
पोंखरा, २५ चैत– पोखरामा जारी १९ औँ आहा ! रारा गोल्ड कपमा फेरि एकपटक नेपाल पुलिस क्लब थ्रिस्टारमाथि हावी भएको छ । मंगलबार भएको खेलमा पुलिसले थ्रिस्टारलाई ४–० को नमीठो हार चखायो । थ्रिस्टार हार्नुको मुख्य दुई कारण देखिएको छ । सोमबार मात्र हेटौँडामा सम्पन्न बागमती गोल्ड कपको उपाधि जितेर आएको थ्रिस्टारका खेलाडी थाकेका थिए । उनीहरुलाई आराम पुगेकै थिएन । खेलाडीहरु घाइते पनि थिए । उसो त थ्रिस्टारका कप्तान अनन्त तामाङ विरामी थिए । उनी बागमती गोल्ड कपमा खेलेनन् । पोखरामा खेल्नका लागि थ्रिस्टारको टिम तयार थिएन् ।
सोमबार फाइनल सकेर लामो यात्रा गर्दै मंगलबार बिहानमात्र पोखरा आएका थ्रिस्टारका खेलाडीले राम्रोसँग थकान मेट्न पाएका थिएनन् । जस्को प्रत्यक्ष असर खेलमा देखियो । खेल सुरु भएको २५ औ मिनेटसम्म थ्रिस्टारका खेलाडी खेल्न सकेपनिलगत्तै एकाएक खेल स्तर घट्न पुग्यो । खेल सुरु भएको केही समयमा नै नतिजा निकाल्ने रणनीतिका साथ खेलेको थ्रिस्टारको सपना पूरा हुन सकेन । खेल सुरु भएको ४४ सेकेन्डमै विजय भुजेलको पासमा मेक्चेन तामाङले करिब १५ यार्डबाट गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरीन पुग्यो । तेस्रो मिनेटमा रितिक खड्काको पासमा विजय भुजेलको प्रहार फष्ट बार हुदैँ बाहिरिँदा अग्रता लिनबाट चुक्यो । १० औ मिनेमा विजयको पासमा संजोग राइको प्रहार आकासियो । १४ औँ मिनेटमा पुलिसका निरकुमार राइको प्रहार बाहिरिँदा पुलिस अग्रता लिन चुक्यो । पुलिसले पहिलो हाफमा १ गोल गर्दै अग्रता लिँदा दोस्रो हाफमा भने २ गोल गरेको थियो । १७ औँ मिनेटमा रवि पासवानको पासमा निरकुमारको प्रहारलाई थ्रिस्टारका डिफेन्डर जीवन गुरुङले ट्रयाकल गर्दै गोल गर्नबाट जोगाए । खेलको २९ औं मिनेटमा पुलिसका बुद्ध बल तामाङले गोल गर्दै अग्रता दिलाए । उनले तेज तामाङले प्रहार गरेको फ्रिकिक प्रहारमा उत्कृष्ट गोल गरे । ३९ औँ मिनेटमा सुमन लामाको उत्कृष्ट प्रहारलाई थ्रिस्टारका गोलरक्षक अभिषेक बरालले बचाउ गरे । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयमा पुलिसले पाएको सुवर्ण अवसरमा थ्रिस्टारका जीवन बाधक बने । पहिलो हाफमै निकै थाकिसकेका थ्रिटारका खेलाडीले दोस्रो हाफमा भने त्यति गतिलो प्रदर्शन गर्न सकेनन् । ५३ औँ मिनेटमा संजोगको लामो प्रहारा बाहिरिन पुग्यो । ६१ औ मिनेटमा पुलिसका सुमनको गोल अफसाइड रहन पुग्यो । ६७ औ मिनेटमा तेज तामाङले गोल गर्दै अग्रता दोब्बर पारे । उनले निरकुमारको पासमा गरेको प्रहारलाई गोलरक्षक अभिषेकले बचाउ गर्ने कुनै अवसर नै पाएनन् । त्यसको ६ मिनेट बित्न नपाउँदै पुलिसका लागि बुद्ध बलले व्यक्तिगत दोस्रो गोल गदै जीत निश्चित गरे । सुमन लामाको पासमा बुद्ध बलले उत्कृष्ट गोल गरे । ८६ औ मिनेटमा परिवर्तित खेलाडी भरत शाहले उत्कृष्ट गोल गर्दै ४–० को फराकिलो अन्तर बनाए । उनी २ गोल गरेका बुद्ध बलको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले सुमनको पासमा २ डिफेन्डरलाई विट गर्दै आकर्षक गोल गरे । जितपश्चात पुलिसका प्रशिक्षक अनन्त राज थापाले कोभिड पछि सेट टिम पहिलो पटक खेलेको बताए । उनले थ्रिस्टारलाई जित्दा सेमिफाइनलमा थप हौसला मिलेको प्रतिक्रिया दिए । ‘जितले सकरात्मक देखिएको छ । थ्रिस्टारले हराएकै टिमसंग सेमिफाइनल खेल्दै छौँ’,उनले भने । आफुहरुको रणनीति अनुसार खेल नभएको बताए । बुधबार सशस्त्र प्रहरीको एपिएफ क्लब र संकटाबीच सेमिफाइन हुँदैछ ।
यस्तै थ्रिस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले खेलाडीले राम्रो खेल खेलको प्रतिक्रिया दिए । उनले खेलाडीको खेलबाट आफु सन्तुष्ट रहेको बताए । ‘हामीले हिजोमात्र हेटौँडामा उपाधि जितेर आएका हौँ, खेलाडीले आराम गर्ने समय समेत पाएनन्’,उनले भने । उनले पोखरा बिहानमात्र आएको बताउँदै आयोजकले समय व्यवस्थापन नगर्दा खेलाडीले शारीरिक अभ्यास समेत गर्न नपाएको गुनासो गरे । ‘हामीले खेल्न सक्दैनौं भनेकै हो तर प्रतियोगिता सम्पन्न गर्नका लागिमात्र हेरियो, खेलाडीको अवस्था हेरिएन’, उनले भने । क्लबको इज्जत राख्न मात्रै समावेश भएको उनले बताए । शारीरिक रुपमा बलिया र अग्ला खेलाडी अफ्रिकनसँगको खेलमा खेलाडी निकै थकित रहेको बताउँदै उनले व्यवस्थापनले साथ नदिँदा समस्या परेको बताए । ‘हामीले कसलाई खेलाउने भन्ने पनि अन्यौलमा थियौ, परिवर्तन गर्ने खेलाडी समेत थिएनन्’,उनले भने । उनले मैदानमा समयमा समेत आउन नसकेको बताउँदै १० मिनेटसमेत खेलाडीलाई स्ट्रेचिङका लागि नदिएको गुनासो गरे ।





