शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

मस्र्याङ्दीमा बाढी आए साढे ४५ करोड डलरको क्षति आंकलन

मस्र्याङ्दीमा बाढी आए साढे ४५ करोड डलरको क्षति आंकलन


  • युवराज श्रेष्ठ
  • बैशाख ५ २०७८, आइतबार
फुट्ने खतरा उच्च रहेको मनाङ स्थित ठुलागी (डोना) हिमताल ।

पोखरा, ५ वैशख– भारतको उत्तराखण्डमा माघ २५ गते गएको हिमपहिरोको चर्चा अझै सेलाएको छैन । हिउँदयाममा हिमपहिरोबाट सिर्जित बाढीबाट कम्तिमा ५० जनाको ज्यान गएको छ भने कयौं अझै हराइरहेका छन् । उत्तराखण्डको धौलीगंगा, ऋषिगंगा र अलकनन्दन नदीमा बाढी गएको थियो । जसले २ वटा जलविद्युत आयोजना, सडक पुललगायत भौतिक पूर्वाधारमा पनि क्षति पु¥याएको छ ।
उत्तराखण्डमा गएको जस्तै बाढी नेपालमा यसअघि पटक–पटक गएका छन् । अन्नपूर्ण चौथो हिमालको बिचबाट २०६९ बैशाख २३ गते उस्तै हिमपहिरो झ¥यो । वैशाखको मध्यदिनमा हिमपहिरो झरेर सेती नदीमा बाढी आउला भनेर त्यसअघि कसैले चिताएका थिएनन् ।
वैशाखमास चर्को घाम लागिरहेको बेला अकास्मात बाढी आउँदा सेती नदी वरीपरीका बस्ती बगायो । नदी किनारमा पिकनिक खान जानेहरु हराए । सडक पुललगायत कास्कीको उत्तरी क्षेत्रमा बस्ती नै बाढीले बगायो । त्यतिबेला ७० जनाले ज्यान गुमाए भने हराएका व्यक्तिहरु हराएको हरायै भए ।
सेती नदीमा जस्तै नेपालका सुनकोशी, कालीगण्डकी, लगायतका नदीमा यसअघि धेरै पटक यस्ता बाढी गइसकेका छन् । पृथ्वीको बढ्दो तापक्रमले हिमालमा जमेका हिउँ पग्लने, हिमनदी र तालहरु फुट्ने र उत्तराखण्डको जस्तो बाढी नेपालका हिमाली र पहाडी क्षेत्रमा अझ धेरै आउन सक्ने चेतावनी संवन्धित क्षेत्रका विज्ञहरुले दिइरहेका छन् ।
अन्तर्राष्ट्रिय एकिकृत पर्वतीय केन्द्र (इसिमोड)ले गरेको अध्ययन अनुसार कोशी, नारायणी र कर्णाली जलाधार क्षेत्रको हिमश्रृङ्खलामा पर्ने ४७ वटा हिमताल अति जोखिममा छन् । जसमा २१ वटा नेपालमा, एउटा भातरमा र २५ वटा चीनमा पर्छ । नेपाल र चीनमा रहेका हिमताल फुट्दा नेपालका नदी किनारका बस्ती र विकास सोत्तर पार्ने अध्ययनहरुले निश्कर्ष निकालेका छन् ।
नेपालमा रहेका हिमताल मध्ये च्छोरोल्पा, इम्जा र ठुृलागी (डोना) हिमताल जुनसुकै बेला फुट्न सक्ने खतरामा रहेको काठमाडौं विश्वविद्यालयका वातावरण विभाग प्रमुख हिमनदी विज्ञ डा. रिजनभक्त कायस्थले बताए । ‘हाम्रो हिमालतिर जोखिमको घण्टी बजिसकेको छ, हाम्रो तयारी अझै शुन्य छ’, डा. कायस्थले भने, ‘हिमालतिर घटिरहेका घटना आम मानिसले थाहा पाउन ढिलो हुँदैछ ।’
खतराको तहमा रहेका नेपालका हिमताल मध्ये च्छो रोल्पा र इम्जा तालमा पूर्वसुचना प्रणाली राखिएको छ । यो प्रणालीले काम गर्दा ताल फुट्न सक्ने खतरालाई दिनहुँ निगरानीमा राख्न सकिन्छ । पूर्वसूचना प्रणालीले हिमताल फुट्दा जलाधार क्षेत्रमा बस्ने मानिसलाई जोगाउन पूर्वसुचना दिन सकिन्छ । तर मनाङको ठुलागी हिमतालमा भने अहिलेसम्म पूर्वसूचना प्रणाली पनि राखिएको छैन ।
साँढे ४५ करोड डलरको जोखिम
