यही मंसिर ११–१३ मा हुने नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको वरिष्ठ उपाध्यक्ष पदमा हालका उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानबीच प्रतिस्पर्धा हुँदै छ । वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने भएपछि ढकाल र प्रधान प्यानलसहित निजी क्षेत्रमा अहिले ध्रुवीकरण बढ्दै गइरहेको छ, साथै सहमतिको प्रयास पनि । चुनावी एजेन्डा, कोभिड–१९ ले थिलथिलो पारेको अर्थतन्त्र उकास्न निजी क्षेत्रको भूमिका, रोजगारी सिर्जना, महासंघको छवि सुधार र उनीमाथि लाग्ने गरेका आरोपमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश :
महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराइसक्नुभएको छ । तपाईंका चुनावी एजेन्डा के–के छन् ?
मैले महासंघको केन्द्रीय सदस्यमा दुई पटकको कार्यकाल पूरा गरें । उपाध्यक्षमा एक पटक निर्विरोध निर्वाचित भएँ । महासंघको अभियानमा सक्रिय भएर लागेको करिब १० वर्ष भयो । साना तथा मझौला उद्योगमा ठूला लगानी गरेर रोजगारी सिर्जना गर्ने, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने र नेपालमा आर्थिक समृद्धि ल्याउने एजेन्डा बनाई महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको नेतृत्व दिइरहँदा सरकार/नियमनकारी निकायसँग नीतिगत लबिइङ गरेर समग्र आर्थिक विकास, समृद्ध नेपालको विकास गर्न उद्योगी व्यवसायीको विकास हुने नीति आउनुपर्यो भन्ने लागेको छ । नीतिकै कारण उद्योग व्यवसाय स्वस्फूर्त रूपमा फस्टाउन सकेका छैनन् । विदेशी लगानी आकर्षित गर्न पहिलो सर्त आन्तरिक लगानीको वातावरण चाहिन्छ । लगानीकर्ताले श्रम, विद्युत्, पूर्वाधार अथवा उद्योगधन्दा बन्द गर्दा निकास निकाल्ने विषय पनि हेर्छन् । यस विषयमा हाम्रा नीतिगत कमजोरी धेरै छन् । त्यसकारण उद्योगमैत्री मुलुकका रूपमा अगाडि बढाउन सशक्त अवाज उठाउँदै नीतिगत लबिइङ नै मुख्य एजेन्डा हो । जिल्ला–नगरका उद्योगी व्यवसायी साथीहरूका पनि धेरै मुद्दा छन् । कतिपय अवस्थामा महासंघले समेट्न सकेको छैन । ती मुद्दामा काम गर्न मेरो उम्मेदवारी हो ।
महासंघमा १० वर्ष काम गरें भन्नुभयो । वर्तमान उपाध्यक्ष पनि हुनुहुन्छ । यी काम यसअघि नै गर्न केले रोक्यो ?
म महासंघमा पहिलो पटक कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएर आएँ । दोस्रो पटक निर्वाचन नै भयो । सबैभन्दा बढी मत ल्याएर विजयी भई कार्यसमिति सदस्य भएँ । कार्यसमितिको सदस्यका रूपमा काम गर्दा ठूलो भूमिका हुँदैन । हाल उपाध्यक्ष पदमा सर्वसम्मत भएर आएको हुँ । त्यसपछि रोजगारदाता परिषद्को सभापतिको हैसियतले काम गरिरहेको छु । यो पदमा रहेर निजी क्षेत्रका लागि मैले धेरै काम गरिसकेको छु । रोजगारदाता परिषद्को सभापति भएपछि मजदुर र रोजगारदाताको सम्बन्धमा धेरै सुधार भएको छ । श्रम ऐन आयो, सामाजिक सुरक्षा कोष कार्यान्वयन भयो । धेरै विवाद नभई श्रमिकको न्यूनतम ज्याला निर्धारण भयो । प्रादेशिक संरचनाअनुसार महासंघका ७ वटै प्रदेशका कार्यालयमा पूर्वाधार विकास गर्नेदेखि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँग मिलेर धेरै कार्यक्रम गरेको छु । जिल्ला–नगर उद्योग वाणिज्य संघका साथीहरूलाई सीप विकास, अवलोकनलगायत धेरै कुरामा काम गरेको छु । कोभिड–१९ पछिको परिस्थितिमा नेपाल सरकारले लकडाउनमा पनि शतप्रतिशत नै तलब दिने सर्कुलर गरेको थियो । त्यति हुँदाहुँदै ट्रेड युनियनका प्रतिनिधिहरूसँग कुरा गरेर लकडाउन अवधिको ५० प्रतिशत मात्रै तलब दिने सहमति गराएँ । मेरो पद र कार्यक्षेत्रअनुसारको भूमिका मैले पूरा गरेको छु ।
अहिलेको अवस्थामा निजी क्षेत्रको ध्यान अर्थतन्त्र चलायमान बनाउन, भइरहेको रोजगारी टिकाउन, नयाँ रोजगारी कसरी सिर्जना गर्ने, आर्थिक पुनरुत्थानका काम अघि बढाउनेतिर हुनुपर्ने हैन र ?
