पोखरा, २८ मंसिर – मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले पोखरामा रक्तदान कार्यक्रम, खेलाडी सम्मान तथा १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा विशेष योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्ने भएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेश गुरुङले पुष २ गते एकेडेमीले रक्तदान कार्यक्रम, खेलाडी सम्मान तथा १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा विशेष योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्नेे जानकारी दिए ।
पोखरा रंगशालामा आयोजना हुने कार्यक्रम बारे जानकारी दिंदै उनले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा बक्सिङका स्वर्ण पदक विजेता नेपाल पुलिसका भुपेन्द्र थापा मगर, नेपाल आर्मीकी मिनु गुरुङ र सनिल शाहीलाई सुनको पदक सहित सम्मान गर्ने बताए ।
१३ औं सागमा बक्सिङको वन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको समयमा स्वर्ण पदक जित्ने खेलाडीलाई सुनको पदक दिने आफूले घोषणा गरे वमोजिम सागमा वक्सिङका तर्फबाट स्वर्ण पदक जित्ने खेलाडीलाई सुनको मेडलले सम्मान गर्न लागिएको संयोजक गुरुङले बताए ।
‘मैले बक्सिङका खेलाडीलाई हौसला प्राप्त होस भन्नका लागि घोषणा गरेको थिए, सो बमोजिम सुनको पदकबाट सम्मान गर्न लागेका हौं ।’ उनले भने, यस्तो सम्मानले खेलाडीलाई थप उर्जा मिल्ने विश्वास लिएका छौ । संयोजक गुरुङ वक्सिङका पूर्व खेलाडी तथा नेपाल बक्सिङ संघका पूर्व उपाध्यक्ष समेत हुन् ।
एकेडेमीले गत मंसिर ८ गते प्याराग्लाइडिङ दुर्घटनामा निधन भएका प्याराग्लाइडिङका पाइलट, वडी विल्डिङ तथा क्योकिशन कराते खेलाडी राजु नेपालीको परिवारलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने कार्यक्रम रहेको एकेडेमीका सचिब कृण्ण तिमिल्सिनाले जानकारी दिए ।
एकेडेमीले आयोजना गर्ने लागेको उक्त कार्यक्रमका लागि मनकामना केवलकार प्रालिका अध्यक्ष राजुबावु श्रेष्ठ र किष्ट अस्पतालका सिइओ तथा शसस्त्र प्रहरीका पूर्व महानिरिक्षक स्व.समिर थापाका छोरा आशिष थापाले सहयोग गर्ने संयोजक गुरुङले जानकारी दिए ।





