तनहुँ, ९ फागुन– मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको विजेता खेलाडीलाई तनहुँमा स्वागत गरिएको छ । प्रतियोगितामा तनहुँका खेलाडी पुरुषतर्फ प्रथम र महिलातर्फ तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।
उनीहरुलाई जिल्ला भलिबल संघ तनहुँले आईतबार स्वागत सम्मान सहित सदरमुकाम दमौली बजार परिक्रमा गराएको हो । पञ्चेबाजा घन्काउदै खेडाीलाई दमौलीको अनसनचोक, सफासडक, गणेशमानचोक, मालपोत लाइन परिक्रमा गरार्ईएको थियो ।
खेलाडीको स्वागत सम्मान कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिति तनहुँका निवर्तमान अध्यक्ष ऋषिराम भुषालले मुख्यमन्त्री कप भलिबल प्रतियोगिता जितेर खेलाडीले तनहुँको मान बढाएको बताए । ‘जहिले पनि कास्की र स्याङ्जाको दबदबा रहने भलिबलको इतिहास यस पटक तनहँुले तोड्यो’, उनले अगाडी थप्दै भने, ‘यो इतिहास रच्ने सफलता सदैव मिलोस् ।’
पोखरा रंगशालामा शनिबार सम्पन्न खेलमा पुरुषतर्फ तनहुँले स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्दै उपाधी रक्षा गरेको थियो । उपाधीसंगै दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । महिलातर्फ भने तेस्रो स्थानको लागि तनहुँले कास्कीलाई ३–१ को सेटमा हराएको थियो । तृतिय भएको महिला टिमले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
यस्तै पुरुषतर्फ तनहुँका मिलनचन्द ठकुरीले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरे । उत्कृष्ट स्पाइकरमा अशोक श्रेष्ठ, सेटरमा विवस आले र प्रशिक्षकमा सुनार उत्कृष्ट ठहरिएका थिए । महिलातर्फ तनहुँकी उषा भण्डारी उत्कृष्ट स्पाइकर घोषित भईन् । उनीहरुले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।





