बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

सेनाका महतरालाई व्यास अल्ट्रा म्याराथनको उपाधि

सेनाका महतरालाई व्यास अल्ट्रा म्याराथनको उपाधि


  • विनोद ढुंगाना
  • माघ १६ २०७७, शुक्रबार

तनहुँ, १६ माघ – व्यास अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले उचालेका छन् । शुक्रबार शहिद दिवसको अवसरमा व्यास नगरपालिकाले आयोजना गरेको चौथो संस्करणको म्याराथनको निर्धारित दुरी तीन घण्टा तीन मिनेट ५१ सेकेण्डमा पार गर्दै उनले उपाधी हात पारेका हुन् । उपाधीसंगै उनले ८५ हजार ७७ रुपैयाँ प्राप्त गरे ।
कालिकोटका महतरा तेस्रो संस्करणको म्याराथनमा दोस्रो भएका थिए । उनी गत पुस २७ गते तनहुँकै ऋषिङ गाउँपालिकाले आयोजना गरेको प्रथम ऋषिङ म्याराथनमा सान्तवना स्थान हासिल गरेका धावक हुन् ।
सोलुखुम्बुका सुमन कुलुङ राई तीन घण्टा आठ मिनेट एक सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए । उनी गतबर्षको उपाधी विजेता समेत हुन् । गत बर्ष उनले दुई घण्टा ५९ मिनेटमा उक्त दुरी पार गरेका थिए ।
त्रिभुवन आर्मी क्लबमा आबद्ध रामेछापका बेदबहादुर सुनुवार तीन घण्टा १० मिनेट पाँच सेकेण्डमा पार गर्दै तेस्रो हुन सफल भए । यी दुईले क्रमशः ६५ हजार ७७ रुपैयाँ र ५५ हजार ७७ रुपैयाँ पाएका छन् । पहिलो, दोस्रो र तेस्रो पुरस्कार राशी गत बर्षको तुलनामा चार हजार एक रुपैयाँले बृद्धी भएको हो ।
भोजपुरका सविन तामाङ तीन घण्टा ३० मिनेट ५८ सेकेण्ड, बैतडीका नरेन्द्रसिंह रावत तीन घण्टा ३६ मिनेट १३ सेकेण्ड, रुकुमका दुर्गाराज बुढा तीन घण्टा ३६ मिनेट २६ सेकेण्ड, तनहुँ व्यासका प्रमिश गुरुङ तीन घण्टा ३७ मिनेट ४८ सेकेण्ड र गोरखाका सक्षम गुरुङ तीन घण्टा ३७ मिनेट ५९ सेकेण्डमा दुरी पार गर्दै सान्त्वना स्थान प्राप्त गरे । उनीहरुले जनही १६ हजार ७७ रुपैयाँ प्राप्त गरेका छन् ।
व्यास नगरपालिका–५ मानहुँकोटदेखी व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किलोमिटर दुरीमा धावक दौडिएका थिए । मानहुँकोटको सिद्ध मार्ग हुँदै दमौली, कलेस्ती, बगुवा, रिस्ती हुदै पुलिमराङ पुगेर टुगिंएको हो । आठ स्थानमा विन्दू बनाईएको थियो ।
म्याराथनमा २० जिल्लाका १ सय ८० धावकले सहभागिता जनाएका थिए । तनहुँसंगै कास्की, गोरखा लमजुङ, स्याङ्जा, सिन्धुली, बागलुङ, रुकुम, सोलुखुम्बु, पर्वत, काठमाडौ, धादिङ, म्याग्दी जिल्लाबाट धावक सहभागी भएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->