समुन्द्री सतहदेखि ४ हजार ४४ मिटर उचाइमा रहेको ठुलागी हिमताल ७७ मिटर गहिरो छ । यसको लम्बाई २.५ किलोमिटर छ भने ०.९ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । मनास्लु हिमश्रृङ्खलाको दक्षिण पश्चिममा रहेको ठुलागीको हिमनदी तिब्र गतिमा पग्लँदैछ, हिउँ र बरफ बग्लेर पानी बढ्दैछ । जसले हिमतालको क्षेत्रफल दिनानुदिन बढाइरहेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ठुलागी हिमताल विगत २ दशक यता तीव्र गतिमा पग्लेको निश्कर्ष निकालेको छ । एक्याप मनाङका प्रुमख लेखनाथ गौतमका अनुसार २० बर्षअघिसम्म हिउँ र बरफले ढाकिएका क्षेत्र अहिले पानीले छोपिएका छन् । धेरै ठाउँमा कालो चट्टान र कमजोर जमिन देखिएका छन् ।
‘हिमाल कति छिटो पग्लँदैछ भनेर ठुलागी हिमताललाई उदाहरणका रुपमा पेश गर्न सकिन्छ’, गौतमले भने, ‘हेर्दाहेर्दै महशुष हुने गरी ठुलागीले आफ्नो स्वरुप खतरनाक तरिकाले र्फेदैछ ।’ ठुलागी हिमताल फुट्दा मनाङको धारापानीदेखि तल मस्र्याङ्दी नदी आसपासका बस्ती, विकास निर्माणको संरचना र मस्र्याङ्दी नदीमा बनेका जलविद्युत आयोजना बगाउने खतरा देखिएको उनले बताए ।
नेपालका नदीहरुमा धेरै जलविद्युत आयोजनाहरु बनेका र बन्ने तरखरमा रहेको नदी हो– मस्र्याङ्दी । यस नदीमा अहिले ७५ मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत आयोजना, तनहुँमा रहेको ६९ मेगावाट क्षमताको तल्लो मस्र्याङ्दी र लमजुङको भुलभुले स्थित ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ए जलविद्युत आयोजना संचालनमा छ ।
मस्र्याङ्दी नदीमा ६ सय मेगावाट क्षेमताको माथिल्लो मस्र्याङ्दी २ लगायत एक दर्जन आयोजनाहरु अहिले पनि अध्ययनकै चरणमा छन् भने केही आयोजना निर्माणमा जाँदैछन् । जलाधार क्षेत्रमा भइरहेका परिवर्तनलाई बेवास्ता गरेर धमाधम जलविद्युत आयोजना बनाउँदा यसले पु¥याउने क्षति अपुरणीय हुने विज्ञहरु बताउँछन् ।
ठुृलागी हिमताल फुट्दा मस्र्याङ्दी नदीमा सञ्चालित र निर्माणका चरणमा रहेका आयोजनाहरुमा क्षति पु¥याउने अनुसन्धानकर्ता राकेश कायस्थ बताउँछन् । नेपालका हिमनदी तथा हिमतालबारे अध्ययन गरिरहेको राकेश हाल काठमाडौं विश्वविद्यालयमा अध्यापन गराउँछन् । ‘हिमालतिर के भइरहेको छ बुझेर विकासका संरचना बनाउनुपर्छ’, उनले भने, ‘ठुलागी हिमताल फुट्दा अर्थतन्त्रले नै धान्न नसक्ने गरी संकट आउन सक्छ ।’
अन्तर्राष्ट्रिय एकिकृत पर्वतीय केन्द्र (इसिमोड)ले सन् २०११ मा ठुलागी हिमताल फुट्दा कति क्षति हुन्छ ? भनेर अध्ययन गरेको थियो । उक्त अध्ययन प्रतिवेदनले ठुलागी हिमताल फुट्दा ४१ करोड ५३ लाख ५१ हजार अमेरिकी डलर बराबरको क्षति हुने आँकलन गरेको थियो ।
यो अध्ययन पश्चात भुलभुलेमा ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ए जलविद्युत आयोजना निर्माण गरिएको छ भने थुप्रै सडक पुल र नदी किनारमा बस्ती बसिरहेका छन् । अहिले यो ताल फुट्दा क्षति बढ्न सक्ने अनुसन्धाताहरु बताउँछन् ।
