विजय नेपाली
पोखरा, २८ चैत– मोफसलकै लोकप्रिय आहा ! रारा गोल्डकपको इतिहासमा मनाङ मस्र्याङदी, थ्रिस्टार र नेपाल पुलिसमध्ये एक क्लब कुनै पनि संस्करणको फाइनलमा नपुगेको इतिहास नै छैन् ।
क्याराभान गोल्डकपसहित १८ औँ संस्करणसम्म आइपुग्दा यी टिममध्ये एकले उपाधि हाँसिल गरेकै छन् । तर, १९ औ संस्करणको आहा ! रारा गोल्डकपमा भने तीनै टिम देख्न नपाइने भएको छ ।
पोखरा रंगशाला फुटबल मैदानमा आज (शनिवार ) पाहुना टोली अफ्रिकन रुट्स एसोएिसन (एआरए) क्यामरुन र संकटा क्लब उपाधीका लागि भिड्ने भएका छन् । आहा ! रारामा विदेशी टिम फाइनल प्रवेश गरेको भने यो दोस्रोपटक हो । २०६२ सालमा अफ्रिकन युनाइटेड सहभागि हुदैँ उपाधि जितेको थियो । अफ्रिकन युनाइटेडले नेपाल पुलिस क्लबलाई २–० गोलले हराउँदै उपाधि उचालेको थियो ।
उता, संकटा क्लबको भने यो छैटौँ पटकको सहभागिता थियो । छैटौ पटकको सहभागितामा भने आहा ! रारामा उपाधि हात पार्दै इतिहास रच्न चाहान्छ । २०६१,२०७०, २०७३,०७४ र ०७५ सालमा सहभागिता जनाएको थियो । संकटा ०७३ सालमा मात्र सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । संकटाले आहा ! रारामा समग्रमा ११ खेल खेलेको छ । आज खेलिने फाइनल खेल (शनिवार) १२ औ खेल हो । संकटाले क्वाटरफाइनलमा मनाङ मस्र्याङदी क्लब र सेमिफाइनलमा एपिएफलाई २–० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।
अफ्रिकन रुट्सले क्वाटरफाइनलमा लिग विजेता मछिन्द्र क्लब र सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो ।
फाइनलमा दुवै टोलीले उपाधि जित्ने लक्ष्य लिएको छ । अफ्रिकन रुट्सका प्रशिक्षक सेन्गे बोरिसले उपाधी जित्ने लक्ष्यका साथ खेल्ने बताए । उनले फाइनलमा पुगेको प्रतिद्धन्द्धीलाई हराउन सहज भने नहुने बताए । ‘संकटा सजिलो टिम होइन । फाइनलमा पुगेको टिम हो पक्कै सजिलो हुने छैन् ’, उनले भने, ‘म अहिले नै बधाइ दिन चाहन्छु विपक्षी टिमलाई ।’
उता संकटाका प्रशिक्षक सल्यानी खड्गीले भने उपाधि जितेरै जाने बताए । शुक्रबार फाइनल अघि भएको प्रि कन्फिरेन्समा बोल्दै खड्गीले खेलाडीले मैदानमा फरक खेल देखाउने बताए । ‘विपक्षी टिम निकै बलियो टिम हो, शारीरिक रुपमै निकै बलिया छन् । तर, हाम्रा खेलाडीले मैदानमा त्यो भन्न पाउने छैनन्’, उनले भने । संकटाले आहा ! रारामा पहिलो पटक इतिहास रच्न लागेकाले पनि खेलाडीमा उत्साह जागेको बताए । खड्गीले खेल निकै प्रतिस्पर्धात्मक हुने आंैल्याए । ‘टफ गेम हुन्छ । हिजो अस्ती कस्तो खेल्यो भन्दा पनि फाइनलमा फरक हुने नै छ’, उनले भने । संकटाका कप्तान सरोज दाहालले प्रशिक्षकको रणनीति अनुसार खेल खेल्ने बताए । ‘हामीले हाम्रो खेल देखाउँछौ अन्य कुरा भनेको कोचको रणनीति अनुसार नै हुनेछ’, उनले भने ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख १ हजार र दोस्रो टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, डिफेन्डर , मिडफिल्डर , वेष्ट स्ट्राइकर र प्रशिक्षकले समान २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछ ।





