मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

रैथाने ‘जेठोबुढो’को उँचो स्थान !

रैथाने ‘जेठोबुढो’को उँचो स्थान !

आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममार्फत् ब्राण्डिङको घोषणा गरेको पोखरा महानगरले अन्य बास्नादार धानभन्दा पोखरेली जेठोबुढोको महंगो मूल्य तोकेको छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०७७, शुक्रबार

पोखरा, २८ कात्तिक– राष्ट्रिय बाली विकास निर्देशनालयले २०२४ सालमा नेपालमै पहिलोपटक हाइब्रिड जातको धानको बीउ सिफारिस ग¥यो । थोरै जग्गामा धेरै फल्ने अनि पानी बढी नचाहिने भएपछि किसानहरु हाइब्रिडतिर तानिए । भाते संस्कृतिलाई ती धानले मलजल पनि दिए । तर, स्वादमा मीठो र जैविकताको दृष्टिले महत्वपूर्ण मानिएका रैथाने धानहरु भने बिस्तारै हराउँदै गए । त्यो बेला ताइचुङ–१७६ मध्य पहाड र चाइचुङ २४२ जातको धान पहाडी क्षेत्रको लागि सिफारिस गरिएको थियो । अहिले गाउँका रैथाने धानहरु हराइसकेका छन् । जति रोपिन्छ, ती सबै हाइब्रिड छन् । पछिल्ला समयमा गण्डकीमा सुधारिएको जेठोबुढो, खुमल, राधा सात, राधा नौ, सावित्री, मनसुली, पहेँंले जस्ता धान रोप्ने गरिएको छ । हाइब्रिड धानले कम उचाइमा हुने गरेका काठे गुर्दी, तौली, फालो, पहेंले, लहरे गुर्दी, घैया, कालो झिनुवा, माला, विमरफुल, भट्टे, अँधेरे, काँडे, कालो बयर्नी, कालो अनदीलगायतका धान बिस्थापित गरे पनि जेठोबुढो बिस्थापित गर्न सकेन । कारण थियो, यसको बेजोड स्वाद !
जिब्रोमा गडेको यो जेठोबुढोको भात भनेपछि पोखरेली हुरुक्कै हुन्छन् ।मगमग बास्ना आउने, लामो सिता भएको र खाँदा नरम हुने जेठोबुढो पोखरेलीको पहिलो रोजाइँको चामल हो । ६ सयदेखि ९ सय मिटरसम्मको उचाइमा खेती हुने यो धान चिसो पानीमा राम्रो हुन्छ । पोखरा र आसपासका किसानहरुले परापूर्वदेखि लगाउँदै आएको जेठोबुढो बढ्दो सहरीकरणको कारण संकटमा पर्दै गए पनि यसप्रतिको आकर्षण भने घटेन । काठमाडौं वा अन्यत्र बसे पनि पोखराबाटै जेठोबुढोको चामल मगाएर खानेहरुको पनि कमी भएन । एक रोपनी क्षेत्रफलमा दुई क्विन्टलसम्म उत्पादन हुने जेठोबुढोको भात मसिनो र मीठो मात्र हुँदैन पराल पनि राम्रो हुन्छ । धानको बजार मूल्य उच्च रहेकाले ’जेठोबुढो’ धानप्रति किसानहरुको आकर्षण कायमै रह्यो ।
जेठोबुढोप्रतिको आकर्षणलाई ध्यानमा राखेर स्थानीय धानका जात संरक्षणमा जुटेको जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) नामक संस्थाले यो धान संरक्षण अभियान नै चलायो । लि–बर्डकै पहलमा पोखरेली जेठोबूढो बाली विज्ञान प्रयोगशालामा दर्ता गरिएको छ । नेपाल सरकारबाट ०६३ मा पोखरा उपत्यका क्षेत्रमा उत्पादनका लागि यो धान सिफारिस भएर आएको थियो । सुरुवाततिर जेठोबुढो मात्रै भनेर भनिए पनि अहिले यो जातको धानलाई पोखरेली जेठोबुढोको रुपमा चिनिँदै आएको छ । जेठोबुढो बजार मागका कारण जेठो बनिरहेको छ ।