सन् २०११ को अध्ययन अनुसार ठुलागी हिमताल फुट्दा २९८ घर क्षति हुनेछन् । खेती भइरहेका २ हजार १४९ रोपनी खेतबारी, प्राकृतिक सम्पदा र भौतिक पूर्वाधारमा क्षति पुग्नेछन् । अध्ययन अनुसार ६६ लाख ८५ हजार डलर बराबरको निजी घर, कृषि क्षेत्रमा ५ लाख १९ हजार डलर, सार्वजनिक सम्पत्तीमा ३३ करोड ९४ लाख ६९ हजार डलर बराबरको क्षति हुने आंकलन छ ।

ठुलागी हिमताल फुट्दा मनाङको धारापानीदेखि तल मस्र्याङ्दी नदी आसपासका बस्ती, विकास निर्माणको संरचना र मस्र्याङ्दी नदीमा बनेका जलविद्युत आयोजना बगाउने खतरा छ ।

उक्त अध्ययनमा सहभागी डा. कायस्थका अनुसार ठुलागी हिमताल फुट्दा लमजुङ र मनाङको सिमानास्थित ताल गाउँ सोत्तर पार्ने जनाए । यसका अलवा अन्य नदी किनारका बस्ती र संरचना बगाउन सक्ने उनले बताए । ठुलागी हिमताल फुट्दा निजी र सार्वजनिक सम्पत्ति बगाउने मात्र नभई सरकारले प्राप्त गर्ने राजश्व पनि डुब्ने उल्लेख छ ।
अध्ययन प्रतिवेदनले ठुलागी हिमताल फुट्दा सरकारले ६ करोड ८६ लाख ७८ हजार अमेरिकी डलर बराबरको राजश्व गुम्ने जनाएको छ । अन्नपूर्ण फेरो पदमार्गको प्रवेशद्धार लमजुङबाटै मस्र्याङ्दी नदी किनारै किनार मनाङ जाने बाटो छ । नदी किनारमा पदयात्रीलाई लक्ष्य गरी खोलिएका होटल र रेष्टुरेण्ट अधिक छन् । हिमताल फुट्दा पदमार्ग बन्द हुने र पर्यटन व्यवसायीलाई पनि क्षेती गर्ने अनुन्धानदाताहरुले अनुमान लगाएका छन् ।
हिमाली क्षेत्रका जमिन प्राकृतिक कारणले नै कमजोर हुने अनुसन्धाताहरु बताउँछन् । डा. कायस्थका अनुसार कहिले हिमपात त कहिले चर्को घामका कारण हिमाली क्षेत्रका सतह कमजोर बन्ने हुन् । त्यसमाथि ठुलागी हिमतालको बनौट नै जोखिमयुक्त छन् । हिमतालको तटिय क्षेत्रमा बरफ जमेर बसेको छ । बरफ माथि ढुङ्गा, गिटी, माटो लगायतका पदार्थले छोपिएका छन् ।
ढुङ्गा, गिटी, माटो लगायतका पदार्थ भन्दा तल रहेको बरफ पग्लियो भने पनि ठुलागी फुट्न सक्छ । यसले ठुलागीको जग निकै कजोर बनाइदिएको डा. कायस्थ बताउँछन् । ठुलागीमा हिउँ र बरफ पग्लेर बगेको पानी डोना खोला हुँदै मनाङको धारापानी स्थित मस्र्याङ्दी नदीमा मिसिन आइपुग्छ । ४ हजार मिटर भन्दा उचाइबाट हुत्तिएर आउने ठुलागीको पानी नदीमा बहँदा बाढीको रुप लिन्छ, जसले अन्नपूर्ण हिमश्रृङ्खलाबाट सेती नदीमा आएको बाढी भन्दा उग्र रुप लिन सक्ने विज्ञहरु बताउँछन् ।
दाताको भरमा सरकार
हिमाली क्षेत्रका जोखिमबारे अध्ययन गर्ने र जोखिम न्युनिकरण गर्न सरकारसँग अहिलेसम्म कुनै योजना छैन । सरकारका निकायहरु यस क्षेत्रको अध्ययन र जोखिम न्युनिकरणमा विदेशी दातृ निकायको भर गरेका छन् ।
हिमताल फुट्ने जोखिम घटाउन सन् २००० मा च्छो रोल्पा तालको पानी ३ मिटर घटाइयो । यसरी नै इम्जा हिमतालको पानी पनि १६ मा ३ मिटर घटाइएको थियो । संयुक्त राष्ट्र संघीय कार्यक्रम युएनडिपी र सरकारको जल तथा मौसम विज्ञान विभागले यी दुइवटा तालको पानी घटाएका थिए ।
