पोखरा, १० पुस- पोखरामा अहिले अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला छ भनेर पोखरेलीवासी फुरुङ्ग छन् । तर, दुर्भायपूर्ण कुरा फुटबल मैदान अन्तर्राष्ट्रियस्तरमा हुनुपर्ने मापदण्ड अनुसार भने छैन । विश्व फुटबल संघ (फिफा) को मापदण्ड अनुसार फुटबल मैदानमा स्कोर बोर्ड र फ्लड लाइट हुनै पर्दछ । यदि मैदान अन्तर्राष्ट्रिय भएपनि आवश्यक मापदण्ड पुगेन भने अन्तर्राष्ट्रिय खेल खेलाउन फिफाले मान्यता दिँदैन । यतिमात्र होइन लाइट र स्कोर बोर्ड नहुँदा प्रतियोगिता खेल्न समेत मान्दैनन् । मैदानलाई एसियाली फुटबल महासंघ (एएफसी)ले समेत अयोग्य ठह¥याउँछ । तीमध्ये निमार्णाधीन अवस्थाको फुटबल मैदान पनि हो ।
नेपालले विश्वकप छनोटअन्तर्गत घरेलु मैदानमासमेत खेल्दैछ । कोरोना महामारीको कारण विश्वकप छनोट खेलको मिति पछाडी धकेलिएको छ । पोखरा फुटबल मैदान निमार्णको पहिलो चरणमै लाइट र स्कोरबोर्डको लागि समेत बजेट छुट्टिएको भए पोखराले विश्वकप फुटबल छनोट खेल खेलाउन सक्थ्यो ।
एएफसीले कतारमा हुने फिफा विश्वकप २०२२ को छनोट चरणअन्तर्गत समूह चरणको बाँकी खेलको खेल तालिका सार्वजर्निक गरेको छ । सन् २०२० कै मार्चमा हुने तय भएको खेल कोरोना भाइरस संक्रमणका कारण अक्टोबर र नोभेम्बरलाई सारिएको थियो पुनः अवस्था सामान्य नहुँदा नेपालले बाँकी खेल मार्च र जुन महिनामा खेल्ने तय भएको छ । नेपालले र चाइनिज ताइपेइसँग चैत १२ गते, अष्ट्रेलियासँग १७ गते खेल्नेछ भने विश्वकप छनोटको अन्तिम खेल जेठ २४ गते जोर्डनसँग खेल्ने छ ।
यी खेल पोखरामा खेलाउने अझै सम्भावना छ । तर, त्यसको लागि फुटबल मैदानमा फ्लड लाइट र स्कोरबोर्ड राख्न आवश्यक छ ।
खेल गराउन सक्छौँ : गुरुङ
‘ फ्लड लाइट र स्कोरबोर्ड राख्न सकेको खण्डमा पोखरामा विश्वकप फुटबल छनोट खेल ल्याउन सकिन्छ,। मापदण्ड पुगे सबै छनोट खेल ल्याउन सक्थ्यौँ’, कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले भने । उनले फ्लड लाइट र स्कोरबोर्ड राख्ने समय अझै बाँकी रहेको पनि बताए । पोखरामा विश्वकप छनोट खेल ल्याउन सके फुटबलका साथै पर्यटनको समेत विकास हुने उनको भनाइ छ । उनले पोखरामा हुनसक्ने खेल दुई पूर्वाधारको अभावले हुन नसक्नु दुःखद् रहेको बताए । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष अध्यक्ष कर्माछिरिङ शेर्पालगायतको केन्द्रको टोलीले रंगशालाको अवलोकन गरी छनोट खेल गराउन नसकिए पनि चार वटा मैत्रीपूर्ण खेल भने गराउने बाचा गरेको उनले बताए । रंगशालामा फ्लड लाइट र स्कोरबोर्डको लागि डिजाइन भने तयार भइसकेको छ । उक्त योजनाको लागि भने १५ करोड रुपैयाँभन्दा बढी लागत लाग्ने इन्जिनियर प्रनिश ताम्राकारले जानकारी दिए । पहिलो चरणमा लाइट र स्कोरबोर्डको लागि रकम छुट्टिएन । ‘हामीले डिजाइन तयार गरेका छौँ । दोस्रो चरणमा राख्न सक्छन्’, ताम्राकारले भने ।
बत्तीमुनिको अध्याँरो !
गण्डकी प्रदेशले खेलकुदको सर्वोच्च निकायमा आफ्नै अभिभावक पाएको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्मा दुई सदस्य प्रदेशकै छन् । जसमा पोखराका राजेश गुरुङ र बाग्लुङका सम्पन्न श्रेष्ठ रहेका छन । यसरी हेर्दा प्रदेशको राजधानीमा छनोटअन्तर्गतका कुनै एक खेल ल्याउन सकस थिएन । तर, विडम्बना ! फुटबलको लोकप्रियता बढी भएको सहरमा ठूलो प्रतियोगिता भने देख्न पाइने छैन । लाइट र बोर्ड तत्कालै राख्न प्रयत्न गर्ने हो भने खेल गराउन सकिन्छ । प्रदेश र स्थानीय सरकारलेसमेत यसमा रकम छुट्याएर पहल गरे पोखराको खेलकुदमा कायापलट समेत आउन सक्छ ।
पहिलो चरणमा १ अर्ब २८ करोड रुपैँयामा १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिटसहितको मैदान निमार्ण गरेपनि पोखरामा फुटबल लोकप्रिय रहेकाले त्यसलाई बढाएर २० हजार पु¥याउने योजना अघिसारिएको थियो । पोखरा रंगशालाको पहिलो चरणको काम अन्तिम चरणमा छ । खेलमैदान, प्यारापिट, ट्रयाक,शौचालयलगायत पूर्वाधारको काम सम्पन्न भइसकेका छन भने रंगशालामा सुविधासम्पन्न भवन निमार्णको काम हुँदैछ भने छानो राख्ने काम भने बाँकी रहेको छ ।





