पोखरा, ५ पुस– गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा तनहुँले स्याङ्जाालाई ११ रनले पराजित गरेको छ । टस जितेको स्याङ्जाले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको तनहुँले निर्धारित ५० ओभरको खेलमा ४३.२ ओभरमा आफ्नों सम्पूर्ण विकेट गुमाउँदै १ सय ४० रनको योगफल तयार पारेको थियो । तनहुँका लागि समिर कँडेलले २६ तथा करुण सिरमलाले १७ रन जोडे ।
स्याङ्जाको बलिङमा अशोक श्रेष्ठ र सुरज गुरुङले तीन तीन विकेट लिए भने विष्णु पाण्डेले दुई तथा मिलन लुइँटेल र सुजन गौतमले एक एक विकेट लिए । जितका लागि १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा स्याङ्जााले ४७.२ ओभरमा १ सय २९ रनको योगफलमा सम्पूर्ण विकेट गुमाउन पुग्यो । स्याङ्जाको तर्फबाट विष्णु पाण्डेले २३, अशोक श्रेष्ठले १९ तथा हिमेश ठकुरीले १६ रन जोडे । तनहुँको बलिङ्गमा करुण सिरमला, राजु गुरुङ र चन्द्रकान्त पौडेलले दुई दुई विकेट लिए । विनय भण्डारीले एक विकेट लिए ।
ब्याटिङ्गतर्फ १७ रन तथा बलिङतर्फ २ विकेट लिएका तनहुँका करुण सिरमला म्यान अफ द म्याच भए । उनलाई तनुहँ क्रिकेट संघका अध्यक्ष ताराराम श्रेष्ठले म्यान अफ द म्याचको ट्रफि प्रदान गरेका थिए । प्रतियोगिगतामा आइतबार नवलपुर र तनहुँ भिड्नेछन् ।





