शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भीड गर्न मनाही, मास्कबिना प्रवेश निषेध !

भीड गर्न मनाही, मास्कबिना प्रवेश निषेध !

‘नयाँ भेरिएन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ मन्त्रिपरिषद्बाट पास ।


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ७ २०७८, मंगलबार

पोखरा, ७ वैशाख– नेपालमा कोरोना भाइरस ‘युके भेरियन्ट’को दोस्रो लहरको जोखिम बढेको भन्दै सरकारले नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षण संस्थासहित भिडभाड हुने सार्वजनिक ठाउँहरुमा नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयले शहरी क्षेत्रका शिक्षण संस्थाका साथै सार्वजनिक यातायात, होटल रेस्टुरेन्ट, सिनेमा हलहरुमा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्नेसम्मका निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।
मास्क नलगाए जरिवाना, सार्वजनिक ठाउँमा रोक
सरकारले मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक सवारीमा मास्क अनिवार्य गरेको प्रवक्ता गुरुङले बताए ।
सिट क्षमता बराबर मात्र यात्रु राख्न पाइने र कुनै यात्रु मास्क नलगाई आएमा बढीमा १० रुपैयाँ लिएर सवारी चालक÷सहचालकले मास्क उपलब्ध गराउनु पर्नेछ । मास्क नलगाउनेलाई भने सार्वजनिक सवारीमा चढ्न नदिने निर्णयमा उल्लेख छ । मास्कबिना सार्वजनिक कार्यालय, डिपार्टमेन्ट स्टोर तथा सपिङ मलहरुमा पनि प्रवेश निषेध गरिएको छ ।
होटल रेस्टुरेन्ट साँझ ८ बजेसम्म खुल्ने
सोमबार जारी भएको नयाँ जनस्वास्थ्य मापदण्डअनुसार अब होटल तथा रेस्टुरेन्ट बिहान ८ बजेदेखि साँझ ८ बजेसम्ममात्रै खुला गर्न पाइने छ । सरकारले तोकेको समयभन्दा बाहिर होटल तथा रेस्टुरेन्टमा बसेर खान पाइने छैन । तर, होटल तथा रेस्टुरेन्टले स्वास्थ्यका मापदण्ड पालन गरेर होम डेलिभरी भने गर्न पाउनेछन् ।
बिहेमा २५ जनामात्रै
सरकारले भौतिक रुपमा जम्मा भएर सभा, सम्मेलन र गोष्ठी गर्न नपाइने, सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम फेरि जारी गरेको छ । ती कार्यक्रमहरु गर्नै परे इन्टरेनटको सहारामा ‘भच्र्युअल’ माध्यमबाट गर्न पनि सुझाएको छ । तर, सुरक्षा निकायको आन्तरिक भेला भने स्वास्थ्य मापदण्ड अपनाएर गर्न सकिने छ ।
मेला महोत्सव, जात्रा पर्व, पास्नी व्रतवन्ध, मलामी, अनुष्ठान क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी भेला हुन पाइने छैन । बैशाख लगनको महिना भएकोले बैठकले विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो । ‘विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने छ,’ प्रवक्ता पार्वत गुरुङले भने ।
रात्रिकालीन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लव, दोहोरी साँझ, सभा जुलुस, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारहरु जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न कठिन हुने भएकाले वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको हो । रगंशालाको हकमा दर्शकरहित खेल गतिविधि सञ्चालन गर्न पाइनेछ ।
शिक्षण संस्था बन्द, परीक्षा यथावत्
कोरोना महामारी दोस्रो लहरको जोखिम न्यूनीकरण गर्न सरकारले शहरी क्षेत्रका शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । सिसिएमसीको सिफारिसबमोजिम विद्यार्थीहरु कोरोनाको उच्च जोखिममा रहेको भन्दै मन्त्रिपरिषद्को बैठकले शिक्षण संस्थाहरु बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले यसअघि नै गण्डकीको बागलुङ, पोखरालगायत १४ जिल्लालाई अतिप्रभावित जिल्ला घोषणा गरेको थियो । तर, शिक्षण संस्थाहरु बन्द रहे पनि वैकल्पिक माध्यमबाट पढाइ जारी रहने छ भने निर्धारित परीक्षाहरु भने नरोकिने प्रवक्ता गुरुङले जानकारी दिए ।
विदेशबाट आउँदा १० दिन अनिवार्य क्वारेन्टिन
मन्त्रिपरिषद्को बैठकले विदेशबाट नेपाल आउँदा अनिवार्य १० दिने होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ । विदेशबाट आएकाहरूले पीसीआर परीक्षण गराई नतिजा नआएसम्म बाहिर हिँडडुलसमेत नगर्न निर्देशन दिइएको छ । ‘विदेशबाट नेपाल आउँदा र निकट सम्पर्कमा कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भएता पनि कम्तिमा १० दिन होम क्वारेन्टिन अनिवार्य बस्नुपर्नेछ,’ प्रवक्ता गुरूङले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->