पोखरा, ७ मंसिर–कास्की जिल्ला क्युकोशिन कान करातेको १० औँ साधारण सभा सम्पन्न भएको छ । संघको सभाले दुई रिक्त पदमा पदपूर्तिसमेत गरेको छ । संघमा रिक्त रहेको कोषध्यक्ष पदमा सुजन आचार्य तथा सदस्यमा सुनिल थापा र अर्जुन बरामलाई ल्याइएको छ ।
संघले कोभिड–१९ महामारीको कारण ठप्प खेलकुद गतिविधि संचालन गर्दै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी प्रशिक्षणलाई तीव्रता दिने भएको छ । संघको सभाले आगामी दिन खेलाडीको हौसला वृद्धि गर्नका लागि पदक विजेता खेलाडीलाई निरन्तरता दिने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा प्रमुख डिबी नेपालीले खेलकुद संस्थाहरुले कोषाध्यक्ष र सचिवको प्रतिवेदन विरलै सार्वजानिक हुने गरेको बताए ।‘ जिल्लाका खेल संघहरुले यसरी प्रतिवेदन प्रस्तुत गरेको विरलै देख्न पाइन्छ । आज क्युकोशिन कानले प्रतिवेदन पेश गर्दा खुुसी लाग्यो’, नेपालीले भने । नेपाल क्युकोशिन कानका केन्द्रीय प्रशिक्षक राजेन्द्र सुवेदीले कोभिडको कारण प्रशिक्षणमा समस्या परेपनि पोखरा लगायत केही सहरमा भने सुरक्षा विधि अपनाएर मुख्य खेलाडीलाइृ प्रशिक्षण दिइरहेको बताए । कास्कीले अहिलेसम्म देशभर उत्कृष्ट नतिजा ल्याउदैँ आएको बताए ।कार्यक्रममा जनप्रतिनिधि राधिका शाही , संघका पदाधिकारी दानबहादुर क्षेत्री, अध्यक्ष बेलबहादुर थापालगायतले आफ्नो भनाइ राखेका थिए । कोषध्यक्षको प्रतिवेदन संघका उपाध्यक्ष सागरराज गिरी र सचिवको प्रतिवेदन सचिव सुरेशराज अधिकारीले प्रस्तुत गरेका थिए ।





