पोखरा, १६ चैत– घरेलु मैदानमा जारी थ्रि नेसन्स कपमा नेपालले आज बंगलादेश संग उपाधिका लागि भिड्दै छ ।
किर्गिस्तान यु–२३, बंगलादेश र आयोजक नेपालबीच भएको प्रतियोगिताको फाइनलमा बंगलादेश र नेपाल भिड्दै छन् ।
नेपालले दशरथ रंगशालामा खेलेको दुई खेललाई हेर्ने हो भने पनि फरवार्ड अर्थात् स्कोरमा निकै कमजोर देखियो । नेपाल अट्याक खेल भन्दापनि डिफेन्सीप भए उपाधि जित्ने प्रवल सम्भावना भने देखिएको छ ।
नेपाली गोलपोष्ट सम्हाल्दै आएका किरण चेम्जोङ अनुभवि गोलरक्षक हुन् । खेललाई बराबरीमा मात्र लगिएपनि टाइब्रेकरमा चेम्जोङले केही गर्ने आशा गर्न सकिन्छ ।
तर, नेपालका कार्यबाहक प्रशिक्षक बालगोपाल महर्जनले भने खेलाडीको जुन पोजिसन हो त्यो खेलाइरहेका भने छैनन् । नेपाली टिममा फरवार्डको कमी छ । विङ्स खेल्ने खेलाडीले फरवार्डको भूमिका धानिरहेका छन् ।
पहिलो खेल किर्गिस्तान यु–२३ टोली १० खेलाडीमा सीमित हुँदासमेत गोल गर्न असक्षम देखियो । खेल गोलरहित बराबरीमा रोकियो । दोस्रो खेलमा बंगलादेशसँग पनि गोलरहित बराबरी खेल्यो । उक्त खेलमा समेत बारम्बार गोलको अवसर पाएपनि पोष्टको दिशा भने दिन सकेनन् । नेपालको कमजोरी नै स्ट्राइकमा देखियो ।
विंगरद्वय अन्जन विष्ट र अभिषेक रिजालले फरवार्डको भूमिका निर्वाह गरेपनि फरवार्डमा पोस्टको अघि हुनुपर्ने निर्णय क्षमता कमी महसुस भएको थियो । कहिले हतारो त कहिले क्रस गर्न नै समस्या देखिएको थियो । अभिषेक र अन्जनले बल पाएपछि आफ्नो निर्णय लिँदा बल पोजिसन गुमाउन पुगे । विंगबाट खेल्दा निकै प्रभावकारी देखिएका यी दुई आक्रमणमा शुन्य देखिए ।
प्रशिक्षक बालगोपाल महर्जनले भने कमजोरीलाई लुकाउनतर्फ लागे । यतिमात्र होइन उनले खेलाडीलाई पोजिसन बाहिर खेलाउँदै बचाउ गर्नतर्फ देखिए । ‘खेलाडी भएपछि एकै पोजिसनमा मात्र खेल्ने भन्ने हुँदैन । मिडफिल्डरले आक्रमण र आक्रमणले मिडफिल्डमा पनि खेल्नुपर्छ । रोहितलाई हेर्नुस, उसले डिफेन्समा पनि उत्तिकै राम्रो खेल्न सक्छ र आक्रमणमा पनि । एउटा राम्रो खेलाडीले फरक पोजिसनमा खेल्ने क्षमता राख्नुपर्छ,’ उनले भने । तर, खेलाडीलाई पोजिसन भन्दा बाहिर खेलाउँद उसको प्रदर्सनमा निकै खराबी आउँछ । पोजिसन छाड्ने वित्तिकै टिममा नै समस्या खडा हुने अवस्था सृर्जना हुन्छ । फाइनलमा भने स्कोर निकाल्ने महर्जनले बताएका छन् । उनले उपाधि घरमै राख्ने बताइरहेका छन् । बंगलादेशसँग त्यति सजिलो भने छैन् । यसअघि बंगलादेशमा मैत्रीपूर्ण खेल खेल्न गएको नेपाली टोलीले पहिलो खेलमा २–० को हार व्यहोरेको थियो भने दोस्रो खेल बराबरीमा रोकिएको थियो । घरेलु मैदानको नतिजाले नेपाली राष्ट्रिय टिमले खराब तथ्यांक बनाएको छ । नेपाली टिम लगातार ७ अन्तर्राष्ट्रिय खेलमा गोलविहीन बनेको छ । नेपाल समग्रमा ८ खेलमा गोलविहीन बनेपनि किर्गिस्तानको यू–२३ टिमविरुद्धको खेल भने अन्तराष्ट्रिय खेल मानिने छैन ।
नेपालले पछिल्लो पटक विश्वकप छनोटमा चाइनिज ताइपेविरुद्ध गोल गरेको थियो । उक्त खेलमा नेपालले २–० को जित निकालेको थियो । ताइपेविरुद्धको खेलमा अन्जन विष्टले दुई गोल गरेपछि नेपालले गोल गर्न सकेको छैन । ताइपेपछि नेपालले विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियासँग ५–०, जोर्डनसँग ३–० र कुवेतसँग १–० गोलले पराजित भएको थियो । त्यस्तै म्यानमारसँगको मैत्रीपूर्ण खेलमा ३–० ले पराजित भएको थियो ।





