अधिकांश व्यक्ति संक्रमित भएको तर अज्ञानता, लाज र अत्यधिक कष्टकर नभएको कारण ९० प्रतिशत संक्रमितले लुकाएरै राखेको समस्या हो, गनोरिया । गनोरियालाई आयुर्वेदमा धातुरोग भनेर चिनिन्छ । गनोरिया अंग्रेजी शब्द हो । अंग्रेजीमा यसलाई गनोकोक्कल इन्फेक्सन, गनोकोक्कल युरेथ्राइटिस वा द क्ल्याप भनेर पनि चिनिन्छ । निसेरिया गनोरी नामक ब्याक्टेरियमका कारणले हुने यो रोग यौन सम्पर्कबाट सर्ने सरुवा रोग हो । पुरुषहरूमा यो रोग लागेको बेला पिसाब गर्ने बेलामा पोलेको महशुस हुने तथा लिङ्गबाट झोल पदार्थ निस्कने हुन्छ ।त्यस्तै महिलाहरूमा धेरै समयसम्म कुनै लक्षणहरू नदेखिने वा योनीबाट झोल पदार्थ निस्कने र तल्लो पेट दुख्ने हुन सक्छ । महिला तथा पुरुष दुबैमा लामो समयसम्म गनोरियाको उपचार गरिएन भने शरीरका अन्य भागमा पनि संक्रमण हुन सक्छख। यौनाङ्ग आसपासमा फैलिएर अण्डकोषपछाडि रहेको नसा (इपिडिडाइमिस) सुन्निने वा तल्लो पेट सुन्निने रोग लाग्ने वा पूरै शरीरभरि फैलिएर जोर्नीहरू तथा मुटुका भल्भहरूमा असर पु¥याउन सक्छ ।
यौन क्रियाकलापमा सक्रिय २५ वर्षभन्दा मुनिका महिलाहरूलाई प्रत्येक वर्ष गनोरियाका लागि परीक्षण गराउन गराउन अनुरोध गर्दछु । त्यस्तै समलिंगी यौनसम्पर्क गर्ने महिला तथा पुरुषमा पनि यही अनुरोध गर्दछु ।
कन्डमको प्रयोग गरेर गनोरियाबाट बच्न सकिन्छ ।पहिला प्रयोग गरिने एन्टिबायोटिक औषधिहरूको प्रतिरोध विकसित भएको हुनाले हाल यसको उपचारमा सेफ्ट्रियाजोन नामको एन्टिबायोटिक औषधि प्रयोग गरिन्छ । गनोरिया क्लामेडिया ब्याक्टेरियाको संक्रमणकोसाथमा आउन सक्ने र सेफ्ट्रियाजोनले यस्तो संक्रमण निको पार्न नसक्ने भएकोले साधारणतया सेफ्ट्रियाजोन पनि अजिथ्रोमाइसिन वाडोक्सिसाइक्लिनसँग दिइन्छ । कतैकतै गनोरियाका ब्याक्टेरियाले सेफ्ट्रियाजोनको पनि प्रतिरोध गरेको पाइएको छ । जसले यसको उपचार झनै कठिन भएको छ ।यसको पूर्ण निदानका लागि तीन महिनाको उपचारपछि पुनः परीक्षण गर्नुपर्छ ।
औसत अनुमान गरिए अनुसार प्रत्येक वर्ष लाग्ने ४४ करोड ८० लाख उपचार गर्न सकिने यौन रोगहरू (गनोरिया, भिरिङ्गी, क्लामेडिया रट्रिकोमोनियासिस) मध्ये ८ करोड ८० लाख मानिसलाई गनोरिया लाग्ने गरेको पाइन्छ । महिलामा यस्तो संक्रमण भर्खरै वयस्क अवस्था लागेको बेलामा देखा पर्दछ ।लक्षण तथा चिन्हहरू
गनोरिया लागेका लगभग आधा जति महिलाहरूले लक्षण देखाउँदैनन् भने बाँकी महिलाहरूमा योनीबाट तरल पदार्थ निस्कने, तल्लो पेटदुख्ने वा सम्भोग गर्दा पीडा हुने जस्ता लक्षणहरू देखिन्छन् । त्यस्तै यो रोगबाट संक्रमित पुरुषहरूमा वीर्यवाहिनी नली सुन्निने हुनाले पिसाब गर्ने बेलामा पोलेको महशुस हुने तथा लिङ्गबाट तरल पदार्थ निस्कने जस्ता लक्षणहरू देखिन्छ । गनोरिया लागेका आधा जतिपुरुषहरूमा पिसाब गर्ने बेलामा पोलेको महशुस भएर वा नभइकन पनि लिङ्गबाट तरल पदार्थ निस्कने लक्षण देखा पर्न सक्छ ।