
पोखरा, २८ चैत– संकटा क्लबले १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अफ्रिकन रुट्स एसोसियसनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको हो ।
संकटाले पहिलो पटक आहा राराको उपाधि जितेको हो । उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रुपैँया हात पारेको छ । उपविजेता बनेको अफ्रिकनले नगद ५ लाख १ हजारमा चित्त बुझायो ।
खेलको निर्धारित समय र थप गरिएको ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा संकटाले बाजी मार्यो । पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ,निरज बस्नेत, आयुष घलानले गोल गरे ।
सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले बचाए । अफ्रिकनका यानिक र रिमले गोल गरे । तर, कुइटेको प्रहार बाहिरिएको थियो भने एमबाकोपको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले बचाए ।





