
बेनी, ३ पुस– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा देखिएको विवाद जिल्लातहका विद्यार्थी संगठनमा समेत देखिएको छ । पूर्व क्रान्तिकारीका जिल्ला उपाध्यक्ष यामनाथ पौडेलको शोक सभामा सहभागिहुन म्याग्दी आएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का सह–अध्यक्ष रन्जित तामाङलाई गुटगत भेला गरेको भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका विद्यार्थी नेताले विरोध गरेका छन् । अनेरास्ववियू म्याग्दीका अध्यक्ष सुवास विश्वकर्माले जिल्लामा प्रवेश गर्दा समेत संस्थागत जानकारी नभएको भन्दै सह–अध्यक्ष तामाङ सहभागी भएको पत्रकार सम्मेलन स्थलमै पुगेर कडा प्रतिवाद गर्दै पूर्व क्रान्तिकारीहरुलाई भेला गरेको आरोप लगाए । ‘सुटुक्क आएर गुटगत भेला गर्नुभयो, ‘यो संगठनको भावना विपरित हो’, अध्यक्ष विश्वकर्माले तामाङलाई लक्षित गदैं भनेपछि केहीबेर निकै विवाद भयो । शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलन लगत्तै ओली निकट विद्यार्थीका नेताले अनेरास्ववियूका केन्द्रीय सदस्य सुदिन पौडेल, म्याग्दीका सहअध्यक्ष रेशम कटुवालसँग विवाद गरे ।
पत्रकार सम्मेलन भएको स्थान बाहिर करिब आधाघण्टा दुबै पक्षबीच विवाद भएपछि सह–अध्यक्ष तामाङले आफूमाथि आक्रमणको प्रयास भएको भन्दै आपत्ति जनाएका थिए । यता, म्याग्दीका सहअध्यक्ष रेशम कटुवालले जिल्ला कमिटीमा सबैलाई सहअध्यक्ष आउने जानकारी गराएको बताए ।
‘हिजोका बैठकमा उहाँहरु (ओली पक्षधरले )शोकसभामा सहभागि हुने प्रस्तावलाई स्वीकार गर्न सक्नु भएन’, केन्द्रीय सहअध्यक्ष आउनु अगाडी नै गएर श्रद्धाञ्जली सभा गर्नुभयो’, कटुवालले भने । आफूले जिल्लाका सबै नेताहरुलाई जानकारी भएको बताउँदै सत्ताको दम्भ देखाएर अराजकता मच्चाएको आरोप लगाए । म्याग्दीको मंगला गाउँपालिका–२ ताराखेतमा स्वर्गीय पौडेलको घरमाहुने श्रद्धान्जली सभाको जानकारी चार दिनअगाडी नै रहेको कटुवालको भनाई छ । झन्डै दुवै पक्षबीच हातहालाहलको अवस्था आएको थियो । विवादलाई साम्यपार्न प्रहरी समेत पुगेका थिए । पार्टीको कार्यक्रममा गुटबन्दी गर्दै हिँड्ने गरेको यस अगाडी समेत ओली निकटले आरोप लगाउने गरेका थिए । जिल्लामा आउने क्रममा देखाइएको उच्छृङ्खल तालाई केन्द्रमा समेत जानकारी गराउने सह–अध्यक्ष तामाङले बताएका छन् । उनले आफ्नो कुनै स्वार्थ नभएको र सहकार्यबाटै पार्टीको विवाद समाधानको प्रयास गरेपनि अनावश्यक विवादले थप तिक्तता बढेको बताएका छन् । पत्रकार सम्मेलनमा ओली पक्षधर जिल्ला अध्यक्ष सुभाष विकले आफूहरुलाई जानकारी नगराई केन्द्रीय नेतालाई बोलाएको जिकिर गरेकाथिए ।