योगनोरिया लागेका पुरुषहरूमा सबैभन्दा बढी देखिने साझा समस्या पनि हो । संक्रमित व्यक्तिसँग मुखमैथुन गर्ने पुरुष वा महिलालाई घाँटीको गनोरिया पनि हुन सक्छ । प्रायःजसो यस्तो समस्या पुरुषहरूमा बढि देखिने गर्छ । यस्तो संक्रमण भएका करीब ९०५ ले कुनैपनि लक्षण देखाउँदैनन् भने बाँकी १०५ मा घाँटी दुख्ने समस्या देखापर्छ । गनोरिया जटिल अवस्थामा पुगेमा यसले अन्य संक्रमणहरूमा जस्तैः थकान महशुस गराउँछ । केही संक्रमितहरूले ब्याक्टेरियाप्रति एलर्जीयुक्त प्रतिक्रिया जनाउँछन् । यस्तो अवस्थामा देखिने सबै लक्षणहरू निकै ठूलो रूपमा देखा पर्छन् ।गनोरियाका कीटाणु शरीरमा छिरेपछि सक्रिय हुन २ देखि १४ दिनसम्म लाग्छ भने संक्रमणको ४ देखि ६ दिन भित्रमा प्रायः लक्षणहरू देखिन थाल्छन् । गनोरियाले कहिलेकाहिँ रक्तसञ्चार प्रणालीमा प्रवेश गरी छालामा प्रभाव देखाएर घाउ पनि बनाउने र जोर्नीको संक्रमण गराउँछ । त्यस्तै एकदमै थोरै अवस्थाहरूमा यो रोगका कीटाणुहरू मुटुमा बसेर यसका भित्रि कोठाहरूमा हुने पातलो झिल्ली(इन्डोकार्डियम) सुन्निने समस्या वा मेरुदण्ड हुँदै मस्तिष्कसम्म पुगेर मेनिन्जाइटिस पैदा गर्न सक्छ । हाल सम्म यी दुवै समस्याहरू रोगप्रतिरोध क्षमता घटाइएका व्यक्तिहरूमा मात्र पाइएको छ । पुरुषहरूमा हुने गनोरियाले अण्डकोषको क्यान्सर विकसित हुने जोखिम बढाउँछ ।
कसरी फैलिन्छ ?
गनोरिया प्रायःजसो योनी, मुख वा मलद्वारमा गरिने मैथुनले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । संक्रमित महिलासँग एकपटक यौनसम्पर्क राखेका पुरुषहरूलाई यो रोग सर्ने सम्भावना २० प्रतिशत हुन्छ । पुरुषसँग सहवास गर्ने पुरुषहरूलाई गनोरिया सर्ने सम्भावना अझ बढी हुन्छ । संक्रमित पुरुषसँग एकपटक मात्र यौनसम्पर्क राखेका महिलाहरूमा यो रोग सर्ने सम्भावना ६०/८० प्रतिशत हुन्छ । गर्भवतीमहिलामा गनोरिया लाग्यो भने गर्भमा रहेको बच्चालाई पनि यसको संक्रमण हुन सक्छ ।
बच्चा जन्मिने बेलामा यदि आमालाई गनोरिया लागेको छ भने उक्त बच्चालाई सर्न पनि सक्छ । यसरी सरेको संक्रमणले शिशुको आँखामा असर पु¥याउँछ । यस्तो संक्रमणलाई अप्थाल्मियी नियोन्याटोरम भनिन्छ ।
हालसम्म बालबालिकाहरूमा यो रोग यौन क्रियाकलापबाट नभएर विभिन्न प्रदुषित वस्तुहरूबाट सरेको पाइएको छ । त्यस्ता वस्तुहरूमा बाथटब, कपडाहरू तथा तौलियाहरू पर्दछन् । तैपनि, यस्तो संक्रमण अत्यन्तै कम हुने गर्दछ ।
कसरी पहिचान गर्ने ?
परम्परागत रूपमा गनोरियाको पहिचान गर्न ग्राम स्टेन तथा प्रयोगशालामा कल्चर गर्ने गरिन्थ्यो । तर आजभोलि पलिमराज चेन रियाक्सन(पिसिआर)मा आधारित नयाँ प्रविधिहरू प्रचलनमा रहेका छन् । प्रारम्भिक उपचार प्रभावहीन भएकाहरूमा एन्टिबायोटिक औषधिहरूको प्रभावकारिता परीक्षण गर्न प्रयोगशालामा कल्चर गरिनु पर्छ।गनोरियाको परीक्षण गर्दा संक्रमण भएको क्लामिडिया पाइएकाहरूलाई क्लामिडिया, भिरिङ्गी तथा एचआइभी जस्ता अन्य यौनरोगका लागि पनि परीक्षण गरिनु पर्छ ।
कसरी बच्न र सुरक्षित हुन सकिन्छ ?