जेठोबुढोको यही महत्व बुझेर पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममार्फत् पोखरेली जेठोबुढो धानको ब्राण्डिङ गर्ने घोषणा ग¥यो । जेठोबुढो धान रोप्ने किसानलाई उत्पादनको आधारमा अनुदान दिने महानगरको घोषणा थियो । घोषणा गरेको करिब २ वर्षपछि महानगरले व्यवहारमै जेठोबुढो धानको ब्राण्डिङ थालेको छ । जेठोबुढो धानको न्यूनतम् मूल्य तोकेर महानगरले यो अभियानलाई व्यवहारमा उतारेको हो । महानगरले एक क्विण्टल जेठोबुढो धानको मूल्य ९ हजार तोकेको छ । मुरीमा हिसाब गर्दा एक मुरीको न्यूनतम् मूल्य ४ हजार ५ सय रुपयाँ पर्छ । यो मूल्य नेपालमा पाइने अन्य बास्नादार धानकोभन्दा बढी हो ।
पोखरा महानगरपालिकाले पोखरा÷लेखनाथ उद्योग वाणिज्य संघका प्रतिनिधि, भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्रालय, कृषि ज्ञान केन्द्र कास्की, कृषक प्रतिनिधिलगायतसँग बैठक बसी पोखरेली जेठोबुढोको मुल्य निर्धारण गरेको हो । मूल्य निर्धारण भएसँगै महानगरका मेयर मानबहादुर जिसीले महानगर व्यवहारिक रुपले नै धानको राष्ट्रिय÷अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ गर्ने बताए । लोपोन्मुख अवस्थामा पुगेको रैथाने बालिलाई जोगाउन महानगरले नयाँ मूल्य निर्धारण गरेको मेयर जीसीको भनाई छ । ‘हाम्रो ब्रान्ड त जोगाउन प¥यो । पोखरेली जेठोबुढोलाई ब्रान्डिङ गर्ने योजनाअनुसार महानर अघिबढेको छ’, मेयर जीसीले भने ।
जेठोबुढो धान नबिक्ला भन्ने पीर भने हुँदैन । धानको मूल्य भने गुणस्तर हेरेर निर्धारण हुन्थ्यो । पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार किसानहरुले पहिलदेखि बेच्दै आएको बजार मूल्य र लागत अध्ययनपछि नयाँ मुल्य निर्धारण गरिएको हो । किसानले सके तोकेकोभन्दा बढी मूल्य लिन पाउने छुट रहेको उनको भनाई छ । पोखरेली ब्रान्ड जेठोबढो उत्पादनमा कृषकलाई आकर्षित गर्ने साथै यो जातको धानलाई जोगाइ राख्ने हिसाबले धानको मूल्य निर्धारण गरिएको उनी बताउँछन् । व्यावसायिक हिसाबमै जेठोबुढो उत्पादन गर्न चाहेका तर मूल्य नपाइने डरले खुम्चिन बाध्य किसानलाई पनि महानगरको यो निर्णयले प्रोत्साहित गर्ने उनको जिकिर छ ।
महानगरले कायम गरेको नयाँ मूल्यदर अनुसार मिसावट नभएको शुद्ध जेठोबुढोको लागि मात्रै ४ हजार ५ सय रुपैयाँ पर्ने उनले बताए । मिसावट भएको खण्डमा भने महानगरले तोकेको मूल्य लिन नपाइने उनले सुनाए । उपभोक्तालाई साँच्चिकै जेठोबुढो नै खुवाउने हेतुले महानगरले यस्तो निर्णय लिएको उनको भनाई छ । ‘खेतमा लगाएको धानमा मिसावट हुँदैन’, उनले भने, ‘तर, अब जो व्यवसायीले खरिद गर्नुहुन्छ । खरिद गर्नेहरुले आफैले गएर हेरेर निश्चित भएपछि त्यति मूल्यमा नलिन पनि सक्नुहुनेछ ।’सरकारले तोकेको मापदण्डअनुसारको उत्पादन भए सरकार आफैले यसको खरिद गर्नुपर्ने उनले बताए । यसको व्यवस्थापनको लागि महानगर भित्रका सहकारी र कृषि फर्महरुलाई जिम्मा दिइनेछ ।
जेठोबुढो धानलाई महानगरले विशेष सम्पतिको रुपमा लिएको महाशाखा प्रमुख कँडरियाले बताए । पोखरामा करिब ४ हजार देखि ४५ सय हेक्टर क्षेत्रपफलमा धान उत्पादन हुँदै आएकोमा ४० प्रतिशत उत्पादन पोखरेली जेठोबुढोको हुने सरकारी अनुमान छ । वार्षिक १२ देखि १३ हजार मेट्रिक टन यसको उत्पादन हुँदै आएको महानगरका कृषि महाशाखा प्रमुख कडरियाले बताए । रैथाने जेठोबुढाको संरक्षण भए पनि कास्कीमा नै पाइने छोमु्रङ्ग, सिलाङ्गे,ताकमारे, मानपुरीलगायतका प्रजातिका धानको चलन भने अहिले हराइसकेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->