महासंघमा नयाँ कार्यसमिति आउनैपर्ने भएकाले चुनावलाई प्राथमिकता दिएको जस्तो देखिएको छ । निजी क्षेत्र अहिले निर्वाचनमा मात्रै लाग्यो, एजेन्डामा आवाज कम भयो भनेर चर्चा भइरहेको छ । तर, निजी क्षेत्रको विषयमा महासघका तर्फबाट लबिइङ भइराखेको छ । कतिपय काम पूरा नभएको हुन सक्छ । तर, विषयवस्तुमै केन्द्रित भएन भन्ने हैन । जहाँसम्म चुनावको कुरा छ, यो आगामी १३ गतेसम्मका लागि मात्रै हो । माघदेखि नै हामी कोभिड र चुनावकै हिसाबमा दौडिइराखेका छौं ।

तर, तपाईंहरू गुट/उपगुटको भेला गर्ने, संक्रमणको पर्वाह नगरी सभा गर्नमै व्यस्त हुनुभयो नि ?
हो, यस्तो आलोचनाबारे म जानकार छु । यहाँले भनेजस्तो गुट/उपगुट नहोस्, चुनावमा अस्वस्थ प्रतिस्पर्धा नहोस्, व्यावसायिकका एजेन्डा नहराऊन् भनेरै वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था गरेका हौं । यसो गर्दा वरिष्ठ उपाध्यक्ष, वर्तमान अध्यक्ष स्वतन्त्र हुन्छन्, गुट/उपगुटमा लाग्दैनन् भन्ने चाहना थियो । तर महासंघको मर्मभन्दा फरक गतिविधि देखिएका छन् । वर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्षले एउटा व्यक्तिलाई लिएर हिँडेको देखियो । तर म चुनावबाटै होस् या सर्वसम्मतले वरिष्ठ उपाध्यक्ष भएपछि विधानको मर्मअनुसारकै वातावरण बनाउनमा प्रतिबद्धता व्यक्त गर्दछु ।
तपाईंले नै भनिसक्नुभयो– वर्तमान अध्यक्ष, हुनेवाला अध्यक्ष अर्को समूहमा छन् । धेरै पूर्वअध्यक्षहरू पनि तपाईंका साथमा छैनन् । यस्तो अवस्थामा तपाईंले निर्वाचनमा कसरी सफलता प्राप्त गर्नुहोला ?
धेरै पूर्वअध्यक्षहरूले अर्को पक्षलाई समर्थन गरिरहेको कुरा म मान्न तयार छैन । म उहाँहरूसँग सम्पर्कमा छु । एकदुईबाहेक सबै पूर्वअध्यक्षको सहयोग र शुभेच्छा रहेको छ । निर्वाचनमा सबैभन्दा महत्त्वपूर्ण हुन् । जिल्ला–नगर उद्योग वाणिज्य संघ, एसोसिएट, वस्तुगत, द्विराष्ट्रिय संघका मतदाता साथीहरूको माग हेर्नुभयो भने वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालकै नाम आउँछ । मेरो प्यानलका दुई साथीहरू त निर्विरोध निर्वाचित भइसक्नुभएको छ । सञ्चारमाध्यमहरू हेर्नुस्– जो निजी क्षेत्रकै प्रमुख स्टेक होल्डरहरू हुनुहुन्छ, उहाँहरूको समर्थन पनि मलाई नै छ । अहिलेसम्मको वातावरणअनुसार निर्विरोध नै निर्वाचित हुन्छु जस्तो लाग्छ । तथापि, यो कुरा १३ गते बेलुकासम्मका लागि मात्रै हो । शेखर गोल्छाजीको ठाउँमा म भइदिएको भए स्वतन्त्र भूमिका निर्वाह गर्थें । चुनावी माहोल हेर्दा किशोर र चन्द्रबीच भन्दा पनि शेखर र चन्द्रबीच निर्वाचन हुँदै छ जस्तो गरी प्रचार गरिएको छ । वास्तवमा शेखरजी प्रयोग हुनुभयो । मेरो प्रतिद्वन्द्वी समूहले शेखर गोल्छाको समूह भन्दै प्रचार गरिएको छ । तर पनि १३ गतेपछि मेरो अध्यक्ष शेखरजी नै हो । जुन पक्षबाट निर्वाचित भए पनि शेखरजीले गर्ने हरेक राम्रो काम निजी क्षेत्रको हो । मेरातर्फबाट कुनै गुटबन्दी हुनेछैन ।
तपाईंलाई विवादास्पद छविका पूर्वअध्यक्ष चण्डीराज ढकालको समर्थन छ । यसपालि महासंघको शुद्धीकरणमा तपाईं बाधक बन्नुभयो भन्ने आरोप छ नि ?
