पोखरा, ६ चैत– अखिल नेपाल फुटबल सघ एन्फाको आयोजनामा हुन लागेको थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर पाउने भएको छ ।
एन्फा ले चैत १० गते देखि १६ गतेसम्म दशरथ रंगशालामा आयोजना गर्ने थ्री नेसन्स कपको उपविजेताले भने ३ हजार अमेरिकी डलर प्राप्त गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र हरेक खेलको म्यान अफ दी म्याचले २ सय ५० अमेरिकी डरल प्राप्त गर्नेछन् । राईका अनुसार प्रतियोगिता संचालन गर्न करिब १ करोड रुपैँया खर्च हुने र १ करोड ५० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
राउन्ड रोविनको आधारमा खेलाइने खेलमा नेपाल, बंगलादेश र कीर्गिस्तान सहभागि हुनेछन् । चैत १० गतेबाट हुने खेलको तालिका एन्फाले मंगलबार सार्वजनिक गरिसकेको छ । पहिलो खेलमा बंगलादेश र कीर्गिस्तान चैत १० गते प्रतिस्पर्धा हुनेछ । घरेलु टोली नेपालले चैत १२ गते किर्गिस्तानसँग खेल्ने छ । नेपाल र बंगलादेशबीच चैत १४ गते खेल हुनेछ ।
राउन्ड रोविन लिगको शीर्ष दुई टोलीले चैत १६ गते फाइनल खेल्नेछन् । विश्वकप छनोटअन्तर्गत तय भएको अष्ट्रेलियाविरुद्ध खेल स्थगित भएपछि एन्फाले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा नेपाल र बगंलादेशको राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्ने भएपनि किर्गिस्तानको २३ वर्ष मुनिको टोलीले खेल्नेछ ।





