शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

कान्दाको फेरिएको मुहार

कान्दाको फेरिएको मुहार


  • दिवस गुरुङ
  • चैत्र ३१ २०७७, मंगलबार

सीताबहादुर चेपाङ, उमेरले ५५ पुगे । गाउँकै गन्यमान्य व्यक्तित्व हुन्, उनी । गाउँमा रहेको एकमात्र विद्यालयका अभिभावक समितिका अध्यक्षसमेत हुन् । कुनै समय प्रष्ट बोल्नसमेत नसक्ने उनी अहिले निर्धक्क विद्यालयका कार्यक्रमहरुमा आफ्ना विचारहरु राख्छन् । यति मात्रै हैन, सबैका छोराछोरीलाई विद्यालय पठाउन उनी हौस्याउँछन् ।
चमेरा, चिउरी र काडेभ्याकुरभन्दा माथि उठ्नुपर्छ भन्ने मानसिकता बोक्छन्, उनी । तर, सँगै चेपाङको मौलिकताको संरक्षण र जगेर्ना गर्नुपर्ने उनको प्राथमिकता हो । सिंगो कान्दाकै अभिभावकत्वको भूमिका निवार्ह गर्ने उनी वास्तवमै एक प्रेरक व्यक्ति हुन् ।
कान्दा गाउँ । चितवन जिल्लाको राप्ती नगरपालिका १३ मा अवस्थित चेपाङ बस्ती । भण्डाराबाट साढे २ घण्टाको जिप यात्रा अनि पैदलमा कस्सिएर खुट्टाले ३ घण्टामा गाउँ पु¥याउँछ । ८० घर धुरी छन्, गाउँमा । ओल्लो डाँडा र पल्लो डाँडामा छन् घरहरु । धेरै टाढा । एक घरबाट अर्को घर पुग्न २÷३ घण्टा लाग्दो हो । दूरीले टाढा भएपनि मनले भने जोडिएका छन् सबै । कोही कसैलाई आपत विपत् प¥यो कि सबै आइहाल्छन् । समय जतिसुकै किन नलागोस् ! सुख र दुःख साट्न उनीहरु आउँछन् । यही विश्वासको जगमा कान्दा अडिएको छ ।
१० वर्षअघिको त्यो समय ! अर्थात् २०६७ साल जेठमा एकै परिवारका ८ जना सदस्यहरुले विषालु च्याउ खाएर अकालमै ज्यान गुमाएका थिए । जानाजान खाएका थिए, उनीहरुले । भोकै मर्नुभन्दा केही खाएरै मर्नु ठीक, त्यो विष नै किन नहोस्, मर्नेमध्ये एकले हस्पिटलको शैयाबाट चित्कार गरेका थिए । यसले उनको पीडा मात्र हैन, सिंगो चेपाङ जातिको समस्याहरु प्रतिनिधित्व गरेको थियो । यो घटना जब मिडियामा आयो, तब सबैको ध्यान कान्दामा पुगेको थियो । त्यस समयताका गाउँसम्म पुग्न चितवन बजारबाटै हिँडेर २ दिन लाग्थ्यो । न सडकले जोडिएको थियो, न सञ्चारले नै । लाग्थ्यो, कान्दा छुट्टै भुगोल हो । कान्दाबासीहरुलाई गाउँ नै सिंगो संसार लाग्दो हो ।
त्यस घटना अगावै सायद कमैलाई कान्दाबारे थाहा थियो होला । कान्दाबासीहरु पनि फाट्टफुट्ट मात्र बजार झर्थे । नत्र उनीहरुका लागि सब थोक त्यही भीर–पाखा । त्यही वनजंगल प्यारो । कति त नौलो मान्छे नदेखेरै जन्मथे र मर्थे पनि ।
चेपाङ जाति । नेपालकै एक सीमान्तकृत र पिछडिएको जाति । चितवन, मकवानपुर, गोरखा र धाडिङमा बसोबास गर्दै आएका छन्, उनीहरु । पछिल्लो केही वर्ष अघिसम्म उनीहरु ढुंगे युगमै रमाइरहेका थिए । खोरिया खनेर उब्जनी गर्थे । गिठ्ठाभ्याकुर, चमेरा र चिउरी नै सबथोक थियो, उनीहरुको । आधुनिक युगबाट धेरै पर अर्गानिक जीवन जिउँदै थिए ।
कान्दाको विगत पनि उस्तै थियो । भिरालै भिरालो ठाउँ । उस्तै उब्जनी नहुने माटो । माटोमा केवल मकै र कोदो फल्थ्यो । असिना र पानीले त्यो पनि कहाँ बाँकी रहन्थ्यो र ? उब्जेको खेतीले मात्र केही महिना दिन पुग्थ्यो । त्यसपछि त वनजंगल चहार्नु पथ्र्यो, काँडेभ्याकुर र चमेराका लागि । त्यो पनि समयसँगै सकिन्थ्यो अनि भोकभोकै । २÷४ दिन भोकै बस्नु त सामान्य थियो । भान्छामा चामलको भात त केवल चाडपर्व र पाहुना आउँदा न पाक्थ्यो । भात कहिले खाएको भनेर सोध्दा प्रायः सबैलाई सम्झना हुँदैनथ्यो । सम्झना होस् पनि कसरी ? महिनौं अघिको कुरा । आङ ढाक्ने एकसरो लुगा हुन्थेन । न त ओत लाग्ने खरको टहरा नै । यसरी नै चल्दै थियो दुःखै दुःखको पोखरीमा कान्दाको समय ।
