पोखरा,८ माघ– राष्ट्रिय महिला फुटबल लिगमा सावित्रा भण्डारी (सम्बा)को ह्याट्रिकसँगै शसस्त्र प्रहरी बल (एपिएफ) क्लबले उत्कृष्ट विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्लेक्सको खेल मैदानमा जारी लिगमा एपिएफले चन्द्रपुर नगरपालिकालाई ६–० को फराकिलो गोल अन्तरले हराएको हो ।
एपिएफको जितमा साम्बाले ह्याट्रिकका तथा अन्जली योन्जन, अनिता बस्नेत र प्रिती राईले समान १–१ गोल गरिन् । साम्बाले खेलको १४ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाइन् ।
२२औं मिनेटमा कप्तान अनिता बस्नेतको कर्नरमा सुनिता भोलान र सरु लिम्बुबीच बल डिफ्लेक्ट हुदा अन्जलीले सहजै गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिरेकी थिइन् । दोस्रो हाफमा एपिएफले ४ गोल थपेको थियो । प्रती राईले डेब्यू खेलमै गोल गरेकी छिन् । नेपाली यू १५ र १६ को कप्तानी समेत गरेकी प्रितीले चन्द्रपुर नगरपालिकाविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गर्दै एपिएफको लागि डेब्यू गरेकी हुन् । यस्तै लिग अन्तर्गत बिहिवार नै सम्पन्न विराटनगर नगरपालिका र वालिङ नगरपालिका बीचको खेल १–१ को बराबरीमा सकिएको छ ।





