पोखरा, १५ चैत– सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत १० किलो मिटर दौड प्रतियोगिताकोे उपाधि तीर्थ पुन र एपिएफ क्लबकी फूलमती रानाले जितेका छन् ।
भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार सम्पन्न दौडमा पुरुषतर्फ भारतीय सेनामा कार्यरत तीर्थले ३३ मिनेट ३३.०८ सेकेण्डमा दूरी पूरा गर्दै उपाधि जिते । नेपाली सेनाका जितेन्द्र दनुवारले ३४ मिनेट ०७.०३ सेकेन्डमा दूरी पुरा गर्दै दोश्रो हुन पुगे । काठमाडौका शिवबहादुर रायमाझीले ३४ मिनेट २२.०५ सेकेण्डमा दूरी पार गर्दै तेश्रो स्थान हाँिसल गरे ।
महिलातर्फको दौडमा फूलमतीले ४० मिनेट ५२.०२ सेकेण्डमा दूरी पूरा गर्दै विजेता बनिन् । धरानकी छेन्वी राईले ४२ मिनेट ०१.०६ सेकेण्डमा दुरी पार गर्दै दोश्रो र एपिएफकी आशा रावतले ४३ मिनेट ५२.०३ सेकेण्डमा दूरी पार गर्दै तेश्रो हुन पुगिन् । दुवैतर्फको विजेताले समान १५–१५ हजार, दोस्रोले १० हजार र तेस्रोले समान ५–५ हजार रुपैयाँका साथ मेडल र प्रमाणपत्र प्राप्त गरे । दौडमा सहभागी जेष्ठ नागरिक ७४ वर्षीय टंकबहादुर श्रेष्ठलाई उनको हौसलाको कदर गर्दै पोखरा महानगर प्रमुख मानवहादुर जिसीले नगद १० हजार प्रदान गर्ने घोषणा गरेका छन् । प्रतियोगिताको पुरुषतर्फ ४ सय ३९ र महिलातर्फ ८३ जना धावकले सहभागिता जनाएका थिए । पोखरा म्याराथनअन्तर्गत आगामी वैशाख ४ गते ५ किलोमिटर छात्र–छात्रा दौड हुने भएको मञ्चले जानकारी दियो ।





