पोखरा,९ चैत– दशरथ रंगशालामा मंगलबार सुरु हुने थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलको कप्तानी राष्ट्रिय टोलीका सदस्य किरण चेम्जोङले गर्ने भएका छन् । नियमित कप्तान विराज महर्जन बन्द प्रशिक्षणमा रहेपनि टोलीको अन्तिम छनोट बाँकी हुदाँ कप्तानीको भुमिका चेम्जोङ रहने मुख्य प्रशिक्षक महर्जनले सोमबार आयोजित प्रि म्याच कन्फ्रेन्समा जानकारी दिए ।
सोहि क्रममा बोल्दै महर्जनले नेपालले उच्च प्रदर्शनसँगै उपाधि जित्ने लक्ष्य समेत लिएको बताए । उनले टोलीको तयारी र लक्ष्यबारे जानकारी दिदैँ उपाधी घरमै राख्ने बताए । ‘अहिले एक दुई जना बाहेक सबै खेलाडी फिट छन’, उनले भने,‘जितका लागि भन्दापनि हामी राम्रो खेल प्रदर्शन गर्ने प्रयास गर्नेछौं । राम्रो प्रदर्शन हुन सके नतिजा त्यहि अनुसार आउँछ ।’

प्रतियोगिता सुरु हुन एक दिन बाँकी छ । एक दिनमात्र बाकिँ रहदा समेत टोलीको अन्तिम छनोट भएको छैन । टोलीको उपकप्तानी भने रोहित चन्दले गर्ने भएका छन् । उपकप्तान चन्दले टोलीले घरेलु दर्शकको साथमा खेल खेल्न पाउँदा निकै हौसियको बताए । ‘ लामो समयपछि घरेलु मैदानमा खेल्दैछौं । सबैसँगै रहेर तयार गरिरहेकोले टिमपनि राम्रो बनेको छ । ’ बंगलादेश र किर्गिस्तान निकै राम्रो टोली रहेको चन्दले बताए । किर्गिस्तानका प्रशिक्षक झोल्डोशोभ नुर्बेकले विपक्षीबारे राम्रो अध्ययन गरेको बताए । ‘हामीले दुवै टोलीका पछिल्ला खेल हेरेका छौं । हाम्रो स्थानीय लिग सुरु भएकाले खासै राम्रो तयारी भएको छैन । पहिलो खेलपछि हाम्रो खेल कस्तो हुन्छ भन्ने यकिन हुन्छ,’ उनले भने । उता बंगलादेशका मुख्य प्रशिक्षक जेमी डेले टोलीमा ६ जना नयाँ खेलाडी रहेको बताए । ‘हामीले यसपटक ६ नयाँ खेलाडी टोलीमा ल्याएका छौं । सबैलाई अवसर दिने हाम्रो लक्ष्य हो । उपाधिलाई भन्दा प्रदर्सनलाई जोड दिनेछौँ हामी अनुभव बटुल्न आएका हौँ ’ उनले भने ।

कोरोना भाइरसका कारण अष्ट्रेलियाविरुद्ध दशरथ रंगशालामा हुने विश्व कप छनोट स्थगित भएपछि नेपालले थ्री नेसन्स कप आयोजना गर्न लागेको हो । थ्री नेसन्स कपमा नेपालसहित बंगलादेशको राष्ट्रिय टोली र कीर्गितस्तानको यू २३ टोलीले प्रतिस्पर्धा गर्नेछन् । मंगलबार हुने उद्घाटन खेल बंगलादेश र कीर्गिस्तान यू २३ बीच हुनेछ । नेपालले पहिलो खेल चैत १२ गते कीर्गिस्तान टोलीसँग खेल्नेछ । नेपालले अर्को खेल चैत १४ मा बंगलादेशविरुद्ध खेल्नेछ ।