यो आरोप उहाँहरूले लगाउन सुहाउँदैन । पहिलाको निर्वाचनमा हेर्नुस्, चण्डीजी सबैको सहयोगमा जितेर आउनुभएको हो । शेखर गोल्छा, भवानी राणा, पशुपति मुरारकालाई हेर्नुस् न । उहाँहरूलाई जिताउन चण्डीजीको भूमिका अहिलेको भन्दा निकै बढी थियो । चण्डीजीले मलाई समर्थन गर्नुभएको छ । तुलना नै गरेर हेर्नुहुन्छ भने ७७ जिल्लामा मेरो व्यावसायिक नेटवर्क छ । मलाई साथ सहयोग नभएको क्षेत्र नै छैन । तर उहाँहरूले उल्टै महासंघमा शुद्धीकरण र सुदृढीकरणको कुरा गर्नुभएको छ । यो कुरा सुन्दा मलाई असजिलो लागिरहेको छ । अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष किशोर प्रधान, म, उमेशलाल प्रधान ३ कार्यकालदेखि काम गरिरहेका छौं । हामीले अहिलेसम्म गलत मात्रै काम गरेका हौं त ? उहाँहरूलाई अहिलेसम्म काम गर्नलाई केले रोक्यो र शुद्धीकरण/सुदृढीकरणको कुरा गर्दै हिँड्नुभएको ? महासंघको सुधारमा म बाधक भन्ने कुरा चुनावी फन्डा हो । १२/१५ वर्षदेखि महासंघमा हामीसँगै रहेर काम गरिरहेका छौं । तर अहिले महासंघको शुद्धीकरण र सुदृढीकरण भन्ने नारालाई आमजनताले हास्यास्पद रूपमा लिइरहेका छन् ।
तपाईंको आफ्नो धारणाचाहिँ के हो ? महासंघको छवि सुधार गर्नुपर्ने आवश्यकता छैन ?
महासंघको जुन छवि थियो, त्यो सर्वसाधारणमा र सरकारसँग अवश्य पनि कम भएकै हो । यसमा हामी सबै भागीदार छौं । विगतमा महासंघ एउटै मात्र छाता संगठन थियो । पछि नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स पनि आयो । उहाँहरूले पनि निजी क्षेत्रकै लागि काम गरिरहनुभएको छ । विभिन्न कारण महासंघप्रति हेर्ने दृष्टिकोण फरक परिरहेको छ । त्यसकारण म आइसकेपछि महासंघको नेतृत्वप्रतिको हेराइमा केही न केही परिवर्तन गर्नेछु । हाम्रो समूह समावेशी हुनुका साथै उद्योग व्यवसायको मर्म बुझेका व्यक्तिहरू हुनुहुन्छ । हामीले भौगोलिक र व्यावसायिक हिसाबले समावेशी समूह बनाएका छौं । सरकारले प्रदान गर्ने महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्राप्त गरेका दुई जना छौं । यो समूहले महासंघको छवि सुधार्ने छ ।
धेरै क्षेत्रमा तपाईंको लगानी छ । आफ्नै व्यापार व्यवसायको सुरक्षातिर लाग्नुपर्ने भएकाले निजी क्षेत्रका मुद्दा प्रभावकारी ढंगले उठान गर्न सक्नुहुन्न भन्ने आरोप छ ।
कुनै व्यक्ति व्यवसायी हुँदैन अथवा उसको व्यवसाय नै छैन भने उसलाई त्यो ठाउँमा लगियो भने के हुन्छ भन्ने विचार गर्नुपर्छ । महासंघमा नेतृत्व गर्ने व्यक्तिले खुद्र्रा पसलदेखि सबै क्षेत्रका पीडा तथा समस्याबारे थाहा पाउनुपर्छ । ती समस्या सम्बन्धित निकाय, नियमनकारी निकाय वा नेपाल सरकारसामु प्रस्तुत गर्नुपर्छ । त्यो वास्तविक उद्योगी व्यवसायी नै नेतृत्वमा पुग्नुपर्छ । मानौं कुनै एउटा