पोखरा, १४ चैत– कोरोना महामारीको दोस्रो लहर चर्चा चलिरहेकैबेला गण्डकी प्रदेशमा कतै गाउँपालिकाले आफ्नो सेवा बन्द गरेका छन् भने कुनै जिल्लाले फेरि अनिवार्य क्वारेन्टिनको व्यवस्था गरेका छन् ।
कास्कीको माछापुच्छ«े गाउँपालिकाले समुदायस्तरमा कोरोना फैलिएको आशंकामा ६ दिन सेवा बन्द गरेको छ । समुदायस्तरमै देखिन थालेपछि गाउँपालिका कार्यालय शुक्रबारदेखि १८ गतेसम्म बन्द गर्ने निर्णय भएको गाउँपालिका उपाध्यक्ष कृष्ण दवाडीले जानकारी दिइन् ।
उपाध्यक्ष दवाडीका अनुसार माछापुच्छ«े ४ लाहाचोकको एक सहकारी संस्थाका सदस्यहरु करिब एक हप्ताअघिमात्रै पूवी नेपालको भ्रमण गरी फर्किएका थिए । भ्रमणबाट फर्किएलगत्तै ३ जना विरामी परेको र परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिइन् ।
‘सुरुमा ३ जना विरामीको पर्नुभो । उहाँहरुको परीक्षण गर्दा नतिजा पोजेटिभ आयो,’ उपाध्यक्ष दवाडीले भनिन्, ‘भ्रमण गएकाहरुमध्ये बाँकीको परीक्षण गर्दा थप १३ जनामा कोरोना पुष्टि भयो ।’
कोरोना पुष्टि भएका १६ जनामध्ये ७ जना भ्रमण गएकाहरुकै परिवार सदस्य भएको र उनीहरुको बाह्य ‘ट्राभल हिस्ट्री’ नभएको दवाडीले जानकारी दिइन् । ‘अहिले लाहाचोकमा मात्रै कोरोना संक्रमित देखिएका छन् । अरु ठाउँमा फैलिन नदिन गाउँपालिले सेवा बन्द गरेको हो,’ उनले भनिन् ।
यसअघि भारतको सीमावर्ती क्षेत्र भ्रमण गरेर फर्किएका पोखराको पश्चिमाञ्चल क्याम्पसका एक विद्यार्थीबाट फैलिएको कोरोना संक्रमण प्राध्यापकसहित ७७ जनामा पुगेको छ । क्याम्पसका प्रशासकीय अधिकृत खेमबहादुर पुलामीले विद्यार्थीको पिसिआर परीक्षण अझै जारी रहेको जानकारी दिए ।
२ हजार विद्यार्थी रहेको उक्त क्याम्पस चैत २ देखि ६ गतेसम्म बन्द गरिएको थियो । गत वर्षदेखि रोकिएका स्नातक तहका परीक्षा चैत ३ गतेदेखि हुने तय थियो । तर, क्याम्पसमा कोरोना संक्रमण फैलिएपछि हाललाई ती परीक्षाससेत स्थगन गरिएको छ । गत वर्षदेखि नै रोकिएका परीक्षा फेरि स्थगित भएपछि परीक्षार्थीहरुसमेत प्रभावित बनेका छन् ।
‘स्नातक पहिलो, दोस्रो र तेस्रो परीक्षा पोस्टपोन्ड नै गनुप¥यो । तर, चौंथो वर्षको परीक्षा भने लिइराखेका छौं,’ क्याम्पसका प्रशासकीय अधिकृत खेमबहादुर पुलामीले भने, ‘अहिले क्याम्पसको प्रशासनहरु पनि सबै खुला छ ।’
कोरोनाको जोखिम फेरि बढ्न सक्ने भन्दै सोमबारमात्रै गृहमन्त्रालयले ७७ वटै जिल्लामा क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको थियो । गृहमन्त्रालयले परिपत्र जारी गरेको २ दिनपछि दिनबाट म्याग्दी जिल्लाले बाह्य मुलुकबाट जिल्ला भित्रिनेलाई अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्ने नियम बनाएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ मा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत आयोजनाका लागि भारतबाट आएका ११ जनामध्ये ४ जनामा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले क्वारेन्टिन व्यवस्था लागु गरेको हो । ‘विदेशबाट आउने कामदारहरुलाई कम्पनीले छुट्टै सवारीसाधनबाट ल्याउने लैजाने व्यवस्था मिलाउने,’ प्रशासनबाट जारी सूचनामा भनिएको छ ।
गण्डकी प्रदेशमा शुक्रबार २९ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये पोखराकामात्रै २६ जना छन् । नयाँ थपिएका संक्रमितमध्ये म्याग्दीका एकजना र तनहुँका २ जना छन् ।
यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय ८० पुगेको छ । जसमध्ये २ सय ५ जना संक्रमितको मृत्यु भएको छ भने २ सय ६३ जनामात्रै सक्रिय संक्रमित रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।