अन्य यौनरोगहरू जस्तै कन्डमको सही तरिकाले प्रयोग गरेर गनोरियाको संक्रमणको जोखिम घटाउन सकिन्छ । त्यस्तै भरपर्दो एकजनासँग मात्र यौन सम्बन्ध राख्नाले यो रोगको संक्रमणको जोखिम पूर्ण रूपमा हटेर जान्छ।पहिला सङ्क्रमित भएर उपचारगराइसकेकाहरूलाई संक्रमण पूर्णरूपमा निदान भए नभएको परीक्षण गर्न आउन हौसला प्रदान गर्नुपर्छ । फोनबाट सम्पर्क गरेर बोलाउनाका साथसाथै इमेल तथा एसएमएस गरेर पुनः परीक्षणको लागि बोलाउँदा प्रभावकारी हुन्छ ।
कसरी व्यवस्थापन गर्ने ?
गनोरियाको उपचारमा प्रभावकारी पाइएका केही एन्टिबायोटिक औषधिहरू मध्येको एक सेफ्ट्रियाजोन सुई लगाएर दिइने औषधि हो । साधारणतया यो औषधि अजिथ्रोमाइसिन वा डोक्सिसाइक्लिनसँग मिलाएर दिइन्छ । बढ्दो एन्टिबायोटिक प्रतिरोधका कारणगनोरियाको उपचारबारे निर्णय गर्नुभन्दा पहिला स्थानीय ब्याक्टेरियाको अवस्थालाई ध्यान दिनु आवश्यक छ ।
उच्च प्रतिरोध दर भएका कारण पहिला प्रभावकारी रहेका पेनिसिलिन, टेट्रासाइक्लिन तथा फ्लुरोक्विनोलोन्स जस्ता एन्टिबायोटिकहरू अहिले गनोरियाको उपचारमा सिफारिस गरिँदैन । सेफिजाइम नामको एन्टिबायोटिकको पनि धेरैमात्रामा प्रतिरोध भएको पाइएकोले अमेरिकामा यसलाई पहिलो स्तरको उपचारमा प्रयोग गर्न छोडिएको छ । यदि कुनै रोगी व्यक्तिमा यसको प्रयोग गरियो भने एकहप्तापछि पुनः परीक्षण गरेर सङ्क्रमण नियन्त्रणमा आए/नआएको पत्ता लगाउनु पर्छ । सेफ्ट्रियाजोनको पनि प्रतिरोध भएको पाइएको छ तर यसको प्रतिरोध बिरलै हुने गरेको छ । स्वास्थ्य सेवाका हाल देखिएको प्रतिरोध जारी रहेमा गनोरियाले विश्वभर महामारीको रूप लिनसक्ने चिन्ता छन् ।
गनोरियाको संक्रमण भएका व्यक्तिका यौन सहचारीहरूको पनि उपचार गर्न प्रोत्साहन गर्नुपर्छ । यस्ता यौनसहचारीको उपचार गर्न बिरामीले औषधि लगेर आफ्नो सहचारीलाई दिने पिडिपिटी उपचार विधि अपनाइन्छ । यस्तो विधिमा स्वास्थ्य परीक्षण नै नगरी बिरामीको यौन सहचारीको लागि औषधि सिफारिस गर्ने गर्दछन् । अमेरिकाको रोग नियन्त्रण तथा सुरक्षा केन्द्र (सिडिसी)ले गनोरियाको ब्याक्टेरियम फैलनबाट रोक्न गनोरियाको पहिचान भएर उपचारगरेका व्यक्तिहरूले उपचारको अन्तिम दिनपछि कम्तिमा एक हप्तासम्म यौनसम्पर्क नराख्न सिफारिस गरेको छ । गनोरिया लागेपछि पनि शरीरले कुनै प्रतिरोध क्षमता प्राप्त नगर्ने हुनाले यो रोगका वाहकहरूसँग असुरक्षित यौनसम्बन्ध राख्नेहरूलाई फेरि संक्रमण पनि हुनसक्छ । गनोरियाका ब्याक्टेरिया शरीरमा भएपनि केही मानिसहरूमा रोगका लक्षणहरू नदेखिन पनि सक्छन् तर यिनीहरूबाट अरू मानिसमा सरेपछि ब्याक्टेरियाहरू सक्रिय हुन पनि सक्छन् ।
भिरिङ्गीका ब्याक्टेरिया जस्तै गनोरियाका ब्याक्टेरिया पनि अति कमजोर हुन्छन्। यी ब्याक्टेरिया मानिसको शरीर बाहिरकोवातावरणमा घुलमिल हुन सक्दैनन् र केही मिनेटदेखि केही घण्टाभित्र मरिसक्छन् । यी ब्याक्टेरियालाई साबुन पानीले हात धोएर सजिलै हटाउन सकिन्छ । ओच्छ्यान वा कपडामा सरेका ब्याक्टेरिया पनि केही समयमा मरेर जान्छन् । प्रायःजसो पौडी पोखरीहरूमा (स्विमिङपुल) राखिएको क्लोरिनले यी ब्याक्टेरियालाई सजिलै मार्छ ।