डाक्टरलाई घरको नक्सा कोर्न दियो भने के हुन्छ ? यसको मतलब वास्तविक व्यवसायीले नीतिगत लबिइङ गर्न सक्छ । सम्बन्धित ठाउँमा आफ्ना कुरा राख्न सक्छ । त्यतिबेला मात्रै निजी क्षेत्रको विकास हुन्छ, छवि सुधार हुन्छ । म आम मतदातालाई भन्न चाहन्छु– महासंघमा नेतृत्व लिइसकेपछि म पुनः स–सानो संस्थामा गएर नेतृत्व लिनेछैन । मेरो आफ्नै व्यवसायका लागि मात्रै हैन समग्र निजी क्षेत्रकै अभियानमा मात्र काम गर्नेछु । नेतृत्व लिइसकेपछि मेरा व्यक्तिगत र मेरा व्यावसायिक चाहनाअनुसारका काम हुने छैनन् ।
तपाईं त बैंकर पनि हुनुहुन्छ । उद्योग व्यवसायका लागि ठूलो समस्या बैंकको ब्याजदर हो । अब तपाईं ब्याजदर घटाउनेतर्फ लबिइङ गर्ने कि बढाउनेतर्फ ?
महासंघले सबै एकल अंकको ब्याज लिने भनिरहेको छ । यो कुरामा हामीले नै लबिइङ गरिरहेका छौं । ब्याज बढी भएकै कारण उद्योग व्यवसाय फस्टाउन सकेन भन्ने कुरा मैले महसुस गरेको छु । म बैंकको एउटा प्रमोटर मात्रै हो । त्यसबाट आउने लाभांशभन्दा उद्योगलाई लिने ब्याजदर कम भयो भने बढी फाइदा हुन्छ । त्यसले मैले ब्याजदर बढाउनेमा प्राथमिकता दिइनँ । हाम्रा साथीहरूले चुनावी फन्डाका लागि यो विषय उठाएका हुन् । त्यसैले मेरो पहिलो प्राथमिकता ब्याजदर घट्नैपर्छ भन्ने हुन्छ । तथापि, बैंक पनि नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतकै सदस्य संस्था हुन् । उहाँहरू पनि डुब्नु हुँदैन भन्ने मेरो उद्देश्य अवश्य हुनेछ ।
निर्वाचनमा सहमतिको सम्भावना कति छ ?
सहमतिको सम्भावना अन्तिमसम्म रहन्छ नै । निर्विरोध हुन्छु भन्ने लागेको छ । हुन सकेन भने स्वस्थ हिसाबले प्रतिस्पर्धा गर्नेछु ।
किशोर प्रधानले त तपाईं जुनियर हुनुहुन्छ, धैर्य गर्दा रामो हुन्छ, एक पटकलाई छाडिदिए हुने भन्ने प्रस्ताव राख्नुभएको छ नि ?
उमेरमा धेरै हुँदैमा राम्रो काम गर्छ भन्ने कुरामा म विश्वास गर्दिनँ । अमेरिकाका राष्ट्रपति बाराक ओबामा, बिल क्लिन्टन र डोनाल्ड ट्रम्पलाई हेरौं न । कुन उमेरको व्यक्तिको कार्यकाल सफल भयो ?
पूर्वअध्यक्षहरूले उम्मेदवारी फिर्ता लिनेलाई विशिष्ट सदस्य वा मानार्थ उपाध्यक्षको प्रस्ताव गरिसक्नुभएको रहेछ होइन ?
मलाई जानकारी छैन । यो प्रस्ताव मान्य हुँदैन । मतदाता, जिल्ला–नगर उद्योग वाणिज्य सघ, वस्तुगत संघ, एसोसिएट लगायत सबै क्षेत्रका साथीको माग चन्द्र ढकाल नै भन्ने छ । यो हिसाबले पनि उहाँहरूले त्यो मलाई प्रस्ताव गर्नुहुन्छ जस्तो लाग्दैन । सहमति गरेर किशोर दाइलाई त्यो पदमा राखेर चुनाव नलडाउने हुन सक्छ । उहाँ मेरो आदरणीय हो । उहाँप्रति सम्मान छ । नयाँ युवा टिम लिएर निजी क्षेत्र हाँक्न भिजन लिएर हिँडेका छौं । उहाँले हामीलाई सहयोग गर्नुहुन्छ जस्तो लाग्छ । कान्तिपुर





