पोखरा, २० चैत– नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पाँचौ पोखरा स्पोर्टस् अवार्डमा प्रदान गरिने उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारको प्रायोजन सम्झौता भएको छ । पोखरा–१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारजनले पुरस्कारवापत ३५ हजार रुपैयाँ प्रायोजन गरेका हुन् ।
प्रायोजन सम्बन्धी सम्झौतापत्र बुधबार मञ्च अध्यक्ष एकराज गिरी र उमेश पुनबीच आदानप्रदान भएको छ । मञ्चका कार्यसमिति सदस्यसमेत रहेका उमेश पुन स्व. सेनानी हेमबहादुरका नाति हुन् । पुन परिवारले स्पोर्टस् अवार्डमा हरेक वर्ष लगातार सहयोग गर्दै आएको छ ।
कार्यक्रममा प्रदान गरिने लाइफ टाइम अचिभमेन्ट अवार्डलाई पोखरा लेकसिटीका निर्देशक डा. विष्णु नेपालीले ४० हजार र माई होटल लेकसाइडतर्फबाट प्रबन्ध निर्देशक तोरणबहादुर बानियाँले उत्कृष्ट उदियमान खेलाडीलाई प्रदान गरिने ३५ हजार रुपैयाँ प्रायोजन गरिसकेका छन् । अवार्डमा यसपालि विभिन्न ७ विधामा अवार्ड प्रदान गरिनेछ । मञ्चले २०७८ वैशाख २० मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी ती विधामा अवार्ड प्रदान गर्नेछ । जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्डमा नगदसहित अवार्ड वितरण गर्नेछ । तीमध्ये उत्कृष्ट खेल पत्रकारिता अवार्ड यसपालि २ पत्रकारले ३५÷३५ हजार नगद सहित अवार्ड प्राप्त गर्ने छन् ।





