश प्रस्थान गर्ने तयारीमा थियो ।
टोलीको प्रस्थानका लागि मंगलबार गरिएको स्वाब परिक्षणमा बंगलादेश प्रस्थान गर्ने तयारीमा रहेको दुई संचारकर्मीलाई पनि संक्रमण देखिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । मैत्रीपूर्ण खेलका लागि प्रस्थान गर्ने सबै खेलाडी र अफिसियलको परीक्षण गरिएको थियो । मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा बालगोपाल महर्जनले टोलीको प्रशिक्षण सम्हालिरहेका छन् । नेपालले नोभेम्बर १३ र १७ तारिखमा ढाकास्थित बंगबंधु रंगशालामा खेल्ने तय भएको थियो ।





