पर्वत, ९ पुस– कोरोना सङ्क्रमण पोजेटिभ रहेको अवस्थामा पोखरामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा मृतकहरूको सङ्ख्या एक सय ९० पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा यसको पुष्टि गरिएको छ । विज्ञप्ति अनुसार तनहुँको म्याग्दे गाउँपालिका–५ का ७३ वर्षीय पुरुषको बुधवार साँझ सवा पाँच बजे मृत्यु भएको हो । बुधवार नै कोरोना सङ्क्रमणको पुष्टि भएका ती पुरुषको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । निर्देशनालयका अनुसार ती पुरुषमा निमोनिया, उच्च रक्तचाप लगायतका रोगको सङ्क्रमण रहेको थियो । यस्तै स्याङ्जाको फेदीखोला गाउँपालिका–१ का ७४ वर्षीया महिलाको पनि उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । पुस पाँच गते सङ्क्रमणको पुष्टि भएकी ती महिलाको बुधवार राती साढे आठ बजे मृत्यु भएको हो। ती महिलामा निमोनियाको पनि सङ्क्रमण रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।