२०६७ सालमा घटेको त्यस घटनाले सबैको ध्यान कान्दातिर तानियो । ‘मितेरी फाउन्डेसन’ नामक संस्थाका संस्थापक अध्यक्ष हुन् पत्रकार एकल सिलवाल र रवीन्द्रसिंह बानिया । अनि संस्था पुग्यो कान्दासम्म । बिस्तारै कान्दाका कथाहरु बाहिरिन थाले । परोपकारी संस्थाका सहयोगी हातहरु लम्किन थाले ।
पहिलोपल्ट २०६८ सालमा कान्दा आउँदाको क्षण यसरी सम्झन्छन् बानिँया, ‘अवस्था यति नाजुक थियो कि, कल्पना पनि गर्न सकिदैन्थ्यो । बर्खाको समय हामी त्यहाँ पुगेका थियौं । जुकाको उस्तै बिगबिगी थियो । जुका मार्न नुन खोज्दा नुन भेटिएन घरमा । चामलको त के कुरा ! नुन खान पनि चाड पर्खन पर्ने अवस्था थियो । आङमा एकसरो लुगा थिएन, मानिसहरुको । शिक्षा र स्वास्थ्य त परको कुरा । कान्दाबाट फर्केलगत्तै हामीले विभिन्न कार्यक्रमहरु बोकेर कान्दा पुगेका थियौं । जुन आजको मितिमा पनि निरन्तरता भइरहेको छ ।’
मितेरीसँगै अर्को कान्दा रुपान्तरणमा जोडिएको अर्को संस्था हो, लक्ष्मी प्रतिष्ठान । लक्ष्मी गौतम र विष्णु गौतमका २ छोराहरु थिए, कुमार र बलराम । दुवैको छुट्टाछुट्टै दुर्घटनामा २०६५ र २०६६ सालमा मृत्यु भएको थियो । शोकलाई शक्तिमा बदल्दै बनेको परोपकारी संस्था थियो लक्ष्मी प्रतिष्ठान ।
गाउँमा एक मात्र विद्यालय थियो, कान्देश्वरी प्राथमिक विद्यालय । तर, सुनसान थियो विद्यालय । न पर्याप्त शिक्षक न विद्यार्थीहरु नै । टाढाको बाटो, विद्यार्थीहरु आउजाउ गर्ने २÷३ घण्टा लाग्ने । एक जोर विद्यालयमा लगाउने पोसाक नभएर पालोपालो विद्यालय आउने गर्थे, विद्यार्थीहरु । घरमा खाने एक छाक हुन्थेन । भोकै आएका विद्यार्थीहरुले भोकले विद्यालयमा निदाउँथे । त्यही भएर संस्थाले २०७१ सालमा विद्यालयकै छेउमा कुमार बलराम स्मृति छात्राबासको स्थापना ग¥यो । हरेक वर्ष सयभन्दा बढी बालबालिकाहरु त्यही बस्ने र खाने व्यवस्था छ ।
शिक्षालगायत विभिन्न क्षेत्रमा विस्तारै परिवर्तनका ढोकाहरु खुल्दै गए । सोलार बत्ती वितरण, पशुपालन र खेतीपाती तालिमलगायत विभिन्न कार्यक्रमहरु आयोजना हुँदै गयो । विस्तारै कान्दाको स्वरुप फेरिँदै गयो । मानिसहरुमा चेतनाको ज्याति फैलिँदै गयो । अहिले प्राय सबै बालबालिकाहरु शिक्षाबाट बञ्चित छैनन् । यो वर्ष मात्र यसै गाउँका ४ जना चेपाङ बालबालिकाहरु एसइई परीक्षा दिँदै छन् । यो कान्दाको लागि सुखद खबर हो ।
कान्दामा शिक्षाको क्रान्ति गर्ने एक व्यक्ति हुन्, बालकृष्ण थपलिया । उनी त्यहीँका विद्यालयका प्रधानाध्यापक हुन् । १८ वर्ष निरन्तर यस ठाउँको शिक्षा रुपान्तरणमा उनको त्याग, बलिदान र समर्पण शब्दमा वर्णन गरेर सकिँदैन । कुनै समय मुस्किलले १० जना हुने विद्यालयमा हाल १ सय ५० को हाराहारीमा विद्यार्थीहरु पढ्छन् । सँगै विद्यालयको पूर्वाधारहरु र शिक्षाको गुणस्तरको पनि स्तरोन्नति भएको छ । अझै धेरै परिवर्तन हुन नितान्त जरुरत त छ नै ।