अहिले फेरी युएनडिपीकै सहयोगमा ठुलागी, खुम्बु, लुम्डिम, संखुवासभाको लोअर वरुण र होङु उपत्यकाको होङु– २ हिमतालको पानी घटाउन कार्यविधी तयार गरिएको छ । यसरी पानी घटाउँदा केही समयका लागि भएपनि जोखिम घट्ने विज्ञहरु बताउँछन् ।
तर यो दीर्घकालीन समाधान भने होइन । तिब्र गतिमा भइरहेको तापमान वृद्धीलाई कम गर्न पहल गर्नु, विकासका आयोजना र अन्य मानवीय गतिविधी वातावरणमैत्री हुनुपर्ने विज्ञहरु बताउँछन् । मनाङ जान जथाभावी लगाएका डोजर र जोखिमको मुल्याङ्कन नै नगरी बनाएका विकासे आयोजनाहरुले जोखिम मात्र बढाउने डा. कायस्थले बताए ।
हिमतालमा पानीको सतह घटाउने योजना पनि सरकारले दातृ निकायमा भर गरेर बनाएको योजना हो । सरकार आफैले भने यस्ता जोखिमका बारेमा कुनै संवोधन गर्न सकेको छैन । आगामी दिन अझै जोखिमयुक्त हुने जल तथा मौसम विज्ञान विभागका विज्ञहरु बताउँछन् ।
विभागका उपमहानिर्देशक डा. अर्चना श्रेष्ठले आउँदो बर्ष अझै धेरै तापमान वृद्धी हुने बताइन् । ‘गतबर्ष हिउँद र बर्षात दुबै समय अत्याधिक पानी प¥यो, यसबर्ष परेन’, उनले भनिन्, ‘यस बर्ष धेरै सुख्खा छ ।’ उनले यही चैत, वैशाख र जेठमा औषत भन्दा कम पानी पर्ने र तापक्रम बढ्ने सम्भावना देखिएको बताइन् ।
ठुलागी हिमतालबारे सरकारले सबैभन्दा पहिलो सन् १९९६ मा जर्मन इन्स्टिच्युटसँग मिलेर अध्ययन गरेको थियो । त्यसयता सरकारी स्तरबाट ठुलागी तालबारे अध्ययन भएको छैन । जल तथा मौसम विज्ञान विभागले यस बर्ष लोअर बरुण र च्छो रोल्पामा पूर्व सूचना प्रणाली राख्न काम गर्दैछ । ठुलागी हिमतालमा भने अर्को बर्षका लागि दाताको खोजी भइरहेको विभागले जनाएको छ ।
विभागका हिम तथा हिमनदी शाखाका प्रमुख सुवास तुलाधरले ठुलागी हिमतालमा पूर्व सुचना प्रणाली राख्न र अन्य काम गर्न हरित जलवायु कोष (जिसीएफ)बाट बजेट ल्याउन प्रस्ताव गरेको जानकारी दिए । उक्त कोषबाट आउने बजेटबाट तालको पानी घटाउने, पूर्व सुचना प्रणाली राख्ने लगायतका योजना अघि बढाउने उनले बताए । तुलाधरले भने, ‘त्यो ‘फण्ड’ आएपछि ठुलागी र इम्जा हिमतालमा अर्को वर्ष मात्र काम गर्न सकिन्छ ।’
सरकारले हरित जलवायु कोषबाट बजेट ल्याउन युएनडिपीलाई प्रस्ताव लेखिदिन आग्रह गरेको छ । युएनडिपीले ठुलागी लगायत हिमतालहरुको अध्ययन गरेको छ भने इम्जा लगायतका तालको पानी घटाउन र पूर्वसूचना प्रणाली राख्न सघाएको थियो । त्यही अनुभवका आधारमा हरित जलवायु कोषका लागि प्रस्ताव लेखिदिन अर्थमन्त्रालयले अनुरोध गरेको युएनडिपी अन्तर्गत जलवायुजन्य जोखिम अनुकुलन तथा विपद जोखिम न्युनिकरण सम्बन्धी कार्यक्रम हेर्ने वरिष्ठ कार्यक्रम अधिकृत दीपक केसीले जानकारी दिए ।
उनका अनुसार जलवायु परिवर्तनका लागि संयुक्त राष्ट्र संघीय प्रारुप महासन्धीबाट विकसित देशहरुले अल्पविकसित देशलाई दिने सहयोग नै हरित जलवायु कोष हो । नेपालले यो कोषबाट ४ अर्बदेखि ५ अर्ब रुपैयासम्म बजेट ल्याउने गरी प्रस्ताव गर्ने तयारी गरेको केसीले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->