तनहुँ, १९ फागुन– तनहुँको शुक्लागण्डकी नगरपालिकाले भलिबलसहितका खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । थप्रेक सामुदायिक होमस्टेमा भएको बैठकले प्रथम मेयर कप अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता, खुला ब्याडमिन्टन प्रतियोगिता र अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको मिति तोकेको नगर प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए ।
उनका अनुसार प्रथम मेयर कप भलिबल र ब्याडमिन्टन प्रतियोगिता चैत १५ देखि १७ गतेसम्म हुनेछ । राष्ट्रपति रनिङशिल्ड फागुन २७ र २८ गते हुनेछ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न थप्रेकमा बैठक राखिएको हो । समुन्द्र सतहबाट एक हजार दुई ५० मिटर उचाईमा रहेको थप्रेक पर्यटनको सम्भावना बोकेको ठाउँ हो । यहाँको पर्यटनलाई प्रर्बद्धन गर्नलाई बैठकले महत्वपूर्ण भूमिका खेल्ने वडाध्यक्ष रविचन्द्र पौडेलले बताए । थप्रेकबाट पर्यटकीय नगरी पोखरासँगै माछापुच्छ«े, धौलागिरी, अन्नपूर्णलगायतका हिमश्रृंखला हेर्न सकिन्छ ।





