शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सम्भावना भएरपनि विश्वकप गुमाएको पोखरा

सम्भावना भएरपनि विश्वकप गुमाएको पोखरा

पोखरामा रहेको प्राकृतिक मैदानले खेलाडी उत्साहित ।


  • विजय नेपाली
  • माघ ११ २०७७, आइतबार

पोखरा, ११ माघ- विश्वकप छनौटअन्तर्गत तयारी तथा खेलाडी छनौटमा रहेको नेपाली फुटबल टोली प्रशिक्षणको लागि यतिबेला पोखरामा छ ।
पोखरामा प्रशिक्षण गरिरहेको देख्दा लाग्छ ,‘कास ! राष्ट्रको जर्सी लगाएर विश्वकप छनोट खेल पोखरामै भइदिएको भए !’ पोखरा आएका खेलाडी तथा अफिसियल निकै हर्षित देखिन्छन् । उनीहरु पोखराको प्राकृतिक मैदानमा प्रशिक्षण गर्न पाउँदा औधी खुुसी छन् । हिमालको मुनि विदेशी टिमसँग फुटबल खेल्दाको मज्जा सायदै नेपालमा पोखरामै सम्भव छ । पोखराको सुन्दरता त्यसमाथि पनि प्राकृतिक मैदान ।
तर, विडम्बना पोखराले आफ्नै राष्ट्रको प्रशिक्षणबाहेक फिफा तथा एएफसीको कुनैपनि खेल पाउने छैन् । पोखरामा अन्तर्राष्ट्रियस्तरको मैदान मात्र छ । फिफा र एएफसीको मापदण्ड भित्र हुनुपर्ने प्रविधि यहाँ छैन । फ्लड लाइट र स्कोर बोर्ड नहुनु पोखराको लागि अभिसाप जस्तै बनेको छ ।
फ्लड लाइट र स्कोरबोर्ड नहुँदा विश्वकप छनोट खेल गुमाएको छ । करिब १० करोड भएको भए वा अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सहकार्य र समन्वय गरेको भए एन्फाले फिफाबाट फ्लड लाइट तथा स्कोरबोर्ड राख्न सक्थ्यो । तर, नेपाल सरकारले आफै बनाउँदा पहिलो चरणमा फ्लड लाइट र स्कोरबोर्डलाई रकम विनियोजन गरेन् । जसको कारण देशकै उत्कृष्ट फुटबल मैदानले घरेलु मैदानमा हुने विश्वकप फुटबल छनौट खेल गुमाएको छ ।
१ अर्ब २८ करोड रुपैँयामा १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिटसहितको मैदान निमार्णको काम अन्तिम चरणमा छ । मैदानमा प्रतियोगिता संचालन गर्न सकिन्छ ।
महत्वपुर्ण अवसर बन्न सक्छ : पूर्वकप्तान विराज महर्जन
नेपाली राष्ट्रिय टोलीका सिनियर खेलाडी तथा पूर्वकप्तान विराज महर्जनले पोखरामा विदेशी टोलीसँग खेल्न पाए टिम, खेलाडी र राष्ट्रको लागि एउटा अवसरको रुपमा रहनसक्ने बताएका छन् । पोखरा फुटबल मैदानमा फिफा तथा एएफसीअन्तर्गतको खेलको अवसर पाए नतिजामा समेत परिवर्तन आउने उनले बताए । ‘पोखरामा पनि हामी विदेशी टिमसँग खेल्न पाए एउटा अवसरको विकास हुन्थ्यो । खेलाडीको स्तरमात्र होइन् समग्र फुटबलको विकास हुन्थ्यो’,उनले भने । राजधानी बाहिर पहिलोपटक प्रशिक्षणमा आउँदा खेलाडीहरुले निकै रमाइलो र मानसिक रुपमा बलियो महसुस गरेको उनले बताए । टोलीमा अधिकांश नयाँ खेलाडीहरु रहे पनि सिनियर र जुनियरको समन्वय राम्रो भएको कारण नतिजा राम्रो आउने अपेक्षा लिएको उनको धारणा थियो ।
स्तरीय खेल खेल्न पाए बलियो हुने थियौँ : मुख्य प्रशिक्षक
टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पोखराको मैदान उत्कृष्ट रहेको र प्राकृतिक मैदानमा स्तरीय टिमसँग मैत्रीपूर्ण वा प्रतियोगिता खेल्न पाए टिमको तयारीबारे थाहा हुने प्रतिक्रिया दिएका छन् । ‘हामी हाम्रो प्लानिङ अनुसार नै आएका हौँ । विगतको भन्दा अहिले मैदानको वातावरण राम्रो छ । खेलाडीलाई मानसिक रुपमा फिट राख्नको लागी फरक–फरक स्थानमा सुविधा सम्पन्न पुर्वाधारमा प्रशिक्षण गराउँदा भोलीका दिनमा विदेशी टिम समेत आउए प्रशिक्षण गर्न सक्छन् । यो एउटा अवसर पनि हो’,उनले भने । उनका अनुसार टोली तेस्रो चरणको प्रशिक्षणको लागि विदेश जानेछ । उनका अनुसार राष्ट्रिय टोली हाइकिङ समेत जानेछ ।
लाइट राखे अझै सम्भावना छ : अध्यक्ष गुरुङ
कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले फ्लड लाइट र स्कोर बोर्ड राख्न सके पोखरामा घरेलु मैदानमा हुने विश्वकप छनोटअन्तर्गतका कुनै एक खेल पोखरामा ल्याउन सम्भव रहेको प्रतिक्रिया दिएका छन् । ‘पहिले नै अलिकति रकम बढाएर हालेको भए अहिले प्रशिक्षणमात्र होइन खेल नै पोखरा आउने थियो’,उनले भने,‘ हामीले सम्भावना बोकेका छौँ । फ्लड लाइट र स्कोरबोर्ड राखेको खण्डमा प्रतियोगिता ल्याउन सकिन्थ्यो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->