यता गाउँलेहरु सोझा र इमान्दार छन् । यो नै उनीहरुको पहिचान हो । तर यो भनिरहँदा उनीहरु सधैं पछाडि नै परिरहनु पर्छ भन्ने हैन । मिहिनेत र परिश्रममा विश्वास गर्ने उनीहरु छलकपट र चतु¥याइँबाट परै छन् । जे छ, त्यसैमा सन्तुष्ट मान्छन् । अभाव छ, तर खुसीको भने अभाव छैन । मुहारमा मुस्कान सिउरी रहन्छन् हरसमय, पेट भोक किन नहोस् ।
अहिले बिहान भण्डारा आएर सरसामान किनेर बेलुका कान्दा नै पुग्न सक्छन् । कति गाउँबाट आउँदा अम्रिसोको कुँचो बोकेर बजार झर्छन् त कोही काँक्रो वा त्यस्तै तरकारी । फर्कदा चामलका बोरा बोकेर गाउँ फर्कन्छन् । सडक विस्तार भएसँगै धेरै सहज भएको छ । पहिला कोही बिरामी भए दुई दिन बोकाएर बजार ल्याउनु पथ्र्यो । अहिले केही घण्टामै अस्पताल पुगिन्छ । अहिले आकलझुकल फोन लाग्छ गाउँमा । तर बिजुली बत्ती भनेको अझे पुगेको छैन । सोलारले भएपनि घर उज्यालो बनाउँछन् साँझ । अनि त्यसै मनै उज्यालो ।
गाउँलेहरुको आर्यआर्जनको स्रोत छैन । न त गतिलो उत्पादन हुन्छ त्यहाँको माटोमा । जता हे¥यो, त्यतै भिर पहरा । चितवनमा पनि यति विकट ठाउँ छ र ? धेरैलाई पत्यार नलाग्ला । सौराहाको हात्ती र नारायणघाटको झिलमिलमा रमाउने र हराउनेहरुलाई कान्दाको कथा सुन्दा अचम्म लाग्छ । वास्तवमै महसुस गर्न कान्दा उक्लनै पर्छ । त्यहाँको माटोमा भिज्नै पर्छ । अझै धेरैलाई बिहान बेलुकाको खानाको जोहो गर्न धौ धौ छ यहाँ । एक सरो लुगा फेर्ने त परको कुरा । स्याउलाले बारेका धेरै टहराहरु अझै छन् ।
समयसँगै सबै परिवर्तन हुँदै जान्छन् । र परिवर्तित हुनुपर्छ पनि । तर विकास र आधुनिकताको नाममा उनीहरुको मौलिकतालाई आँच पु¥याउने काम कदापि गरिनु हुँदैन । चेपाङ भाषा, संस्कृति र रीतिरिवाजको संरक्षणमा जोड दिइनुपर्छ । चेपाङ संस्कृति र रहनसहन झल्कने गरी पर्यटन प्रवद्र्धन गराउने हो कि ? नजिकैको कामिनचुलीमा मज्जाले लालीगुराँस फुल्छ । लालीगुराँस सँगै धेरै सम्भावनाहरु पनि फुलेका छन् । त्यहाँबाट देखिने हिमश्रृखंलाहरु जति हेरेपनि हेरिरहूँ खालका । एकै दिनमा सौराहामा गैंडा हेरेर त्यही दिन कान्दा लालीगुराँसमय सुन्दरतामा हराउन सकिन्छ । त्यसैले चेपाङ इको ट्रेलको अवधारणा अघि सारियो भने एक त उनीहरुको भाषा, संस्कृति पनि संरक्षण हुने र अर्को विकासका लहरहरु पनि छाउन सकिन्छ । उनीहरुले पनि परिवर्तनका क्षणहरु महसुस गर्न पाउँछन् । यसैका जोड दिइनुपर्छ ।
दश वर्षका कान्दाको मुहार फेरिएको छ । सँगै फेरिएका छन् कान्दाबासीको मुहार पनि । तर अझै हामीलाई सामान्य लाग्ने सुविधाहरु उनीहरुले पाएका छैनन् । कष्टकर छ दैनिकी । विभिन्न सीपमुलक कार्यक्रमहरु र त्यहाँको माटो सुहाँउदो पशुपालन र खेतीमा जोड दिइनुपर्छ ।
पर्यटन प्रवद्र्धनको ठूलो सम्भावना बोकेको कान्दा कुनै दिन पर्यटकहरुको घुइँचो नलाग्ला भन्न सकिँदैन । बिहान कान्दाको जंगलमा लालीगुराँस नियालेर बेलुका सौराहामा गैंडा अवलोकन गर्ने प्याकेज बनाइनुपर्छ । अनि पक्कै फेरिनेछ कान्दाको मुहार । अझ धेरै थपिनेछन् खुसीका रंगहरु, कान्दाबासीका मुहारमा ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->